गोरखापत्र नेपाली पत्रकारिताको मात्र नभएर मुलुकको जिवन्त आधार हो : प्रम देउवा

पिपलबाेट संवाददाता


प्रधानमन्त्री शेरबहादुर देउवाले गोरखापत्र नेपाली पत्रकारिताको मात्र नभएर मुलुकको जिवन्त आधार भएको बताएकाछन् । कोहलपुरमा गोरखापत्र संस्थानको प्रकाशन गृहको शनिबार भर्चुअल रुपमा उद्घाटन गर्दै प्रधानन्त्री देउवाले सो कुरा बताएका हुन् । बाँके आएर गोरखापत्रको पश्चिम संस्करणको उद्घाटन गर्ने योजना भएपनि देशको राजनीतिक जटिलताका कारण आउन नसकेका प्रधानमन्त्री देउवाले प्रधानमन्त्री निवास बालुवाटरबाटै भर्चुअल प्रविधीमार्फत उद्घाटन गरेका हुन् । विभिन्न राजनीतिक, साँस्कृतिक र सामाजिक कालखण्डको साक्षि समेत बनेको गोरखापत्र डिजिटल युगमा यसलाई थप सन्तुलित, विश्वसनीयता र व्यवसायिक बनाउन आजको आवश्यता रहेको उनको सुझाव छ । ‘गोरखापत्र सरकारी मुखपत्र होइन, यसलाई प्रतिस्पर्धात्मक अवस्थामा अझ जिम्मेवार, व्यवसायिक, पारदर्शी र विश्वसनीय बनाउन आवश्यक छ’ प्रधानमन्त्री देउवाले भने । कोहलपुरबाट गोरखापत्रको आफ्नै प्रेस सञ्चालनमा आएपछि गोरखापत्रको उपस्थिति र पहुँच पश्चिम नेपालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३१ वटै जिल्लामा पुग्ने भन्दै पत्रकारिताको विकास र प्रेस स्वतन्त्रताको पथमा सदैव अग्रसर हुने आशावादी रहेको उनले बताए । प्रधानमन्त्री देउवाले गोरखापत्र नेपाली पत्रकारिता इतिहासको गौरवमय संस्था भएको र १२१ वर्षे गोरखापत्रको यात्रा मुलुकको जीवन इतिहासको आधारशीला पनि भएको धारणा राखे ।उक्त कार्यक्रममा भर्चुअल विधिबाट शुभकामना दिदैँ सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पश्चिम नेपालको कोहलपुरबाट गोरखापत्र प्रकाशनले सिङ्गो नेपाललाई एकताको शुत्रमा बाँध्ने अभियानलाई जोडेको बताए ।‘गोरखापत्र भनेको राष्ट्रको गौरव हो, यसले सिङ्गो नेपालको तस्बिर झल्काउँछ’, उनले अगाडी थपे–‘गोरखापत्रले नेपाली पत्रकारिताको क्षेत्रमा महत्वपूर्ण योगदान दिइरहेको छ, अभिभावकीय भूमिका खेलेकोछ । आधिकारिक सत्य तथ्य सूचनाका लागि गोरखापत्र नै पढ्नुपर्ने हुन्छ ।’ गोरखापत्रको विषयबस्तु प्रस्तुतीकरणले अहिले यो पत्रिका सरकारीभन्दा राज्यको अखबारको रुपमा पाठकसामु देखापरेको मन्त्री कार्कीले दावि गरे । कार्यक्रममा उपस्थित भएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले गोरखापत्रले आफ्नो सेवा र पहुँचलाई देशभर विस्तार गर्ने उद्देश्यमा नयाँ आयाम थपेकोमा बधाई दिए । ‘विगतमा यसको पहुँच दूरदराजमा पुग्नलाई महिनौं लाग्ने अवस्थालाई अब मुक्ति मिलेकोछ’, उनले भने–‘कोहलपुरबाट गोरखापत्रको प्रकाशन आरम्भ भएपछि तीन प्रदेशका ३१ जिल्ला प्रत्यक्षरुपमा गोरखापत्रको पहुँच पुग्ने र यसका साथसाथै यसक्षेत्रको कला, साहित्य, समाजको उत्थानमा कोशे ढुङ्गा सावित हुनेछ ।’ यस्तै गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्र एउटा पत्रिका मात्र नभई सभ्यता, संस्कृति र साहित्य बोकेको गौरवमय ईतिहास रहेको बताए । ‘देशको राजनीतिक, सामाजिक क्षेत्रका हरेक मोडहरुको यो साक्षीको रुपमा उभिएको छ, त्यसैले अहिलेको डिजिटल युग सुहाउँदो बनाउन गोरखापत्रलाई सुधार गरेर स्मार्ट गोरखापत्रको रुपमा विकास गर्ने अभियान थालिएको हो’ उनले बताए । बाँकेको कोहलपुर नगरपालिका—३ मैटहवामा गोरखापत्रको प्रकाशन गृहको औपचारिक प्रकाशन कार्य शनिबारबाट सुरु भएकोछ । कोहलपुरस्थित कार्यालयमा आयोजित कार्यक्रममा गोरखापत्रका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराई, दी राइजिङ नेपालका निमित्त प्रधान सम्पादक भीमसेन थपलिया, गोरखापत्रका प्रशासन विभागका निमित्ति निर्देशक ओम भुसाल, गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य राजु महत, कविता अधिकारी, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाह, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी, नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम पश्चात सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालसहितको टोलीले गोरखापत्रको प्रकाशन गृहको अवलोकन गरेका थिए । यसैवीच सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले कोहलपुरस्थित नेपाल टेलिभिजन कोहलपुर प्रशारण कार्यालयको पनि निरीक्षण गरेका थिए ।

 

 

७ फाल्गुन २०७८ मा प्रकाशित
Nabintech