भारतमा गएको २४ घण्टामा कोरोनाभाइरसबाट थप एक लाख १७ हजार १०० जना संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । योसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५२ लाख २६ हजार संक्रमित भएका छन् ।
हाल यहाँ तीन हजार सातजना ओमिक्रोनका संक्रमित रहेका पनि सो मन्न्त्रालयले शुक्रबार जानकारी दिएको छ । ओमिक्रोनका ती संक्रमितहरुमा एक हजार १९९ जना भने कोरोनामुक्त भएका जनाइएको छ ।
भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या तीन लाख ७१ हजार ३६३ छ ।
गएको २४ घण्टामा भारतमा ३० हजार ८२६ जना कोरोनाबाट मुक्त भएका छन् । योसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४३ लाख ७१ हजार ८४५ जनामा कोरोना संक्रमण निको भएकाले कोरोनाभाइरस निको हुने दर ९७.५७ प्रतिशत रहेको जनाइएको छ ।
सोही अवधिमा थप ३०२ को कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ८३ हजार १७८ छ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
कोरोना सुरु भएदेखि हालसम्म ६८ करोड ६८ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोनाभाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ४९ करोड ६६ लाख ८१ हजारभन्दा बढी डोज खोप लगाइएको जनाइएको छ । रासस/एएनआई