माघे संक्रान्तिमा लाग्ने रिहार मेला भर्न र स्वर्गद्वारी महाप्रभुको दर्शनको लागि भक्तजनहरु कोइलावास नाकाबाट भित्रिरहेका छन्। भारतको उत्तर प्रदेशलगायतका विभिन्न जिल्लाबाट भक्तजनहरु दाङको नाका क्षेत्र भएर नेपाल भित्रिरहेका हुन्।
नाकामा सामान्य स्वास्थ्य जाँचबाहेक अरु हुँदैन। लक्षण देखिएका व्यक्तिको मात्रै एन्टिजेन गर्ने गरिएको छ। तर, मंसिर दोस्रो हप्ताबाट स्थापना गरिएको हेल्थ डेस्कबाट अहिलेसम्म कसैको एन्टिजेन गरिएको छैन।
कोइलावास नाकामा थर्मल गनले ज्वरो जाँच गर्ने, मास्क लगाएको छ छैन हेर्ने र नेपाल भित्रिएका व्यक्तिको विवरण संकलन गर्ने गरिएको छ। मंसिर १४ गते कोइलावासमा हेल्थ डेस्क स्थापना गरिएको हो। भारतबाट नेपाल भित्रिनेहरुको मात्रै जाँच हुँदै आएको छ।
‘यदि ज्वरो आएको छ भनेमात्रै एन्टिजेन जाँच गर्छौं। अहिलेसम्म त्यस्तो केस भेटिएको छैन’, गढवा स्वास्थ्य चौकीमा कार्यरत ल्याव असिस्टेन्ट मीना यादवले भनिन्, ‘मेला महोत्सवले गर्दा नाकाबाट धेरै मानिसहरु भित्रिरहेका पाएका छौं।’
भारतबाट दाङको कोइलावास नाका हुँदै नेपाल भित्रिनेहरुको संख्या बढेको छ। जसले कोरोना संक्रमणको जोखिम बढाएको छ। माघे संक्रान्तिमा लाग्ने मेला भर्न भारतको उत्तर प्रदेशका नागरिकहरु कोइलावासलगायत नाकाबाट दाङ भित्रिने गरेको नेपाल सशस्त्र प्रहरी सीमा प्रहरी चौकी कोइलावासले जनाएको छ।
दैनिक सयदेखि डेढ सयको हाराहारीमा नाकाबाट भक्तजन भित्रिने गरेका छन्। प्यूठानको स्वर्गद्धारी र लमही नगरपालिका–९ रिहारमा लाग्ने मेला भर्न भारतीय श्रद्धालु भक्तजन आउने क्रम बढेको गढवा गाउँपालिका वडा नं ८ का अध्यक्ष सद्धाम सिद्धिकीले जानकारी दिए।
‘कोइलावाससम्म पुग्ने पक्की सडक भएपछि यो नाका प्रयोग गरेर भित्रिनेहरुको संख्या बढेको हो’, उनले भने, ‘गाउँपालिका र स्वास्थ्य कार्यालयको समन्वयमा हेल्थ डेस्क स्थापना गरेका छौं।’
भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण तीब्र हुँदा जिल्लाको खुला सिमानामा कडाइ गरिएको छैन। बाँकेको जमुनाह र कृष्णनगरको रुपडिहा नाकाबाट समेत मानिसहरु भित्रिने क्रम जारी छ। नाकामा भित्रिएकाहरुको परीक्षण गर्दा अधिकांशमा कोरोना संक्रमण पाइएको छ। स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले मानिसहरुको भित्रिने क्रम बढेसँगै हेल्थ डेस्कको क्षमता बढाइने बताए।
‘अहिले त पालिकास्तरबाट सामग्री पुर्याउने र स्वास्थ्य कार्यालयबाट समन्वयको काम भैरहेको छ’, उनले भने, ‘नाकामा होल्डिङ सेन्टर चलाउन आवश्यक परेमा प्रदेश र केन्द्र सरकारको सहयोग आवश्यक पर्छ।’
नेपाल प्रवेश गर्नेहरुको भने कोरोना परीक्षण उनीहरुमा देखिने लक्षणका आधारमा मात्रै गर्ने गरिएको छ। ‘ज्वरो आएको, रुघा लागेको अथवा बिरामी देखिएकाहरुको एन्टिजेन गर्ने गरेका छौं’, गढवा स्वास्थ्य शाखाका प्रमुख कैलाश चौधरीले भने, ‘हेल्थ डेक्समा स्वास्थ्य जाँच हुन्छ । अनिमात्रै नेपाल प्रवेश गर्न पाउँछन्।’
यता दाङका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले जिल्लामा मेला महोत्सव लगाउन रोक लगाएको बताए। उनका अनुसार मेला महोत्सवको लागि भारतबाट आउनेहरुलाई दाङको नाकाबाट प्रवेशमा रोक लगाइएको छ। तर, नाकाबाट मानिसहरु प्रवेश गर्ने क्रम भने रोकिएको छैन।
‘मेला महोत्सव लगाउन रोक लगाएका छौं। रिहार मेलामा आउने भारतीयहरुलाई नाकामा रोक्ने प्रयास जारी छ’, उनले भने, ‘आइसकेकाहरुको हकमा स्वास्थ्य मापदण्ड पालना अनिवार्य गर्न लगाउने भनेका छौं।’