जनसंख्या वृद्धिदर घट्दा नेपाललाई के असर पर्छ?

पिपलबाेट संवाददाता


नेपालको जनसंख्या वृद्धिदर क्रमिक रुपमा घट्दै गएको छ।,

२०७८ सालको राष्ट्रिय जनगणनाको प्रारम्भिक रिर्पाेट सार्वजनिक भएपछि जनसंख्या वृद्धिदर घट्दा त्यसको के –कस्तो असर पर्ला भन्ने अड्कल काट्न थालिएको छ। तर, जनसंख्याविद्हरु भने त्यसले तत्कालका लागि असर नपार्ने बताएका छन्। यो जनसंख्यालाई ३० –४० बर्षभित्रै उपयोग गर्न नसके देशले विकास र संवृद्धि पाउन नसक्ने चिन्ता प्रकट हुन थालेको छ।

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ। केन्द्रीय तथ्यांक विभागले नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजा बुधबार सार्वजनिक गर्दै नेपालको जनसंख्या करिब ३ करोड हाराहारीमा रहेको जनाएको हो। वि. सं. २०६८ सालमा गरिएको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो।

विभागका अनुसार यसपटक जनसंख्या वृद्धिदर नेपालको जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम हो। पछिल्लो जनगणनाअनुसार यसअघि विं सं.१९९८ मा गरिएको जनगणनामा नेपालको जनसंख्या वृद्धिदर १.२७ प्रतिशत थियो।

वि. सं २०६८ सालको जनगणनामा १.३५ प्रतिशत जनसंख्या वृद्धिदर रहेकोमा यसपटक भने ०.९३ प्रतिशत पुगेको छ। १० वर्षमा नेपालको जनसंख्या २६ लाख ९७ हजार ९ सय ७६ अर्थात् १०.१८ प्रतिशतले बढेकोे हो। जनसंख्या वृद्धिदर २०४८ मा २.०८, ०५८ सालमा २.२५ र ०६८ सालमा १.३५ प्रतिशत थियो। विकसित देश अमेरिका र भारतमा पनि जनसंख्याको वृद्धिदर प्रतिशत एक प्रतिशत भन्दा तल छ।

दश वर्षमा नेपालको जनसंख्या १०.१८ प्रतिशत मात्रै बढेको हो। विगत दश वर्षको सरदर वार्षिक जनसंख्या वृद्धिदर ० ०.९३ प्रतिशत देखिन्छ । वि.सं. २०५८ देखि २०६८ सम्मको दश वर्षमा सरदर वार्षिक जनसंख्या वृद्धिदर १.३५ प्रतिशत रहेको थियो।

जनगणनाको नतिजा अनुसार महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ छ।

त्रिभुवन विश्वविद्यालयका जनसंख्या शास्त्र विभागका प्राध्यापक तथा जनसंख्याविद् डा.योगेन्द्रबहादुर गरुङ यो वृद्धिदर नेपालका लागि तत्कालका लागि असर नपर्ने बताए। ‘तर अब यसरी हरेक जनगणनामा जनसंख्याको वृद्धिदर घट्दै गयो भने भविष्यमा भने समस्या पर्ने देखिन्छ,’

‘अब बीस बर्ष हामीले उर्जाशील र उत्पादनशील जनसंख्यालाई उपयोग गर्ने नीति लिएन भने विकास र संवृद्धि देख्नै नेपालले नपाउने अवस्था आउन सक्छ। त्यसैले राज्यले वेलैमा आवश्यक नीति बनाएर कार्यान्वयन गर्नु ध्यान दिनु पर्छ,’ उनले थपे।

भोलिका लागि योग्य र उत्पादनशील जनशक्तिको अभाव हुने हो कि भन्ने चिन्ता यो वृद्धिदरले पैदा गरेको तथ्यांकशास्त्रीहरु बताउँछन्। मानिसको औसत आयु बढेको छ। महिलाको प्रजननदरमा कमी आएको छ। अहिले महिलाको औसतमा प्रजननदर २.६ प्रतिशत छ। एउटा महिलाले बढीमा दुई जना मात्रै बच्चा जन्माउने चलन बढेको तथा लंगिक असमानता हट्दै समाजमा छोरा होस् वा छोरी होस् भन्ने मतलव नगरी एउटै सन्तानमा चित्त बुझाउने कारण पनि असर गरेको गुरुङको ठम्याइ छ।

आन्तरिक र अन्तराष्ट्रिय बसाइँ सराइ बढेकाले प्रजननदरमा कमी आएको तथा कृषि कार्य गर्ने परिवार अन्य पेशा व्यवसाय गर्ने र व्यस्तताका कारण धेरै बच्चा पाउनु आर्थिक रुपमा समेत बोझ पर्ने जस्ता कुराले जनसंख्या वृद्धिद्धर घटाउन भूमिका खेलेको उनको ठम्याइ छ।

‘जनसख्ंया वृद्धिद्धर घट्ने नेपालको आर्थिक र सामाजिक क्षेत्रमा आएको परिर्वतनको पनि हात छ’, उनले भने।

‘ढिलो विवाह, तथा बच्चाको लागि शिक्षा स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने लगानी बढी खर्चिलो बन्दै गएपछि परिवारको आकार सानो बनाउन तिर लागेको पाइएको छ,’ डा. योगेन्द्र गुरुङले थपे। गुणस्तरीय जीवनका लागि पनि परिवार सानो राख्ने कारण सिंगो जनसंख्याको बनावटमा असर परेको हो। हिजो धेरै बच्चा पाउँदा आर्थिक र कुराले परिवार बलियो बन्ने र बुढेशकालमा हेरचाह वा सुविस्ता पाउने मान्यता थियो त्यो अहिले हटेको उनी बताउँछन्।

