कक्षपतिको नेतृत्वमा एमाले जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित

पिपलबाेट संवाददाता


नेकपा एमाले बाँकेको अध्यक्षमा किस्मत कक्षपतिको नेतृत्वमा जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । जिल्ला अधिवेशनमा नेतृत्व छान्न निर्वाचन भन्दा सर्वसम्मतिमा जोड गरिएपछि अध्यक्ष मण्डलकै प्रस्ताव सदर भएको छ । केन्द्रीय महाधिवेशनमा अपनाइएको प्रकृयाको झल्को दिनेगरी अध्यक्ष मण्डलले किस्मत कुमार कक्षपतिको अध्यक्षतामा एक सय २० सदस्यीय कमिटि प्रस्ताव गरेको थियो । तर, उक्त प्रस्तावलाई आकांक्षीहरुले स्वीकार गरेनन् र निरक गुरुङ एवं अशोक कर्माचार्यले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

अध्यक्ष मण्डलमा रहेका पााँच जना केन्द्रीय सदस्यहरु जिल्ला ईन्चार्ज सूर्य ढकाल, मोहम्मद हारुन, पशुपतिदयाल मिश्र, शान्ति ढकाल र दिपा शर्माले आकांक्षीहरुलाई मण्डलको प्रस्तावमा सहमत हुन शनिबार रातभर पर्यत्न गरेपछि कर्माचार्यले आफ्नो उम्मेदवारी फिर्ता लिए । आइतबार बिहान ९ बजेसम्म अध्यक्ष मण्डलको प्रस्ताव बाहिरबाट उम्मेदवारी दिएकाहरु फकाउन अध्यक्ष मण्डलका सदस्यहरुदेखि केन्द्रीय नेताहरुसम्म लागे । तर सहमति भएन । त्यसपछि कार्यतालिकालाई एक-एक घण्टा सार्दै भएपनि सहमतिको प्रयास जारी राख्ने रणनीति अपनाइयो । अन्तमा आइतबार अपराह्न गुरुङले अध्यक्षमा कक्षपतिलाई समर्थन गरेपछि कक्षपति निर्विरोध निर्वाचित भए ।
उपाध्यक्षमा डिल्ली बिसी भने आइतबार बिहान नै निर्विरोध भइसकेका थिए । उनीविरुद्ध उम्मेदवारी दिएका घननाथ खनालले उम्मेदवारी फिर्ता लिएका थिए ।
सचिवमा रत्न खत्रीका विरुद्ध उम्मेदवारी दिएका भिम ओली र बलराम भट्टराईले पनि अन्तमा नेताहरुको आग्रहलाई मानेर उम्मेदवारी फिर्ता लिएका नेताहरुले बताएका छन् ।
उपसचिवमा दिपक बर्मा र भूमिसरा धिताललाई अध्यक्ष मण्डलले प्रस्ताव गरेकोमा उनीहरुविरुद्ध उम्मेदवारी दिएका अछरी पोखरेल, मनोज बर्मा र तुलसीराम थारुले पनि आइतबार दिउसो उम्मेदवारी फिर्ता लिएपछि मुख्य पदाधिकारी टुंगो लागेको नेताहरुको भनाइ छ ।
धेरै आकांक्षी भएका सदस्यका केही कलष्टरमा बाहेक अन्यमा अध्यक्ष मण्डलले प्रस्ताव गरेको नाम नै सदर भएको सचिव रत्न खत्रीले जानकारी दिए ।
अध्यक्ष मण्डलले कोठामा आकांक्षीहरुलाई बोलाएर छलफल गर्दै उम्मेदवारी फिर्ता लिन फकाएको थियो ।

२५ पुष २०७८ मा प्रकाशित
Nabintech