कांग्रेसले सरकारको समीक्षा गर्ने

पिपलबाेट संवाददाता


नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा हुने बताएका छन् ।

बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री शर्माले पार्टीको अब बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा गर्दै दिशानिर्देश गर्ने बताएका हुन् ।

कार्यसम्पादन समितिको बैठकले सरकारको कामलाई अझ सुधार गर्दै गति बढाउनका लागि निर्देशन दिने उनले बताए ।

जनताको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा सरकारलाई ध्यानाकर्षण गराउने उनले उल्लेख गरे । कोभिड–१९ विरुद्धको खोप अभियानलाई महाअभियानकै रुपमा सञ्चालन गर्नका लागि पनि सरकारलाई घच्घचाउने उनको भनाई छ ।

त्यस्तै कार्यसम्पादन समितिको बैठकले पार्टीको सबै तहलाई व्यवस्थित बनाउने र पार्टीका विभागहरु बनाउने दिर्शातर्फ अघि बढ्ने पनि महामन्त्री शर्माले बताए । उनले भने, “कांग्रेसले निर्वाचनतर्फ जादैँ गर्दाखेरी दुईवटा कुरामा ध्यान दिनुपर्ने विषय छन्, केपी ओलीको ३ वर्षे सरकारको असफलता र त्यो सरकारले गरेका संविधान विपरीतका गतिविधिहरु, जनविरोधी गतिविधिलाई प्रहार गरेर जाने विषय त हुन्छ । तर हामी उत्तिकै के सजग छौँ भने, हाम्रो पनि सरकारको एक वर्षको परफरमेन्सको बारेमा व्याख्या हुन्छ । हामी आफै पनि समीक्षा गरेर जान्छौँ ।”

उनले सरकारका कमीकमजोरीका विषयमा पनि सरकारलाई सुझाव दिइने बताए ।

“यसबीचमा जे कमजोरी सरकारको भएका छन् त्यसलाई कसरी करेक्शन गर्न सकिन्छ, सरकारलाई कार्य सम्पादन समितिले के भन्छ भने सरकारले गति बढाउनुपर्‍यो भनेर भन्छ । पब्लिकलाई पनि के आग्रह गर्छौँ भने यो सरकारसँग सबै कुरा अपेक्षा नगर्नुस् है । एउटा विशिष्ट परिस्थितिमा बन्यो । संविधानविपरीत कदम चालिएको, लोकतान्त्रिक प्रक्रियालाई अवरुद्ध गरिएको, संसदलाई विघटित गरिएको विशिष्ट परिस्थितिमा । हामीलाई जनताले म्याण्डेड बाहिर बस्न भनेर दिदादिदै पनि नचाहादा, नचाहादै पनि सरकारको नेतृत्व गरेर जानुपर्‍यो । त्यसकारण यो सरकारलाई संविधान अनुसार चल्ने, संविधान र संसदको रक्षा गरेर जाने सवालमा, महामारीबाट जनताको जीवन रक्षा गर्नको लागि सरकार कति गम्भिर भएर जान्छ भन्ने सवाल र निर्वाचन सम्पन्न गराउने राष्ट्रिय दायित्व पुरा गर्ने सन्दर्भमा सरकारलाई हेरिदिनुस्, समिक्षा गरिदिनुस् भन्छौँ पनि । जुन विषयमा जनताको प्रत्येक्ष चासो हुन्छ सरकारको छविको कुरो गासिन्छ, यि विषयमा कार्य सम्पादन समितिको बैठकले पनि सरकारलाई सजग गराउने, सरकारलाई ध्यानाकर्षण गराउने, सरकारलाई सुझाव पनि दिने कार्य गर्छ । खोपलाई अझ विशेष अभियानका रुपमा, महाअभियानका रुपमा लिएर जाने कुराको सन्दर्भमा पनि सरकारलाई थप घच्घचाउँछ । आगामी निर्वाचनको तयारीमा जादैँ गर्दाखेरी पार्टीको सबै तहलाई व्यवस्थित बनाउने, पार्टीका विभागहरु बनाउने दिशातर्फ जाने, भातृ र शुभेच्छुक संस्थाहरुलाई व्यवस्थित गर्न तर्फ लाग्ने,” उनले भने ।

महामन्त्री शर्माले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार विशिष्ट परिस्थितिमा बनेको भन्दै जनताका सबै अपेक्षाहरु पूरा हुन नसक्ने पनि बताए ।

१९ माघ २०७८ मा प्रकाशित
Nabintech