गत दश वर्षमा प्रतिपरिवार सदस्य सङ्ख्यामा कमी आएको देखिन्छ। २०७८ मा प्रति परिवार ४.३२ जना सदस्य रहेको देखिन्छ, जुन २०६८ मा ४.८८ थियो । शहरी क्षेत्रको परिवारमा सालाखाला ४.२५ जना पाइएको छ भने ग्रामीण क्षेत्रमा ४.५५ जना रहेकोदेखिन्छ जुन दश वर्षअघि क्रमशः ४.३२ जना र ५.०२ जना थियो। भौगोलिक क्षेत्रअनुसार हेर्दा हिमाली क्षेत्रमा सालाखाला ४.२७, पहाडमा ३.९५ र तराई क्षेत्रमा ४.६५ जना प्रतिपरिवार रहेको देखिन्छ।

अहिले बढेकोे जनसंख्या मध्ये २३ लाख जनसंख्या तराईको हो । बसाइसराइँले पनि नेपालको जनसंख्याको बनावटमा असर पारेको छ। केही क्षेत्रमा जनघनत्व ह्वातै बढाएको छ भने कतिपय जिल्लामा जनसंख्या वृत्तिद्धर ऋणात्मक देखिएको छ। जनघनत्वको दर पनि बढेको छ। २०६८ सालको जनगणनामा १८० रहेकोमा २०७८ मा १९८ जनघनत्व पुगेको छ।

वार्षिक जनसंख्या वृद्धिदर हेर्दा हिमाली क्षेत्रमा ऋणात्मक (०.०२ प्रतिशत), पहाडी क्षेत्रमा न्यून मात्रामा धनात्मक ( ०.२९ प्रतिशत) र तराई क्षेत्रमा अन्य क्षेत्रको तुलनामा उच्च धनात्मक (१.५६ प्रतिशत) वृद्धि देखिन्छ। केन्द्रीय तथ्यांक विभागका अनुसार भक्तपुर ललितपुर, धनुषा, महोत्तरी धेरै जनघनत्व रहेका जिल्लामा परेका छन्। जनघनत्वको हिसाबले ३२ जिल्ला ऋणात्मक देखिएको छ।

अब जनसंख्याको वितरण सही रुपमा गर्न सकिएन भने शहरमा गरिबी बढ्ने तथा अनेक समस्या सृजना हुने जस्ता समस्या आउने पनि डा.गुरुङ बताउँछन्। ‘सामान्य सेवा सुविधाका लागि पनि बसाइँ सर्ने बाध्यता हटाउन आवश्यक कदम सरकारले चाल्नु पर्छ। संघीयतामा विकेन्द्रित मानसिकताले काम नहुँदा पनि यस्तो अवस्था सृजना भएको हो,’ उनले भने।

नेपालमा जम्मा ५६,४३,९४५ वटा जनगणना घरहरु छन् । दश वर्षअघिको परिवार सङ्ख्या ५४,२७,३०२ रहेकोमा यस अवधिमा जम्मा १३,३३,७५७ (२४.५७ प्रतिशत) परिवार थप भएको विभागको तथांकमा उल्लेख छ।

जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार जम्मा २१,६९,४७८ व्यक्तिहरु विदेशमा बसोबास गरेका छन्। जसमध्ये १७,६३,३१५ पुरूष (८१.२८ प्रतिशत) र ४,०६,१०३ महिला (२०.७२ प्रतिशत) रहेका छन्।

दश वर्षअघि २०६८ सालमा घरपरिवारमा अनुपस्थित (विदेशमा अक्सर बसोबास गर्नेहरू) संख्या १९,२१,४९४ थियो, जसमध्ये पुरूष १६,८४,०२९ (८७.६४ प्रतिशत) र महिला २,३७,४०० (१२.३६ प्रतिशत) थिए ।

२०६८ को तुलनामा २०७८ मा विदेशिने महिलाहरुको संख्या ७१.०९% ले बढेको छ। यसरी नेपालीहरु बसाइँसराइ वा कामका लागि विदेशीदा नेपालको प्रजजनदरलाई पनि घटाउने काम गरेको जनसंख्याविद् गुरुङ बताउँछन्।

नेपालको शहरी जनसंख्या बढेको छ। २०६८ सालको जनगणनामा शहरी जनसंख्या १७.०७ रहेकोमा २०७८ मा ६६.०८ प्रतिशतमा पुगेको छ। परिवार संख्याको हिसाबले दोलखा सबै भन्दा कम संख्या रहेको जिल्लामा परेको छ। त्यहाँ परिवार संख्या ३. ३६ मात्रै रहेको छ।

मेरो गणना मेरो सहभागिता नारासाथ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म सञ्चालन भएको राष्ट्रिय जनणना २०७८ को प्रारम्भिक नतिजा चार महिनापछि विभागले सार्वजनिक गरेको हो।

जनगणनाको विस्तृत रिपोर्ट भने विभागले अब ७ महिनाभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। विभागका निर्देशक ढुण्डीराज लामिछानेले कोडिङका लागि एक सय जना जनशक्ति भर्ना भइसकेको र डाटा इन्ट्रिका लागि तीन सय जना जनशक्ति अन्तर्वाताको क्रममा रहको बताए।

१२ माघ २०७८ मा प्रकाशित
Nabintech