डुडुवामा सञ्चालनमा आयो रेडियो सफल

पिपलबाेट संवाददाता


बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर–४ मा रेडियो सफल ९२ दशमलव ८ मेगाहर्जले औपचारिक रुपमा प्रशारण शुरु गरेको छ । शनिबार एक समारोहकाबीच रेडियो सफलको उद्घाटन गरिएको हो । योसंगै डुडुवा गाउँपालिकामै पहिलोपटक रेडियो सञ्चालनमा आएको छ । रेडियोलाई गाउँपालिका उपाध्यक्ष सायदा बानोले रिवन काटेर उद्घाटन गरेकी थिइन् । लामो समयदेखि सञ्चालनको तयारीमा रहेको रेडियो प्रजातन्त्र दिवसको अवसर पारेर सञ्चालनमा ल्याएको हो ।प्रजातन्त्र पश्चात नै देशमा नयाँ आयामको विकास भएको र प्रजातन्त्रले मानिसलाई स्वतन्त्रता प्रदान गरेको अवसर पारेर रेडियो सञ्चालन गरिएको जनाइएको छ । सञ्चार प्रतिष्ठन नेपालद्वारा सञ्चलित रेडियो सफलले बाँकेको डुडुवा, नरैनापुर, राप्तीसोनारी र नेपालगन्ज क्षेत्रलाई लक्षित गरि आफ्ना रेडियो कार्यक्रम सञ्चालन गर्ने प्रतिष्ठनका अध्यक्ष पोषण केसीले जानकारी दिए ।रेडियोमार्फत ग्रामीण बस्तीका समस्या, चुनौती, युवाहरु लगायतको सवाल, तथा बिभिन्न व्यक्तिहरुमा लुकेर रहेको क्षमता प्रस्फुटन गर्ने साथै स्थानीय सरकारलाई खबरदारी गर्दै जनतालाई सही सूचना प्रदान गरिने अध्यक्ष केसीले बताए ।कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य लिलावती यादवले शिक्षा क्षेत्रको बिकास र मानिसलाई सही सूचना र छिटो छरितो तरिकाले पुर्याउने सरल माध्यम रेडियो रहेको बताइन् । उनले रेडियो ग्रामीण बस्तीको बिषयबस्तु उठान गर्नुपर्ने, किशोरी शिक्षालाई प्राथमिकता दिनुपर्ने र शिक्षित समाज निर्माणमा भूमिका निर्वाह गर्नुपर्ने धारणा राखिन् ।

कार्यक्रममा राप्तीसोनारी गाउँपालिका वडा नम्बर–८ वडा अध्यक्ष खुमबहादुर बस्नेतले सञ्चार क्षेत्र राज्यको चौथो अङ्ग भएको भन्दै यसले खासगरी नरैनापुर र डुडुवा गाउँपालिकाका क्षेत्रका जनतामुखि हुनुपर्ने बताए । उनले जनप्रतिनिधिको हेसियतबाट रेडियोलाई आवश्यक समन्वय, सहकार्य र सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमा डुडुवा गाउँपालिका प्रेस सल्लाहकार राकेश कुमार मिश्र, अवधी पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष सूर्यलाल यादवले डुडुवामा रेडियोले खेल्न सक्ने र स्थानीयले रेडियोका लागि गर्न सक्ने समन्वय सहकार्यबारे धारणा राखेका थिए ।उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष बानो, कार्यपालिका सदस्य यादव, वडा नम्बर– १ का वडा सदस्य सुष्मा यादव, वडा नम्बर–३ का वडा सदस्य आमोद तिवारी, वडा नम्बर–४ की वडा सदस्य सकिना नाउँ, स्थानीय वन महासंघ डुडुवाका अध्यक्ष बेलबहादुर बोहरा, किसान संघका क्षेत्र नम्बर–१ का क्षेत्रीय सभापति जुगलाल थारु, प्रतिष्ठका सदस्य शोभा केसी, नेपाली काँग्रेस राप्तीसोनारी–८ का सभापति नरेन्द्र ओली, पदमपुर महिला बहुद्देश्य सहकारी संस्थाका अध्यक्ष हेमा थापा, डुडुवाका सव इन्जिनियर मदनेश्वर झा लगायतको उपस्थिति रहेको थियो ।रेडियो सफल करिब एक दशक अघि बाँकेमा रेडियो हिमालका नामबाट सञ्चालनमा रहेको थियो । सोही रेडियोको नाम परिवर्तन गरेर रेडियो सफलको नामबाट शनिबारदेखि डुडुवाम प्रशारण शुरु गरेको हो । रेडियोले खासगरी अवधी र थारु भाषालाई उच्च प्राथमिकता कार्यक्रम तथा समाचार दिने जनाइएको छ ।

७ फाल्गुन २०७८ मा प्रकाशित
Nabintech