बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका बाघ गणना गर्ने २३ वटा क्यामेरा चोरी

पिपलबाेट संवाददाता


बाघ गणना गर्न निकुञ्जमा राखिएका क्यामेरा चोरी भएको छ। बर्दिया–बाँके कम्प्लेक्सको तीन वटा ब्लकमा २३ वटा क्यामेरा चोरी तथा तोडफोड भएको हो।

बर्दिया–बाँके कम्प्लेक्समा चार वटा ब्लक बनाएर बाघ गणना भइरहेको छ। एक र दुई नम्बर ब्लक पुरै बर्दिया निकुञ्ज क्षेत्रमा पर्छ। तीन नम्बर ब्लकमा बर्दिया र बाँके निकुञ्जको केही भाग पर्दछ। चार नम्बर ब्लकमा पुरै बाँके राष्ट्रिय निकुञ्ज पर्छ।

राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका कार्यालय प्रमुख डा रविन कडरियाले अहिलेसम्म एक र दुई नम्बर ब्लकको काम सकिएको जानकारी दिए। तीन नम्बर ब्लकमा काम भइरहेको छ। त्यसपछि चार नम्बर ब्लकमा काम हुनेछ।

उनका अनुसार एक नम्बर ब्लकमा नौ वटा, दुई र तीन नम्बर ब्लकमा चार/चार वटा क्यामेरा चोरी भएको छ। ६ वटा क्यामेरामा हात्तीले तोडफोड गरेको छ। एउटा क्यामेराको मूल्य ४० हजार रुपैयाँ रहेको बताइएको छ। घाँस काट्न गएका र चोरी शिकारीले क्यामेरा चोरी गर्ने गरेका छन्।

सन् २०१८ को रिपोर्टअनुसार बर्दियामा ८७ र बाँकेमा २१ वटा बाघ छन्। एक र दुई नम्बर ब्लकको काम सकिँदा र तीन नम्बर ब्लकको काम भइरहँदा बाँके र बर्दियामा बाघको संख्या बढेको आँकलन गरिएको छ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) श्यामकुमार शाहले राष्ट्रिय बाघ सर्वेक्षणका क्रममा देखिएको बाघको मुभमेन्टलाई हेर्दा बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ्ने अनुमान गरिएको बताए।

पछिल्लो समय बाघ र मानव द्वन्द्व बढेको छ। सन् २०१९ यता बाँकेमा बाघको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ। यो अवधिमा बाँकेदेखि शुक्लाफाटासम्ममा बाघको आक्रमणबाट २८ जनाको मृत्यु भएको छ।

राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका कार्यालय प्रमुख डा कडरियाले सबै आक्रमण जंगलभित्रै र दिउँसो भएको बताए। सन् २०१८ पछि दाङदेखि शुक्लाफाटासम्ममा ८ वटा बाघ मारिएका छन्। बाँकेमा तीन, बर्दियामा २, कैलालीमा एक, शुक्लाफाटामा २ वटा बाघ मारिएको छ।

नेपालले सन् २०२२ सम्ममा बाघको संख्या २५० पु¥याउने प्रतिबद्धता गरेको छ। सन् २०१८ को रिपोर्टअनुसार नेपालमा २३५ वटा बाघ छन्।

चौथो ब्लकमा गणना गर्दा क्यामेराको सुरक्षादेखि बाघले आक्रमण गरेका सामुदायिक वन क्षेत्रलाई लक्ष्य गर्ने तयारी गरिएको छ। बाँकेमा निकुञ्जभित्र भन्दा पनि सामुदायिक वनमा आएर बाघले आक्रमण गरेको छ। बाँके राष्ट्रिय निकुञ्जका वार्डेन शाहले बाघले आक्रमण गरेका सामुदायिक वन क्षेत्रमा पनि क्यामेरा राखेर बाघको गणना गर्ने बताए। चौथो ब्लक एक सय ७५ ग्रिडमा रहेको छ।

२६ माघ २०७८ मा प्रकाशित
Nabintech