नेपाली कांग्रेस बाँके मतदान फागुन १९ गते तोकियो , उम्मेदवारी मनोनयन दर्ता भोली

पिपलबाेट संवाददाता


नेपाली कांग्रेस बाँकेको १४ औं जिल्ला अधिवेशन अन्तरगत स्थगित भएको निर्वाचन यही फागुन १९ गते हुने भएको छ । जिल्ला समन्वय समिति बाँकेमा फागुन १९ गते बिहान ९ बजेदेखी अपरान्ह ४ बजेसम्म मतदान हुने भएको हो । जिल्ला निर्वाचन परिचालन समिति बाँकेको बिहीबार अपरान्ह बसेको बैठकले प्राविधिक रुपले पछाडी सरेको निर्वाचनको कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको हो । जिल्ला निर्वाचन अधिकृत उदयमणि आचार्यका अनुसार शुक्रबार बिहान ११ बजेदेखी दिउँसो २ः३० बजेसम्म उम्मेदवारी मनोनयन दर्ता, दिउँसो ३ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन, दिउँसो ३ः४५ देखी ४ः४५ बजेसम्म उम्मेदवारीमाथी संशोधन दावी विरोध, बेलुका ५ बजे दावी विरोधपछिको उम्मेदवारको संशोधित नामावली प्रकाशन गरिनेछ । यस्तै फागुन १४ गते बिहान ९ बजेदेखी दिउँसो ५ बजेसम्म उम्मेदवारी फिर्ता र सोही दिन दिउँसो ५ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जिल्ला निर्वाचन अधिकृत आचार्यले बताए । यसअघि केन्द्रीय निर्वाचन समितिको परिपत्र अनुसार बिहीबार(आज) तोकिएको उम्मेदवार मनोनयन दर्ता र १५ गतेको निर्वाचन कार्यक्रम स्थगित गरिएको थियो । कांग्रेस बाँकेको बिहीबार सम्पन्न जिल्ला कार्यसमिति बैठकले पनि स्थगित भएको निर्वाचनलाई अगाडी बढाउन निर्वाचन समिति समक्ष आग्रह गरेको थियो । केन्द्रीय निर्वाचन समितिले भने निर्वाचनलाई फागुन २० गतेभित्र सम्पन्न गर्ने ब्यवस्था मिलाउन जिल्ला निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो । मुलुकमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रम, संसदमा निर्णयार्थ प्रस्तुत र विचाराधिन राष्ट्रिय महत्वको अतिसंवेदनशील विषय तथा प्रतिनिधी सभाका सदस्यहरुलाई राजधानी बाहिर नजानका लागि पार्टी संसदीय दलले ह्वीप जारी गरिसकेको छ । पार्टीको ह्वीपका कारण, जिल्ला अधिवेशनका प्रतिनिधी–संघीय सांसदका सदस्यहरु जिल्ला अधिवेशनमा भाग लिन आ–आफ्नो जिल्लामा तत्काल जान असमर्थ रहेको अवस्थालाई मध्यनजर राखी १५ गतेको निर्वाचन स्थगित गर्नु परेको केन्द्रीय निर्वाचन समितिले उल्लेख गरेको छ । उल्लेखित १६ जिल्लामध्ये संघीय संसदका सदस्य रहेका सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, नवलपुर, बाँके र अछामको जिल्ला कार्यसमिति निर्वाचनका लागि निर्धारित फागुन १५ गतेको मितिलाई पछाडी सारेर फागुन २० गतेभित्र चुनाव सम्पन्न गर्ने ब्यवस्था मिलाउन केन्द्रीय समितिले निर्देशन दिएको थियो ।

१२ फाल्गुन २०७८ मा प्रकाशित
Nabintech