नेपालका कम्यूनिष्टले एमसीसी विकास परियोजनाका बारेमा जनतालाई भ्रम मात्र बाड्दै छन् ः राठौर

पिपलबाेट संवाददाता


नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौंरले एमसीसी नेपालले प्राप्त गर्न लागेको विकास सम्बन्धी परियोजना भएपनि कम्युनिष्टले यसबारे जनतामा भ्रम सिर्जना मात्रै गरेको प्रष्ट्याएका छन् । ‘छलफल गरेर एउटा निकास दिउँ, जनताको निर्वाचित संस्था भनेको संसद हो,’ उनले भने ‘संसदमा छलफल गरेर त्यसमा के कुरा गर्नुपर्ने हो, परिमार्जन गर्नुपर्ने भए गरौं, के गर्न सकिन्छ गरौं ।’

नेपाली कांग्रेस राप्ती सोनारीको कार्यालय उद्घाटन तथा कार्यकर्ता भेटघाटलाई बिहीबार सम्बोधन गर्दै नेता राठौंरले एमसीसीलाई कम्युनिष्ट पार्टीको सरकारले संसदमा दर्ता गरेको र त्यसलाई अहिले कांग्रेस नेतृत्वको सरकारले संसदमा छलफल गराउन खोजेको बताए ।

कम्युनिष्ट पार्टीले एकपछि अर्को गल्ती गर्दै जाने र सम्पूर्ण दोष नेपाली कांग्रेसलाई दिन नपाइने प्रतिनिधी सभाका सांसद समेत रहेका राठौंरले बताए । ‘हामी जिम्मेवारी लिन तयार छौं,’ उनले भने । एमसीसी आउँदाखेरी यो देशमा अमेरिकी सेना आउने र देश नै कब्जा गर्ने भनेर कम्युनिष्टहरुले निराधार रुपले हल्ला फिजाएको बताए ।

अर्को प्रसंगमा सह-महामन्त्री राठौंरले स्थानीय तहको निर्वाचन नजिक आइसकेको अवस्थामा नेपाली कांग्रेसलाई वडादेखी पालिकासम्म जिताउन कार्यकर्ताहरु अहिलेदेखी नै सक्रिय हुनुपर्ने बताए । ‘यो देशको जिम्मेवार पार्टी भनेको नेपाली कांग्रेस हो, जनताप्रति उत्तरदायी पार्टी नेपाली कांग्रेस हो, जहिले जहिले हामीले जिम्मेवारी पाएका छौं, त्यो जिम्मेवारी हामीले पुरा गरेका छौं,’ नेता राठौंरले भने ।

अहिलेसम्म जति विकास भएको छ, त्यो नेपाली कांग्रेसले गरेको दाबी गरे । भोलीका दिनमा पनि बाँकी रहेका भौतिक संरचना र जनताका समस्यालाई कांग्रेसले सम्बोधन गर्ने प्रतिवद्धता जनाए । पार्टीलाई विचलित गर्ने खालका अभिब्यक्ति आउँदा दिनमा नदिन र त्यस्ता गतिविधी नगर्न चेतावनी दिए । उनले थपे, ‘पार्टीमा न्याय हुनुपर्छ, नेताले न्याय गर्नुपर्छ, म कुन तहमा छु, कुन जिम्मेवारीमा छु भन्ने महसुस गर्नुपर्छ ।’

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले आसन्न स्थानीय निर्वाचनमा जनताले कांग्रेसलाई जिताउने बताए । नेपाली कांग्रेसप्रति जनताको लहर बढेको भन्दै कांग्रेसलाई जिताउने अभियानमा सबै लाग्न नेता, कार्यकर्तालाई आग्रह गरे । कांग्रेसले जितेपछि मात्र देशमा विकास र समृद्धि सम्भव रहेको बताए ।

यस्तै लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू-संरक्षण मन्त्री सुरेन्द्र हमालले आगामी निर्वाचनमा स्थानीयदेखी केन्द्रसम्म कांग्रेसले जित्ने र कांग्रेसकै नेतृत्वमा सरकार बन्ने विश्वास गरे । आगामी निर्वाचनमा नेपाली जनताले कांग्रेसलाई निर्वाचित गरेर सरकार सञ्चालनको जिम्मेवारी दिने मन्त्री हमालले बताए ।

नेपाली कांग्रेस राप्ती सोनारीका सभापति भिमबहादुर रानाक्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस बाँकेका सभापति किरण कोइराला, जिल्ला सचिव तप्त पौडेल, राप्ती सोनारी गाउँपालिका अध्यक्ष एवम् कांग्रेस नेता लाहुराम थारु, क्षेत्र नम्बर १ का सभापति पोषण केसी, क्षेत्र नम्बर १ का निर्वतमान सभापति माधवराम खत्री, कांग्रेस नेतृ सविना ओली लगायतले पनि सम्बोधन गरेका थिए ।

नेपाली कांग्रेस राप्ती सोनारी कार्यालय वडा नम्बर १ अगैयामा उद्घाटन गरेर वडा नम्बर ५ बिनौनामा कार्यकर्ता भेटघाट कार्यक्रम गरिएको हो । सो क्रममा प्रमुख अतिथी राठौंरले नेकपा माओबादी केन्द्रसहित विभिन्न पार्टी परित्याग गरेका २ सय १७ जनालाई कांग्रेसमा प्रवेश गराएका थिए । नेकपा माओबादी केन्द्र राप्ती सोनारीका प्रभावशाली नेतृ एवम् माओबादीनिकट नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन राप्ती सोनारीका अध्यक्ष तृष्णा स्याङतान लामा लगायत कांग्रेसमा प्रवेश गरेका हुन् ।

 

५ फाल्गुन २०७८ मा प्रकाशित
Nabintech