एकीकृत विकास योजना बनाएर अघि बढ्ने उपमहानगरपालिकाको तयारी

पिपलबाेट संवाददाता


नेपालगन्जलाई पश्चिमको सुगम सहरका रूपमा हेरीन्छ । तर बाहिर हेर्दा र सुन्नेका लागि जति सुगम छ त्यतिकै पिछडिएको पनि छ । खासगरी मधेसी तथा मुस्लिम बाहुल क्षेत्रमा गरिबीका साथै शिक्षा, स्वास्थ्य, कूरीति कुसंस्कार व्याप्त छ । भौतिक पूर्वाधारलाई मात्र विकास मान्ने सोचका कारण नेपालगन्ज उपमहानगर नजिकैका पछाडि परेका समुदायको जीवनस्तरमा परिवर्तन आउन सकेको छैन ।
उपमहानगरपालिकामै भएर पनि वडानम्बर–२२ को किंगरियान पुरवामा राज्यको उपस्थिति शून्य जस्तो लाग्छ । पिछडीएको किंगरीया, चमार र बस्खोर समुदायको बसोबास रहेपनि राज्यका तर्फबाट उनीहरूको उत्थानका लागि कुनै क्रियाकलाप नगरिदा यहाँका नागरिक राज्यका विभिन्न अवसर र सेवा सुविधाबाट पछाडि परेको स्थानीय आसाराम चमार बताउँछन् । ‘हाम्रो समुदायमा अत्याधिक गरिबी छ, काम पनि पाइँदैन, मागेर खानुपर्ने अवस्था छ’, उनले भने, ‘सरकारले कुनै रोजगारी या समुदायको उत्थानका लागि केही गरेको छैन ।’ गरिबी र अशिक्षाका कारण सानैमा बालविवाह हुने गरेको बताउँदै उनले समुदायका अधिकांशले सानै उमेरमा धेरै बच्चा जन्माउने गरेको बताए । बालविवाहकै कारण स्वास्थ्यसम्बन्धी समस्या पनि हुने गरेको स्वास्थ्यस्वयमसेवीका बताउँछन् ।
विभिन्न कारणले सानोमा पढ्न नपाएकाहरू लाई लक्षित गरी उपमहानगरपालिकाले यस समुदायमा हाल साक्षरता कक्षा सञ्चालन गरेको छ । हस्ताक्षर गर्न जान्नैपर्ने नीयम बनाएका कारण बाध्यकारी रुपमा कक्षा सञ्चालन भएपछि उनीहरू पढ्न पाएकामा खुसी लागेको बताउँछन् । हस्ताक्षर गर्न नजानेका कारण निकै दुखः पाएको बताउँदै स्थानीय निशाउ किंगरियाले अव पनि नजानेमा सामाजिक सुरक्षा भत्ता लगाएत सरकारी सुविधा पाउनबाट बन्चित हुनुपर्ने सुनेपछि पढन आएको बताइन् । विगतमा पढन नपाएपनि अहिले छोराछोरी सँगै पढन आएकी उनले नाम लेख्न सिकेकोमा निकै खुसी प्रकट गरिन् ।
नेपालगन्ज उपमहानगरपालिकाले पहिलो चरणमा समुदायमा साक्षरता अभियानलाई प्राथमिकतामा राखेको जनाएको छ । यो समुदाय शिक्षा, स्वास्थ जस्ता विभिन्न कुरामा पछाडि परेकाले समुदायको आर्थिक तथा सामाजिक विकासका लागि एकीकृत विकास योजना बनाएर अघि बढ्ने योजना उपमहानगरको भएको नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरको छ । ‘अहिले हामीले साक्षरता अभियानलाई प्राथमिकतामा राखेका छौ’ उनले भनिन ‘यहाँको समग्र विकास सँगसँगै गर्न जरुरी भएकोले एकीकृत विकास योजना बनाएर अघि बढ्ने योजना उपमहानगरपालिकाको छ ।’
समुदायको सामाजिक विकासमा पहल नथाल्दा यहाँ शिक्षा, स्वास्थ्य, सरसफाई जस्ता सरकारी योजना कार्यान्वयनमा समस्या हुने गरेको छ । स्थानीयतहमा जनप्रतिनिधि आएको ५ बर्ष पुग्न लाग्दा पनि उपमहानगरकै पिछडिएको समुदायको विकासका लागि ध्यान नजानुले सामाजिक विकासप्रति जनप्रतिनिधिहरू उदासीन रहेको प्रष्ट हुन्छ । यसले समग्र नेपालगन्ज उपमहानगरपालिकाको मानव विकास पछाडी पर्ने देखिन्छ भने उपमहानगरले सञ्चालन गर्ने साक्षर नगर घोषणा जस्ता विभिन्न अभियानहरू प्रभावित हुने देखिएका छन ।

३ फाल्गुन २०७८ मा प्रकाशित
Nabintech