नेकपा माओवादी र नेकपा एमालेका २ सय १८ बढि नेता कार्यकत्ता काँग्रेस प्रवेश

पिपलबाेट संवाददाता


बाँकेको राप्ती सोनारीमा नेकपा माओवादी केन्द्रकी प्रभावशाली नेतृ हुन, तृष्णा स्याङतान लामा । माओबादी केन्द्रमा लामो समयदेखी राजनीतिमा सक्रिय रहँदै आएकी उनी उक्त पार्टीको राप्ती सोनारी गाउँपालिका कार्यसमिति सदस्य थिइन् ।

पार्टीभित्र आफ्नो काम, क्षमताको मुल्यांकन र कदर नहुँदा नेतृ लामाले बिहीबार माओबादी केन्द्र परित्याग गरिन् । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुर निवासी उनी पार्टीको राजनीतिसँगै उद्यम तथा विभिन्न सामाजिक काममा पनि उत्तिकै सक्रिय छिन् ।

नेपाली कांग्रेस राप्ती सोनारी गाउँपालिकाले बिहीबार वडा नम्बर ५ बिनौनामा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथी एवम् पार्टीका सह-महामन्त्री किशोरसिंह राठौंर, केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, जिल्ला सभापति किरण कोइराला, राप्ती सोनारी गाउँपालिका अध्यक्ष एवम् कांग्रेस नेता लाहुराम थारु, क्षेत्र नम्बर १ का सभापति पोषण केसी, क्षेत्र नम्बर १ का निर्वतमान सभापति माधवराम खत्री, कांग्रेस राप्ती सोनारी गाउँपालिका सभापति भिमबहादुर रानाक्षेत्री लगायत नेताले कुल २ सय १७ जनालाई प्रवेश गराए ।  त्यसमध्ये नेतृ लामाको नेतृत्वमा मात्रै वडा नम्बर ६ फत्तेपुरका ६८ जनाले माओबादी केन्द्र त्यागेर कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस पार्टीको विधि र प्रक्रियामा रहेर अब काम गर्ने उनले बताइन् । आफु अवसरवादीको रुपमा नभएर नेपाली कांग्रेसको घरमा नयाँ इट्टा थप्न र एउटा नमुना घर बनाउने सह-यात्रामा सहभागी हुन आएको प्रष्ट्याइन् । ‘म लगायत मेरा साथीहरु नेकपा माओवादी केन्द्रको एजेण्डामा रहेर काम गरिरहँदा अवमुल्यन हुनु र अवसरवादीहरु पार्टीमा हाबी हुनाले कम्युनिष्ट विचारधारा बोकेका इमान्दार कार्यकर्ताहरु पिल्सिनुपर्ने अवस्था र कम्युनिष्ट विचारधारा बोकेका सर्वसाधारण जनताहरु आर्थिक, सामाजिक र साँस्कृतिक रुपमा उत्पीडनमा परिरहेको अवस्था छ,’ पार्टी प्रवेश पश्चात सम्बोधनका क्रममा उनले भनिन् ।

नेतृ लामासहित ठुलो संख्यामा माओवादी कार्यकर्ताहरु कांग्रेसमा प्रवेश भएपछि उक्त पार्टीलाई आसन्न निर्वाचनमा ठुलो धक्का लाग्ने विश्लेषण गर्न थालिएको छ । अब आफुसहित नवप्रवेशीहरु कांग्रेसको संगठन निर्माण अभियानमा सक्रिय हुने बताईन् । कांग्रेसमा प्रवेश गरेका अधिकांसले माओवादी पार्टीको नेतृत्व गरेका ब्यक्तिले दोहोरा चरित्र देखाउने, कार्यकर्तालाई सधैं झुक्याउने, जनतालाई प्रयोग गरेर नेताले लाभ लिने गरेको र एमाले पार्टी भ्रष्टाचारमा लिप्त भएको प्रतिक्रिया दिएका छन् ।

५ फाल्गुन २०७८ मा प्रकाशित
Nabintech