दक्ष जनशक्ति उत्पादन गर्न सार्वजनिक र निजी क्षेत्रले संकल्प गरौं – शिक्षामन्त्री पौडेल

पिपलबाेट संवाददाता


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले दक्ष जनशक्ति उत्पादनमा सार्वजनिक तथा निजी शिक्षण संस्थाले संकल्प गर्नुपर्ने बताएका छन्।

निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेशनल प्याब्सन) को नेपालगञ्जमा सातौं महाधिवेशनमा बोल्दै शिक्षामन्त्री पौडेलले सार्वजनिक तथा निजी शिक्षण संस्थाले दक्ष जनशक्ति उत्पादन गर्नेमा संकल्प गर्नुपर्ने बताएका हुन्।

राज्यको ३० प्रतिशत व्यायभार बोकेको निजी शिक्षण संस्थाले विद्यार्थीलाई संस्कार र संस्कृति सिकाउनुपर्ने उनको भनाइ थियो। ‘विज्ञहरुले नैतिक शिक्षा विषयका रुपमा राख्नुपर्छ भन्नुभएको छ’, उनले भने, ‘आजभोलि समाजमा अराजकता, अश्लीलता बढेर गएको छ। जिम्मेवारीबोध कम हुने, अधिकारको खोजीमात्रै हुने, आफ्नो भूमिकालाई बिर्सने संस्कार र संस्कृति बढेर गएको छ। यसलाई नियमन गर्ने भनेको शिक्षा हो।’

शिक्षालाई व्यवस्थित गरी उत्पादित जनशक्तिलाई अनुशासित बनाउन सके बिगिँ्रदै गएको संस्कार र संस्कृृतिलाई लयमा फर्काउन सकिने मन्त्री पौडेलले बताए। मन्त्रालयले कुनै पनि शिक्षालाई विभेद नगर्ने भन्दै उनले बन्दै गरेको ऐनमा शिक्षामैत्री हुने बताए।

१० वर्षे शिक्षाका योजनाहरु सार्वजनिक गरेको जानकारी दिँदै मन्त्री पौडेलले निजी क्षेत्रको सम्पत्ति सुरक्षा गर्ने राज्यको दायित्व भएको बताए। उनले प्रदेश र स्थानीय तहलाई अधिकार दिने विषयमा कञ्जुस्याई नगर्नेसमेत सुनाए।

‘शिक्षक महासंघसँग गरिएको सहमतिले स्थानीय तहको अधिकार खोसियो भनिएको छ’, उनले भने, ‘नियमअनुसार प्रदेश र स्थानीय तहसँग समन्वय गरी अघि बढ्छौं, अधिकार खोस्दैनौं।’

मन्त्री पौडेलले ७५३ स्थानीय तहमा प्राविधिक तथा बहुप्राविधिक शिक्षा पुर्याउने लक्ष्य रहेको जानकारी दिए।

सार्वजनिक शिक्षण संस्थाहरुको भवनसँगै शैक्षिक गुणस्तरका लागि मन्त्रालयले योजना बनाएर लागेको बताउँदै उनले आगामी तीन वर्षभित्र सार्वजनिक विद्यालयका भवनसँगै आईसीटी बन्ने उद्घोष गरे।

आइतबारदेखि सुरु भएको सातौं महाधिवेशनले सोमबार नयाँ नेतृत्व छान्नेछ । २०५४ सालमा स्थापना भएको संस्थाका हाल ४७ जिल्लामा शाखा रहेको छ।

२२ फाल्गुन २०७८ मा प्रकाशित
Nabintech