बर्दिया जिल्ला प्रशासनका २१ जना कर्मचारीमा कोरोना पुष्टि, माघ १५ गतेसम्म कार्यालय बन्द

पिपलबाेट संवाददाता


जिल्ला प्रशासन कार्यालय बर्दियाका २१ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकोछ । प्रशासनमा कार्यरत ३२ जना मध्ये २१ जनामा कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले आगामी माघ १५ गतेसम्मका लागि कार्यालयबाट प्रदान गरिने सेवा सुविधा स्थगित गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण पाइएको हुँदा माघ १५ गते सम्मका लागी सेवा प्रवाह बन्द गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए । प्रशासन कार्यालयमा कार्यरत ३२ जना कर्मचारी मध्ये २१ जनामा आरडिटी परीक्षण गर्दा उनीहरु संक्रमित भेटिएको बताइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सहित २१ जना कोरोना संक्रमित भएपछि सेवा प्रवाह बन्द गरिएको हो । कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन बढेसगैँ बर्दियामा संक्रमितको संख्या पनि दिनानुदिन बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुमा कोरोना देखिएपछि कार्यालय बन्द हुँदा सर्वसाधारण नागरिक सेवाबाट बञ्चित भएकाछन् । भारतसंग खुला सीमाना भएका कारण पनि बर्दिया कोरोनाको उच्च जोखिममा रहेको छ । बर्दियामा सोमबार एकै दिन एक सय ४२ जना नयाँ संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । यता जिल्ला प्रशासन कार्यालय बाँकेमा कार्यरत कर्मचारीमा समेत कोरोना संक्रमण देखिएपछि भोली मंगलबारदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएकोछ ।

१० माघ २०७८ मा प्रकाशित
Nabintech