कोहलपुरको फोहोरमै राजनीति, कर्मचारी देखि जनप्रतीनिधी सम्मको शेयर

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिका झनपछि झन दुर्गन्धित बन्दै गएको देखिएको छ । कोहलपुर नगरपालिका र जटायु रिसाइकलर्स प्रालिबीच विवाद हुँदा फोहोर व्यवस्थापनमा समस्या देखिएको र शहर दुर्गन्धित बनेको हो ।
सम्झौता अनुसार रकम भुक्तानीको विषयमा कुरा नमिल्दा जटायु रिसाइकलर्स ले कोहलपुरमा फोहोर उठाउन छोड्दा फोहोर शहरभरी यत्रतत्र छरिएको छ । लुम्बिनी प्रदेशकै सुन्दर सफा शहरका रूपमा पहिचान बनाएको कोहलपुर यतिबेला फोहोरको डंगुरले भरिएको छ । नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी देखि फोहोर व्यवस्थापक समेत फोहोरमै राजनीति गर्न थालेका छन् । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै कुर्ची धरापमा देखिएपछि जनप्रतिनिधि कर्मचारी सँग को सेटिङ्गमा कमाउ धन्दामा लागिरहेका छन् । विकास निर्माणका योजनादेखि गाडी खरिदमा लुटतन्त्र मच्चाउने जनप्रतिनिधि यतिबेला फोहोर व्यवस्थापनका नाममा कमाउधन्दामा सक्रिय छन् । नगरको फोहोर व्यवस्थापनका लागि भएको दुईपक्षिय सम्झौता नगरपालिकाले कार्यान्वयन नगरेको ।नगरपालिकासँग भएको सम्झौता कार्यान्वयन नभएको आरोप लगाउँदै फोहोर व्यवस्थापनको जिम्मा लिएको जटायु रिसाइकलर्स प्रालिले गत बिहीबार देखि कोहलपुरको फोहोर उठाउन छोडेको जटायु रिसाइकलर्सका सञ्चालक नरेश बिसी बताउँछन् ।
रकम भुक्तानी लगायतका विषयमा सहमति हुन नसकेपछि फोहोर उठाउन नसकिएको उनले बताए । नगरको फोहोर व्यवस्थापनका लागि कोहलपुर नगरपालिकाले १५ वर्षका लागि जटायु रिसाइकलर्ससँग २०७७ असार २६ गते सम्झौता गरेको थियो । सम्झौताअनुसार मेसिन खरिदका लागि अहिले ४० लाख रुपैयाँ माग गरेकोमा भुक्तानी गर्न आलटाल गरिरहेको बिसीले बताए । फोहोर व्यवस्थापनका लागि नगरपालिकाले फोहोर व्यवस्थापन गर्ने संस्थालाई रकम उपलब्ध गराउने सम्झौतामा पत्रमा उल्लेख छ । जटायुले फोहोर संकलन गरेवापत मासिकरुपमा व्यवसायी तथा घरधनीबाट निश्चित रकम उठाउने गरेको छ । फोहोर प्रशोधन गर्ने मेसिन खरिद गर्ने रकमको बारेमा सहमति हुन नसक्दा समस्या भएको नगरपालिका बताउँछ ।कोहलपुर नगरपालिकाले भने सम्झौताबमोजिमको रकम दिन कुनै समस्या नरहेको जनाउँदै बैङ्क ग्यारेन्टी वा मेसिनको बिल माग गरेको छ । कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले कोहलपुरको फोहोर व्यवस्थापनका लागि विभिन्न संरचना निर्माण गर्न तथा आवश्यक मेसिन खरिद गर्न जटायुलाई दुई करोड रुपैयाँ दिने सम्झौता गरेको बताए । उनले सोही सम्झौता बमोजिम हालसम्म एक करोड भुक्तानी दिइसकिएको र अहिले माग गरिएको रकम दिन बैङ्क ग्यारेन्टी वा बिलमध्ये एक ल्याउनुपर्ने बताए । नगरपालिकाले सम्झौता अनुसार नै काम गरिरहेको प्रस्ट पार्दै नगर प्रमुख रावतले फोहोर व्यवस्थापन नहँुदा नगरवासीलाई समस्या पर्न थालेकाले तत्काल व्यवस्थापन गर्न निर्देशन दिइएको बताए । उनले फोहोर नउठाए कानुनी कारबाहीमा जाने बारेमा छलफल भइरहेको बताए । पटक पटक जटायु रिसाइकलर्स र कोहलपुर नगरपालिकाबीच छलफल भएर पनि सहमति हुन नसक्दा बजारमा फोहोर थुप्रिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल यसअघि नै गरिएको सम्झौता स्पष्ट नहुँदा समस्या भएको बताउँछन् । कोहलपुरका न्यूरोड, चौराहा, बसपार्क, पीपल चौतारा लगायतका मुख्य बजार क्षेत्रमा फोहोर थुप्रिएको छ । दुर्गन्ध भने दिनदिनै बढिरहेको छ । बजार क्षेत्रबाट उठाएको फोहोर जटायुले कोहलपुर–९, मा किनेको खाली जग्गामा व्यवस्थापन गर्दै आएको थियो । कोहलपुरमा दुर्गन्ध फैलिएसँगै स्थानीयले झण्डै एक सातादेखि फोहोर नउठ्दा बजारमा जता हेरे पनि फोहोरमात्रै देखिन थालेको गुनासो गरेका छन् ।यसै विषयमा केहि दिन पहिला विभिन्न संचार माध्यमका प्रकाशन तथा प्रकाशित समाचारलाई हेर्दा नगर पालिकाका कर्मचारीले आफुलाई प्रालिको सेयर दिनु पर्ने भन्दै आएको र शेयर समेत दिएको खुलासा भएको थियो । कर्मचारी र केहि जनप्रतिनीधिको शेयर भएका
कारण जटायू रिसाईकलर्स प्रालि.ले कोहलपुर नगरपालिकालाई दिनुपर्ने नाफाको २५ प्रतिशत रकम नबुझाएको देखिन्छ । कोहलपुर नगरपालिकाले भने फोहरको कर को दायरा वढाउदै लगेको देखिन्छ । कोहलपुर नगरपालिका वासीले सवैले ५० देखि १५००माषिक सम्म बुझाउदै आएका छन् । तर यस प्रालि र नगरपालिकाका केहि मानिस हरुको सेटिङ् मा कुरा नमिलेपछि अहिले केहि समस्या उत्पन्न भएको देखिन्छ । प्रा.लिले नाफाको २५ प्रतिशत बुझाउनु पर्ने उल्लेख गरिएको छ । तर प्रा.लिले कम्पनी घाटामा देखाउदै नगरपालिकालाई बुझाउने रकम नबुझाउने गरेको पाईन्छ ।

५ फाल्गुन २०७८ मा प्रकाशित
Nabintech