घरमा बस्न राउटे समुदाय राजी

पिपलबाेट संवाददाता


जंगलमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदाय सरकारले बनाइदिने घरमा बस्न राजी भएको छ। राउटे समुदायले काठ मात्रै प्रयोग गरिएको घर सरकारले बनाइदिए आफूहरू बस्ने बताएका हुन्। एकै ठाउँमा नबस्ने, खेतीपाती तथा लेखपढ नगर्ने यो समुदाय पछिल्लो समय मानव बस्ती नजिकको खाली ठाउँमा कपडाको पालका छाप्रा बनाएर बस्ने गरेको छ।

अहिले सुर्खेतको सिम्ता गाउँपालिकाको कालेखोला नजिकैको भेरी किनारमा बस्दै आएका राउटे समुदायसँग घर बनाउने विषयमा छलफल गर्न पुगेकी सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँग राउटे अगुवाहरूले काठको परम्परागत घर बनाइदिए आफूहरू बस्न तयार रहेको बताए।

राउटे समुदाय केही वर्षअघिसम्म काठका खामा, धुरी र पात तथा घाँसले बारेर घर बनाउथ्यो। घना जंगलमा बस्ने, मानव बस्तीमा बिरलै आउने यो समुदायलाई नेपालमा चलेको सशस्त्र द्वन्द्वले ठूलो प्रभाव पा¥यो। अन्य समुदायको बस्ती नजिकै आउन थालेपछि उनीहरूले सहयोगमा प्राप्त कपडाको पाल प्रयोग गर्न थाले। राउटे अगुवा महिनबहादुर शाहीले सरकारले काठका घर बनाइदिए आफूहरू बस्न तयार रहेको बताए। ‘पहिले–पहिले काठकै छाप्रो बनाएर बस्थ्यौं, पाल त भर्खर चलनमा आएको हो,’ उनले भने, ‘काठ मात्रैको घर बनाइदिए बस्न गाह्रो छैन्।’ महिनबहादुरले सरकारले राम्रै सोचेर घर बनाइदिन लागेको होला भन्दै आफूहरूका लागि बनाइने घर स्थायी भने नहुने बताए।

‘हाम्रो बस्तीको कोही म¥यो भने त्यहाँ १० वर्षसम्म फर्किन मिल्दैन, मान्छेको मृत्यु हुन वित्तिकै बस्ती छाडेर जानुपर्छ,’ उनले भने, ‘त्यसैले काठैकाठको छाडेर जाँदा भत्काउन मिल्ने घर बनाउनु भयो भने हामी बसौंला।’ उनले आफ्नो समुदाय पहिलेभन्दा धेरै परिवर्तन भइसकेको बताए। ‘यसरी तपाईहरू हाम्रो बस्तीमा आउनु, छलफल गर्नु, भेला हुनुनै ठूलो कुरा हो,’ महिनबहादुरले भने, ‘परिवर्तन विस्तारै हुन्छ, जबजस्ती गर्न खोजे नराम्रो हुन्छ।’ राउटे मुखिया सूर्यनारायण शाहीले एक ठाउँबाट अर्को ठाउँमा सार्न मिल्ने घर बनाइदिन मन्त्री झाँक्रीसँग आग्रह गरे।

‘हामी एकै ठाउँमा बस्दैनौं, कोही मर्ने वित्तिकै सरिहाल्नुपर्छ,’ उनले भने, ‘जसरी हामी धुरी बोकेर लिन्छौं, त्यसैगरी बोक्न मिल्ने घर बनाइदिए सजिलो हुन्थ्यो।’ सूर्यनारायणले आफूहरूको परम्परागत मान्यता र संस्कृतिका कारण अरू समुदायको जस्तै पक्की (कंक्रिट) घरमा बस्न नमिल्ने बताए। ‘त्यसैले ढुंगा, सिमेन्टबाहेकको अरू घर निर्माण गरिदिए हामी बसौंला,’ उनले भने, ‘एकै पटक पक्की घरमा सम्भावना छैन्।’

सहरी विकासमन्त्री झाँक्रीले राउटे समुदाय सरकारले बनाइदिने घरमा बस्न राजी भएको बताइन्। तर कस्तो डिजाइन र प्रकृतिको घर बनाउने भन्ने विषयमा राउटे समुदायसँगै थप छलफल गरिने उनले बताइन्। ‘राउटे समुदाय परिवर्तन उन्मुख छ,’ उनले भनिन्, ‘उनीहरूको धर्म, संस्कृति र मान्यताको प्रतिकुल नहुने गरेर घर निर्माण गरेर सरकारले हस्तान्तरण गर्छ।’ मन्त्री झाँक्रीले राउटे करिडोरभित्रका तीनदेखि चार ठाउँमा घर निर्माण गरेर बसाल्न सकिने विकल्प पनि रहेको बताइन्। राउटे समुदायसँग थप छलफल गरेर घरको डिजाइन तयार गरेर कार्यान्वयनमा जाने बताइन्।

