एमसिसीको विरोधमा उत्रिएकाले सुर्खेतमा जलाए प्रहरी बीट र पार्टी कार्यालयहरू

पिपलबाेट संवाददाता


एमसिसीको विरूद्धमा प्रदर्शनमा उत्रिएकाले सुर्खेतमा तोडफोड र आगजनी गरेपछि १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार विप्लव नेतृत्वको नेकपासहितका ६ राजनीतिक दल र दुई वटा मोर्चाले आह्वान गरेको विरोध प्रदर्शनमा सहभागी केही समूहले पार्टी कार्यालयहरू र प्रहरी संरचनामा क्षति पुर्‍याएका छन्।

प्रदर्शनको निहुँमा केही समूह बेलुकासम्म पनि उग्र बन्दै गएपछि सोमबार सवा ८ बजेदेखि मंगलबार बेलुका ७ बजेसम्मका लागि वीरेन्द्रनगरमा कर्फ्यू समेत जारी गरिएको छ।

प्रदर्शनकारीले नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा पुगेर ढुंगामुढा र आगजनी गरेका थिए।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार एमालेको पार्टी कार्यालयको गेटनजिकै प्रदर्शनकारीले सामान बटुलेर आगो बालेका थिए। तत्कालै प्रहरीले उनीहरुलाई त्यहाँबाट भगाएको थियो।

यस्तै कांग्रेस पार्टी कार्यालयमा ढुंगामुढा गर्दा झ्यालका सिसा फुटेका छन्। प्रदर्शनकारीले गरेको ढुंगामुढाबाट पार्टी कार्यालय नजिकै रहेको सुर्खेत उद्योग वाणिज्य संघको डिजिटल बोर्ड पनि फुटेको छ।

प्रदर्शनकारीले माओवादी केन्द्रको कार्यालयमा पनि ढुंगामुढा गरेका छन्।

वीरेन्द्रनगरको मंगलगढी चोकमा रहेको प्रहरी बीट पनि प्रदर्शनकारीले जलाएका छन्। जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरिसकेपछि प्रहरी बीट जलाईएको हो।

‘हामीले कर्फ्यू आदेश जारी गरिसकेका थियौं, उहाँहरुसम्म जानकारी नपुग्दै बीट पनि जलाईएको रहेछ,’ प्रजिअ रिजालले सेतोपाटीसँग भने।

पार्टी कार्यालयमा पुगेर ढुंगामुढा, आगजनी गर्ने १४ जना र प्रहरी बीटमा आगो लगाउने ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको उनले जानकारी दिए।

यस्तै प्रहरीमाथि समेत प्रदर्शनकारीले ढुंगामुढा गरेका छन्। यसबाट ४ जना प्रहरी पनि घाईते भएका छन्।

करिब साढे ८ बजेपछि भने वीरेन्द्रनगरको स्थिति नियन्त्रणमा आईसकेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। ‘त्यस्तो हताहत नै हुने खालको त भएको थिएन, केही अराजक व्यक्तिले भौतिक सम्पत्तिमा क्षति पुर्‍याएका छन्,’ प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गणेशबहादुर ऐरले भने, ‘अहिले स्थिति नियन्त्रणमा आईसकेको छ।’

प्रशासनले वीरेन्द्रनगरमा जारी गरेको कर्फ्यू आदेशमा उत्तरमा कपासे, दक्षिणमा काँक्रेबिहार, पूर्वमा सुब्बाकुना र पश्चिममा बांगेसीमलभित्र निषेध गरिएको छ।

१७ फाल्गुन २०७८ मा प्रकाशित
Nabintech