बाँकेमा ५३ हजार १८८ बालबालिकाले मोडर्ना खोप लगाए

पिपलबाेट संवाददाता


बाँके जिल्लामा बुधवार र बिहीबार दुई दिन चलाइएको खोप अभियान अन्तर्गत १२ वर्षदेखि १७ वर्ष उमेर समूहका ५३ हजार १८८ बालबालिकाले मोडर्ना खोप लगाएका छन् ।

वर्षाका कारण लक्ष्यभन्दा कमले खोप लगाएपछि दुई दिन खोप अभियान थप गरिएको पनि स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । बाँकेका खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठले दिनुभएको जानकारीअनुसार जिल्लाका ६९ हजार ८३७ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा दुई दिनमा जिल्लाका ८ वटा पालिकामा ५३ हजार १८८ बालबालिकाले मोडर्ना खोप लगाएका छन् ।

पहिलो दिन ३१ हजार ६१७ जनाले खोप लगाएकोमा दोस्रो दिन २१ हजार ५७१ जनाले खोप लगाएको उहाँले बताउनुभयो । दोस्रो दिन जिल्लाका अधिकांश भागमा दिनभरि वर्षा भएकोले खोप अभियान प्रभावित हुँदा कम सङ्ख्यामा खोप लगाउन बालबालिका आएको पनि खोप फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।

सोही कारणले दुई दिन खोप अभियान थप गरिएको जनाउँदै उहाँले शुक्रवार पनि हल्का वर्षा भैरहेकोले अभियान प्रभावित हुनसक्ने बताउनुभयो । बाँकेमा ७६ प्रतिशत बालबालिकाले खोप लगाएको र २४ प्रतिशतलाई लगाउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सो कार्यालयका अनुसार सबैभन्दा धेरै कोहलपुरका बालबालिकाले खोप लगाएका छन् । कोहलपुरका १२१ प्रतिशत बालबालिकाले खोप लगाएका छन् । त्यहाँ १० हजार तीन सय २९ बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको थियो, तर कोहलपुरमा १२ हजार ५२१ बालबालिकाले खोप लगाएका छन् ।

त्यसैगरी खजुरा र राप्तीसोनारीका समान ८४ प्रतिशतले खोप लगाएका छन् । बैजनाथ र नेपालगञ्ज उपमहानगरपालिकाका ७४–७४ प्रतिशत तथा डुडुवा गाउँपालिका ४७ र जानकीका ४५ प्रतिशतले खोप सुविधा लिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

मोडर्ना खोप लगाउनेमा नरैनापुर गाउँपालिका सबैभन्दा पछि छ । त्यहाँका ३४ प्रतिशत बालबालिकाले मात्र खोप लगाएको कोरोना खोप फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो । जिल्लाभरिमा विभिन्न विद्यालयमा ४३३ वटा खोप केन्द्र कायम गरेर खोप अभियान सञ्चालन गरिएको छ ।

२१ माघ २०७८ मा प्रकाशित
Nabintech