राप्तीसोनारीको दशौं गाउँसभामा पाँच वटा विधेयक पेश

पिपलबाेट संवाददाता


राप्तीसोनारी गाउँपालिकाको दशौं गाउँसभा बिहीबारबाट शुरु भएको छ ।

सभामा विभिन्न ५ वटा विधेयक पेश गरिएको छ । गाउँपालिकाले भुमी, स्वास्थ्य तथा सरसफाई, कृर्षी तथा पशुपंक्षी, खानेपानी तथा सरसफाई र स्वच्छता र नमुना वन सम्बन्धी विधेयक पेश गरिएको हो ।

गाउँपालिकाका विधायन समितिका संयोजक एवम् वडा नम्बर–३ का वडाअध्यक्ष गंगाराम थारुले सभामा उक्त पाँच वटा विधेयक पेश गरेका थिए । सभामा पेश गरिएका विधेयकहरु अध्ययन गर्नका लागि सदस्यहरुलाई वितरण गरिएको छ ।

गाउँपालिका अध्यक्ष लाहुराम थारुको सभाध्यक्षतामा बसेको गाउँसभामा गाउँपालिकाले गरेका कामको समिक्षा र भावी योजना तथा कार्यक्रमका बारेमा छलफल भएको थियो ।

सभाका सदस्यहरु तथा राप्तीसोनारी गाउँपालिका वडा नम्बर–२ का वडाअध्यक्ष मदनकुमार ओली, वडा नम्बर– ६ का वडाअध्यक्ष जनकबहादुर थारु, वडा नम्बर– १ का वडासदस्यद्वय रुद्रमणी ढकाल र टिकाराम बस्नेतले आफ्नो धारणा राखेका थिए ।

सभामा उठेका प्रश्न र जिज्ञाशाको सभाध्यक्ष थारुले जवाफ दिएका थिए । सभामा गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाही, वडाअध्यक्ष, वडासदस्य, कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो । उक्त सभा आगामी फागुन २ गते पुनः बस्ने गरी स्थगित भएको छ ।

२७ माघ २०७८ मा प्रकाशित
Nabintech