संस्थापनका मतदाता अन्यौलमा, हमाल र कुर्मीलाई एकै ठाउँमा ल्याउन कसरत

पिपलबाेट संवाददाता


नेपाली कांग्रेसको १४ औं अधिवेशन अन्तरगत कांग्रेस बाँकेको सभापति पदका लागि शुक्रबार (आज) दोस्रो चरणको मतदान हुदैछ ।

बिहीबार सम्पन्न भएको मतदानमा सभापति पदका लागि नारायणप्रसाद गौडेल, बादशाह कुर्मी र सुरेन्द्रबहादुर हमालबीच प्रतिस्पर्धा भएको थियो । तर, तीन जना उम्मेदवार मध्ये कसैले पनि कुल खसेको मतको ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान आज पुनः हुन लागेको हो ।

सभापति पदका लागि शुक्रबार बिहान १० बजेदेखी दिउँसो ३ बजेसम्म जिल्ला समन्वय समिति बाँकेमै मतदान हुदैछ । पहिलो चरणको मतदानमा सभापति पदका उम्मेदवार गौडेलले ५ सय ६९, अर्का उम्मेदवार कुर्मीले ५ सय ३८ र हमालले ३ सय १४ मत प्राप्त गरेका थिए ।

मतदानबाट कुल खसेको मत १ हजार ४ सय ४५ मत मध्ये २४ मत बदर भएको थियो । यि मध्ये गौडेल संस्थापन इतर(शेखर कोइराल) प्यानलका हुन् । यस्तै कुर्मी र हमाल संस्थान(शेरबहादुर देउवा) प्यानलका हुन् । पहिलो चरणको मतदानमा कुर्मी र हमालले देउवा प्यानलको आधिकारिक उम्मेदवारको रुपमा आ आफ्नै दाबी र जिकिर गर्दै आएका थिए ।

कुर्मीलाई कांग्रेस केन्द्रीय सहमहामन्त्री किशोरसिंह राठौंर र हमाललाई केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले साथ दिएका थिए । पहिलो चरणको मतदानबाट तेस्रो स्थानमा आएका हमालले संस्थापनका उम्मेदवार कुर्मी वा संस्थापन इतरका गौडेल मध्ये कस्लाई साथ दिन्छन् भन्नेमा आम मतदाताबीच कौतुहलता जागेको छ ।

हमाले प्राप्त गरेको मत नै जितका लागि निर्णायक हुने अनुमान गरिएको छ । हमालका मतदाता तान्न गौडेल प्यानल सक्रिय भएको छ, भने हमालको समर्थन जुटाउन देउवा प्यानलका नेताहरु छलफलमा ब्यस्त छन् ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस बाँकेको निर्वाचनमा संस्थापन पक्षका उम्मेदवार कुर्मी र हमाललाई एकै ठाउँमा ल्याउन जिल्लादेखी केन्द्रीय तहका नेतालाई कडा निर्देशन दिइसकेको स्रोतले जनाएको छ ।

२० फाल्गुन २०७८ मा प्रकाशित
Nabintech