मगन्तेहरुका लागी कम्बल वितरण

पिपलबाेट संवाददाता


जिल्ला विपद व्यवस्थापन समिति, बाँकेले हिरमिनियाका मगन्तालाई कम्बल वितरण गरेको छ।

डुडुवा गाउँपालिका–१, मगन्ताटोलका ४२ घरपरिवारलाई जिल्ला विपद व्यवस्थापन समितिले कम्बल वितरण गरेको हो।

मगन्ताटोलमा एक सय १२ घर रहेका छन्। नेपाली सेनाको भैरवप्रसाद गण, रोयल नेपालगञ्ज फुटबल क्लव, वेष्टर्न अस्पतालले संयुक्त रुपमा यसअघि त्यहाँका गर्भवती, ज्येष्ठ नागरिकलाई प्राथमिकता दिएर ७० जनालाई कम्बल वितरण गरेको थियो। त्यतिबेला छुटेका ४२ घरपरिवारलाई जिल्ला विपद व्यवस्थापन समितिले कम्बल दिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसी, जिल्ला विपद व्यवस्थापन समितिका सदस्य सचिव रामकुमार सोनकर, सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली, वडाध्यक्ष मोहनराम मिश्रले मगन्तालाई कम्बल वितरण गरेका थिए।

जिल्ला विपद व्यवस्थापन समितिले चिसो प्रभावित विपन्न समुदाय र व्यक्तिलाई कम्बल वितरण गर्दै आएको छ। सहायक प्रमुख जिल्ला अधिकारी केसीले चिसो प्रभावितलाई न्यानो प्रदान गर्न कम्बल वितरण गरेको बताए।

वडाध्यक्ष मिश्रले अति विपन्न मगन्तालाई कम्बल वितरण गरेर जिल्ला विपद व्यवस्थापन समितिले ठूलो सहयोग गरेको बताए। सो अवसरमा उनले मगन्ता अल्पसंख्यक समुदाय भए पनि अहिलेसम्म राज्यले त्यो सूची नराखेको बताए।

जिल्ला विपद व्यवस्थापन समितिले चिसो प्रभावितलाई बाँड्न ६ सय थान कम्बल किनेको छ। अहिलेसम्म प्रहरीको थुनुवा, निलसागर असहाय केन्द्र, बाल सुधार केन्द्र, बागेश्वरी मन्दिर परिसरमा बसेका विपन्नलाई कम्बल बाँडिएको छ।

 

१२ माघ २०७८ मा प्रकाशित
Nabintech