बाघको आक्रमण नरोकिएपछि स्थानीय चिन्तामा

पिपलबाेट संवाददाता


शनिबार बिहानै राप्तीसोनारी–६ गुलरीका ६० वर्षीय धनबहादुर चलाउने दाउरा लिन वनमा गए । उनीसँगै २३ जना महिला पनि थिए । वन कार्यालयले शनिबार दाउराका लागि खुला गरेकाले उनीहरू जंगल पसेका थिए । तर वन हेरालुले बाघको पाइला देखिएको भन्दै सजग गराए पनि उनीहरू जंगलभित्र पस्दै गए । जंगलको खोल्सामा बसेको बाघले धनबहादुरलाई आक्रमण गरिहाल्यो ।‘५० मिटर पर घिसार्दै लग्यो । घाँटी थिच्यो । शरीरभरि नङ्ग्राले चिथोर्यो,’ प्रत्यक्षदर्शी एक महिलाले भनिन्, ‘सँगै गएका हामीहरू भागाभाग भयौं ।’ राजमार्गबाट जंगल झन्डै ४० किलोमिटरको दूरीमा छ । ‘वनमा मान्छेलाई पस्न नदिनू भनेर जानकारी आएपछि नपस्न भनेको थिएँ,’ वन हेरालु अजोध्याप्रसाद थारूले भने, ‘तर उनीहरू भाग्यमा लेखेको भए खान्छ, देखेको खाँदैन भन्दै वनभित्र पसे । पछि यो गति भयो ।’

राप्तीसोनारी गाउँपालिकाको वडा–६ मा मात्र पाँचवटा सामुदायिक वन छन् । ‘चार–पाँच दिनदेखि बाघका पाइला देखिएकाले स्थानीयलाई सचेत गराएका थियौं,’ राप्तीपीडित तथा गुलरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामलाल थारूले भने, ‘आहाराका कारणले हो या अरू कारणले, यहाँ निरन्तर बाघले आक्रमण गरिरहेको छ । बाघ संरक्षण गर्नेले मानव सुरक्षामा पनि ध्यान दिनुपर्‍यो ।’ सो वनमा चार जना चौकीदार राखिएका छन् । ‘जंगलका गहना भनेकै जनावर हुन् । तर, उपभोक्ता जंगल नगई हुँदैन,’ अध्यक्ष थारूले भने, ‘उपभोक्ताले नै पैसा उठाएर चौकीदारलाई पारिश्रमिक दिएका छन् ।’

बाघ आक्रमणका यस्ता घटना नयाँ भने होइन । यस आर्थिक वर्षमा मात्रै बाघ आक्रमणमा परी यहाँ पाँच जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लोपटक बाँकेको राप्तीसोनारी गाउँपालिकामा पुस २४ मा बाघको आक्रमणबाट चाँदनी थारू र त्यसको दुई दिनअघि लीलाकुमारी विष्टको मृत्यु भएको थियो । त्यसअघि नरैनापुरको गाभरमा बाघको आक्रमणबाट दुई पुरुषको मृत्यु भइसकेको छ । स्थानीयले वन जोगाएपछि वन्यजन्तु र मानवबीच द्वन्द्व बढेको राप्तीसोनारी गाउँपालिका–६ का वडाध्यक्ष जनक थारूले बताए । लगातार वन्यजन्तुले मध्यवर्तीका बासिन्दामाथि आक्रमण गर्न थालेपछि स्थानीयमा आक्रोश बढ्नु स्वाभाविक भएको उनले बताए । ‘वनजंगलबिना हामी बाँच्न सक्दैनौं । हामीबिना वन जोगिँदैन,’ उनले भने, ‘त्यसैले मान्छे पनि बाँच्न पाउनु पर्‍यो । वन्यजन्तु पनि बाँच्न पाउने वातावरण बनाउनुपर्छ ।’ डिभिजन वन कार्यालयका प्रमुख दधिलाल कँडेलले शनिबारको घटनापछि बर्दियाबाट विज्ञ टोली बोलाएर बाघ नियन्त्रण गर्ने योजना बनाउँदा पनि सफल हुन नसकेको बताए । घटनालगत्तै बर्दियाबाट डाँट गनसहितको प्रकृति संरक्षण कोषको टोली नेपालगन्ज आइपुगेको थियो ।

‘शव नउठाएको भए शनिबार ट्यापिङ गर्ने योजना बनाएका थियौं । दुई घण्टासम्म बस्यौं । हामीले अनुरोध पनि गर्‍यौं,’ डिभिजन वन कार्यालयका प्रमुख कँडेलले भने, ‘तर, स्थानीयको सेन्टिमेन्टलाई कट्रोल गर्न सकेनौं । एउटा मान्छेको ज्यान गएको अवस्था थियो । त्यसैले सफल भएनौं ।’ यसअघि बाघलाई नियन्त्रण गर्न चितवनको राष्ट्रिय प्रकृति संरक्षण कोषबाट प्राविधिक टोली नेपालगन्ज आइपुगेको थियो । एक सातादेखि जुटेको प्राविधिकको टोलीले बाघको मुभमेन्टसमेत देख्न पाएन । टोलीले बाघको पाइला देखिएको ठाउँको अवलोकन गरेर पाडो पनि राख्यो तर त्यस दिनपछि बाघको मुभमेन्ट नै देखिएन । बाघले पाडोसमेत खाएन ।

राप्तीसोनारी गाउँपालिकाका करिब दुई दर्जन बढी सामुदायिक वन बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएका छन् । सामुदायिक वन आसपास बस्ती छन् । सामुदायिक वन क्षेत्रले बाँके राष्ट्रिय निकुञ्ज र भारतको सुहेलवा सेन्चुरीलाई जोडेका कारण कम्दी जैविकमार्ग मानिएको छ । उक्त जैविकमार्ग भएर वन्यजन्तु ओहोरदोहोर गर्छन् । बाँके राष्ट्रिय निकुञ्ज र वन आसपासमा बाघको त्रास बढेको छ । घरघरमै आएर बाघले मान्छे र पशुलाई आक्रमण गरेको छैन । तर, निकुञ्ज आसपासको सामुदायिक वनमा घाँस–दाउरा गर्न गएका मानिसलाई आक्रमण गरेको छ । ‘जैविकमार्गमा वन्यजन्तुको मुभमेन्ट अवश्य हुन्छ । वन्यजन्तुले असुरक्षित महसुस गरेपछि आक्रमण गर्छ । त्यसैले जंगल पस्दा कसरी जाने, कहिले जाने भन्ने सचेतना हुन जरुरी छ,’ बाँके राष्ट्रिय निकुञ्जका प्रमुख श्याम साहले भने, ‘वन्यजन्तुको सुरक्षासँगै मानवीय सुरक्षा पनि उत्तिकै महत्त्वपूर्ण हो ।’ ५ सय ५० वर्ग किलोमिटरमा फैलिएको बाँके राष्ट्रिय निकुञ्जमा २१ पाटे बाघ गणना गरिएको थियो । संरक्षणपछि यस वर्ष बाघको संख्या बढ्ने अनुमान गरिएको छ । अहिले बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणना भइरहेको छ ।ईकान्तिपुर ।

९ फाल्गुन २०७८ मा प्रकाशित
Nabintech