बाँकेमा ५० हजार सिटामोल स्टक, कुनै पालिकामा अभाव छैन

पिपलबाेट संवाददाता


देशका विभन्न भागबाट सिटामोलको अभाव रहेको सुचनाहरु आइरहँदा बाँकेमा भने सिटामोल अभाव नभएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । साथै बाँकेको कुनै पनि पालिकामा सिटामोल अभाव नरहेको  स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले स्वास्थ्य कार्यालयमा मात्रै हाल प्रदेश र केन्द्रबाट आएको ५० हजार सिटामोल स्टक रहेको बताउनुभयो । उहाँले जिल्लाका आठवटै पालिकालाई ५० हजार ट्याब्लेट सिटामोल पठाएको समेत बताउनुभयो ।

सबै पालिकामा माग अनुसारको सिटामोल पठाएको र केही पालिकाले आफैँ खरिद गरिरहेकोले सिटामोल अभाव नरहेको उहाँले बताउनुभयो ।

जानकी गाउँपालिकाले सिटामोलको माग गरेकोमा गत मङ्गलबार पाँच हजार सिटामोल दिइएको पनि शाहले बताउनुभयो । प्रदेश सरकार र सङ्घीय सरकारबाट प्राप्त भएको सिटामोललगायतको औषधिहरु पलिकाहरुलाई निरन्तर वितरण गरिरहेको र पालिकाहरुले आफैँ पनि ठूलो परिमाणमा औषधि खरिद गरिरहेको समेत उहाँले बताउनुभयो ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरलाई १८ हजार, कोहलपुर नगरपालिकालाई १२ हजार, खजुरा र राप्तीसोनारी गाउँपालिकालाई १२–१२ हजार र नरैनापुर गाउँपालिकालाई छ हजार सिटामोल पठाइएको छ ।

नेपालगञ्जका औषधि व्यवसायीहरुले सिटामोलको अभाव नभएको जनाएका छन् । बीपी चोकस्थित ध्रुवतारा मेडिकल स्टोरका सञ्चालक ईरफान सिद्दिकीले पसलमा सिटामोललगायत कुनै औषधिको अभाव नरहेको बताउनुभयो ।

२३ माघ २०७८ मा प्रकाशित
Nabintech