राष्ट्रिय सभा सदस्यका १९ पदका लागी आज निर्वाचन हुदै, लुम्बिनी प्रदेशमा छ जना प्रतिष्प्रर्धी

पिपलबाेट संवाददाता


राष्ट्रिय सभा सदस्यमा एक महिनापछि रिक्त हुन लागेका १९ सदस्य पदका लागि आज सात वटै प्रदेशमा निर्वाचन हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजे सम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ । आगामी फागुन २० गते नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ राष्ट्रियसभा सदस्यको पदावधि समाप्त हुने भएकाले निर्वाचन गर्न लागिएको हो । सदस्यको पदावधि समाप्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । त्यसैले प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी जम्मा १९ पदका लागि निर्वाचन हुन लागेको हो । यता लुम्बिनी प्रदेशको लागि दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा मतदान स्थल तोकिएको छ । मतदान केन्द्र दुई वटा बनाईएको प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिनुभयो । निर्वाचनमा तीन पदका लागि ६ जनाबीच प्रतिस्पर्धा हुदैछ । गठबन्धनको तर्फबाट संयुक्त उम्मेदवार छन् भने एमाले एक्लै चुनावी मैदानमा रहेको छ । सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेस, जनमोर्चा र एकीकृत समाजवादीका एकएक जनाले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस बाँकेका पुर्वसभापति युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी)बाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाको तर्फबाट रूपन्देहीका तुलबहादुर विश्वकर्मा उम्मेदवार छन् । खुलाबाट शर्मा, महिलाबाट गैरे र दलितबाट विश्वकर्माले उम्मेदवारी दिएका हुन् । एमालेको तर्फबाट दाङका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल (उपाध्याय) र गुल्मीका कृष्ण सुनार उम्मेदवार छन् । निर्वाचन कार्यालयका अनुसार लुम्बिनीमा प्रदेशसभा सदस्य ८१ र १ सय ९ स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय १५ जना गरी २ सय ९६ मतदाता छन् । अहिले राष्ट्रिय सभाको मतभार ७ हजार ७ सय ५८ रहेको छ । निर्वाचित जनप्रतिनिधिले नै मतदान गर्ने भएको र लुम्बिनीमा गठबन्धन धेरै बलियो भएकाले गठबन्धनका उम्मेदवारले चुनाव जित्ने निश्चित जस्तै छ । केही समयअघि भएको राष्ट्रिय सभाको निर्वाचनमा पनि यहाँबाट अहिलेको गठबन्धनका उम्मेदवार विजय भएका थिए । लुम्बिनीमा राष्ट्रियसभाको निर्वाचनमा भाग लिन पाउने ३०५ मतदातामध्ये नौजना मतदाता रिक्त अवस्थामा छ । प्रदेशका ८७ प्रदेश सभा सदस्यबाट घटेर ८१ जना र २ सय १८ मतदाता रहेको स्थानीय तहबाट २ सय १५ जनाले मत दिनेछन् । स्थानीय तहमा एमालेका ८८ प्रमुख, उपप्रमुख छन् । कांग्रेसले ११ नगरपालिकामा मेयर जितेको छ, भने उपमेयर १० स्थानमा जितेको छ । गाउँपालिकामा अध्यक्ष २७ स्थानमा जितेको छ, भने उपाध्यक्ष ३० स्थानमा जितेको छ । त्यसअनुसार कांग्रेसका प्रमुख र उप–प्रमुख र अध्यक्ष र उपाध्यक्ष गरी ६३ मतदाता छन् । माओवादी केन्द्रका ३६ प्रमुख उप–प्रमुख छन । एकीकृत समाजवादीका चारजना प्रमुख, उपप्रमुख छन । जसपाका १३ प्रमुख, उपप्रमुख छन । जनमोर्चामा पाँच प्रमुख, उपप्रमुख छन । राप्रपाका दुई र स्वतन्त्र चार प्रमुख, उपप्रमुख छन । प्रदेश सभा सदस्यमा एमालेका ३६, कांग्रेसका १९, माओवादीका १९, जसपाका चार, राजमोको एक, एकीकृत समाजवादीका एक र स्वतन्त्र एक जना छन । प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख, उपप्रमुखको १८ मतभार रहेको छ । राष्ट्रिय सभा सदस्यमा लुम्बिनी प्रदेशबाट एमालेका कोमल वली, दृगनारायण पाण्डे र रामलखन चमारको चारबर्षे कार्यकाल सकिन लागेको छ । प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुखको मतभार १८ निर्धारण गरिएको छ ।

१२ माघ २०७८ मा प्रकाशित
Nabintech