फत्तेपुरबाट मान्छे खाने बाघ ‘डार्ट’ गरि नियन्त्रणमा लिइयो

पिपलबाेट संवाददाता


बाँकेको राप्तीपारी शृङ्खलाबद्ध आक्रमण गरि मान्छे खाने पाटेबाघ नियन्त्रणमा लिइएकोछ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर–६ फत्तेपुरस्थित राप्ती पीडित सामुदायिक वनमा बुधबार बिहान उक्त बाघलाई ‘डार्ट’ गरि नियन्त्रणमा लिइएको हो ।

डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलका अनुसार फत्तेपुरस्थित सिक्टाको पुर्वी नहर पारी राप्ती पीडित सामुदायिक वनभित्रबाट बुधबार विहान बाघलाई नियन्त्रणमा लिइएको हो ।

बाघलाई नियन्त्रणमा लिन उक्त स्थानमा बाघको आहाराका लागि विगत १२ दिनदेखी पाडो बाँधेर राखिएको थियो । बाघले पाडोलाई मङ्गगलबार शिकार गरेकोमा बुधबार बिहान नियन्त्रणमा लिन सफल भएको डिभिजन वन कार्यालय बाँकेले जनाएकोछ ।

पाडोलाई शिकार गरी मासु खान आएको बाघलाई राष्ट्रिय प्रकृती संरक्षण कोषका प्राविधिक, डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, स्थानीय वन उपभोक्ता लगायतको टोलीले नियन्त्रणमा लिएको हो ।

बाघले यही फागुन ७ गते प्रजातन्त्र दिवसका दिन राप्तीसोनारी गाउँपालिका वडा नम्बर–६ निवासी अन्दाजी ६० वर्षका धनबहादुर चलाउनेलाई आक्रमण गरेर मारेको थियो । त्यसपछि बाघ नियन्त्रण गर्नका लागि उक्त स्थानमा आहारा राखिएको थियो ।

उक्त घटना लगत्तै भोलीपल्ट फागुन ८ गते पनि पुनः राप्तिसोनारी गाउँपालिका वडा नम्बर– ७ फत्तेपुरस्थित झगडिया गाउँका २८ वर्षीय वकिल गद्दीलाई बाघले आक्रमण गरेर घाइते बनाएको थियो ।

बाघले यसअघि फत्तेपुर–६ निवासी ३० वर्षीया चाँदनी थारु र राप्तीसोनारी–४ पर्सोनाकी ५३ वर्षीया लिला बिष्टलाई पनि आक्रमण गरेर मारेको थियो । यस्तै यसअघि बाघ आक्रमणमा परि राप्तीसोनारी गाउँपालिका वडा नम्बर–१ गाभर र नरैनापुरमा पनि एक/एक जनाको ज्यान गइसकेकोछ ।

बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा गरी ६ महिनाभित्र बाघले पाँच जनाको ज्यान लिएपनि नियन्त्रणमा लिन सकिएको थिएन । बाघ नियन्त्रणमा नआउँदा स्थानीय बासिन्दाले आक्रोश पोख्दै आएका थिए ।

यसअघि पनि निकुञ्जले मान्छे खाने बाघलाई डार्ट गरि नियन्त्रणमा लिने प्रयास गरेको थियो । राप्तीसोनारीको गाभर क्षेत्रमा गत भदौ पहिलो साता राखिएको बाघको आहारा पाडो बाघले सुटुक्कै खाएको थियो । त्यसको केही महिनापछि राप्तीसोनारी गाउँपालिकाको फत्तेपुर क्षेत्रमा बाघ आक्रमण बढेको थियो । सोक्रममा बाघलाई नियन्त्रणमा लिन आहाराका रुपमा पाडो समेत राखिएको थियो । तर, सोक्रममा बाघले पाडो खाएको थिएन ।

१८ फाल्गुन २०७८ मा प्रकाशित
Nabintech