सहरी तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले राउटे समुदायसँगै बसेर प्राविधिक विष्लेषणसहित घरको आकार र डिजाइने गरिने बताए। ‘घर बनाउने र त्यसमा राउटे समुदाय बस्ने भन्ने सहमति भएको छ,’ उनले भने, ‘अब कस्तो प्रकृतिको घर बनाउने, घरमा कस्ताकस्ता सामग्रीहरू प्रयोग गर्ने भन्ने विषयमा राउटे समुदायसँग बसेर डिजाइन तयार गर्ने र सो अनुसार घर निर्माण सुरु हुन्छ।’ सरकारले राउटे समुदायको आवास निर्माणका लागि चालु आर्थिक वर्षमा दुई करोड रूपैयाँ विनियोजन गरेको छ।

पढ्न राजी भएनन् राउटे

सहरी विकासमन्त्री झाँक्री तीन वटा प्रस्तावसहित राउटे समुदायको बस्ती पुगेकी थिइन्। बस्नका लागि घर, बालिबालिका पढ्नका लागि विद्यालय र उपचारका लागि अस्पताल बनाइदिने विषयमा राउटे समुदायसँग छलफल भए पनि घर बनाउने कुरामा मात्रै राउटे समुदाय सहमत भए। ‘हाम्रा पूर्खाले पढेनन्, हामीले पढेनौं, हाम्रा जनता पनि पढेका छैनन्,’ राउटे मुखिया वीरबहादुर शाहीले भने, ‘अहिलेनै पढाउने कुरा सम्भव छैन्, पछि विस्तारै हुँदै जाला।’

उनले एकै ठाउँमा लामो समयसम्म बस्नु, लेखपढ गर्नु र खेतीपाती गर्नु आफ्नो परम्परागत मान्यताविपरित हुने बताए। मन्त्री झाँक्रीले राउटे समुदाय परिवर्तन उन्मुख भए पनि एकै पटक सबै सम्भव नभएको बताइन्। ‘पहिलेभन्दा यो समुदाय धेरै परिवर्तन भएको पाइएको छ,’ उनले भनिन्, ‘उनीहरूमा आएको परिवर्तनलाई विस्तारै सरकारले ग्रहण गर्नुपर्छ।’

राउटेसँग मन्त्रीको मितेरी

पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–४ स्थित भेरी नदी किनारको कालीखोलामा बस्दै आएका राउटे समुदायको बस्तीमा शुक्रबार छुट्टै चहलपहल थियो। अन्य बेला भन्दा बस्ती केही सफा थियो। राउटे युवाहरू सिमलको रुख ढालेर काठका भाँडा बनाउँदै थिए। केही बेरमै सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको टोली राउटे बस्ती पुग्यो। राउटे समुदायका लागि घर बनाउने विषयमा छलफलका लागि आएकी मन्त्री झाँक्रीले गाजलु र सहरी तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले लोकेन्द्र र नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले राउटे युवक प्रकाश शाहीसँग मित लगाउने तयारी थियो।

मित लगाउनका लागि मन्त्री झाँक्री र महानिर्देशक मैनालीले काठमाडौंबाट कोशेली बोकेर आएका थिए। मितलाई गाजलु, लोकेन्द्र र प्रकाशले पनि काठका भाँडा तयार गरेका थिए। राउटे समुदायले मित साइनोलाई धेरै महत्व दिन्छ। यो समुदायसँग छिट्टटै घुलमिल हुनका लागि पनि धेरैले मितेरी साइनो गास्ने गर्छन्। मन्त्री झाँक्रीले गाजलुलाई फुलको मालासँगै श्रृंगारका सामग्री र केही खाने कुरा कोशेली दिइन्। गाजलुले सिमलको काठबाट बनाइएको कोसी दिइन्। ‘अब काठमाडौं गएका बेला पनि मितिनीसँग भेट हुने भयो,’ गाजलुले भनिन्, ‘मन्त्रीको मितिनी हुन पाउँदा धेरै खुसी लागेको छ।’

मित लगाएपछि मन्त्री झाँक्रीसँग गाजलुले छुट्टै कुराकानी गरिन्। फोन नम्बर समेत मागिन्। बेलाबेलामा भेट्न आउन आग्रह गरिन्। ‘राउटे समुदायमा मितेरी साइनोलाई धेरै महत्व मानिदो रहेछ,’ मन्त्री झाँक्रीले भनिन्, ‘साइनोअनुसारको भूमिका निभाउने प्रतिबद्धता जनाएकी छु।’ लोकेन्द्रले पनि विभागका महानिर्देशक मैनालीलाई कोसी र काठकै डाडु दिए। ‘यो मितको चिनो हो, नभुल्नु होला, मितिनीलाई भेट गराउन ल्याउनु होला,’ उनले भने, ‘रगतको नाताभन्दा पनि मितको नातालाई ठूलो मान्नुहोला।’

एकीकृत समाजवादीका उपमहासचिव ज्वालाले आफ्नै नाम मिल्ने प्रकाश शाहीसँग मितेरी साइनो गासे। उनले आफूले लगाएको उनको टोपी मितलाई लगाइदिए, मितले लगाएको ढाकाकोे टोपी आफूले लगाए। ज्वालाको घर र निर्वाचन क्षेत्र राउटे बस्दै आएको अहिलको ठाउँभन्दा भेरी पारी हो। उनले राउटे समुदायलाई आफ्नो जिल्लामा आएर बस्न आग्रह समेत गरे।

२५ पुष २०७८ मा प्रकाशित
Nabintech