नरैनापुरमा ईप्रका तत्कालन पुनःस्थापना गर्न बाँके कांग्रेसको माग

पिपलबाेट संवाददाता


नरैनापुर गाउँपालिकामा ईलाका प्रशासन कार्यालय तत्कालन पुनःस्थापना गर्न कांग्रेस बाँकेले माग गरेको छ । स्थानीय प्रशासनलाई ज्ञापन पत्र बुझाउँदै कांग्रेस बाँकेले यस्तो माग गरेको हो ।कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । सभापति गौडेलको नेतृत्वमा आइतबार कांग्रेस नेता, कार्यकर्ताहरु जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए ।सो क्रममा कांग्रेस सभापति गौडेलले नरैनापुरबासीलाई झञ्झटिलो अवस्थाबाट मुक्त गर्नका लागि नरैनापुर ५ मटेहियामा तत्काल ईप्रका पुनःस्थापना हुनुपर्ने बताए । त्यहाँका जनता सरल, सहज र छिटो छरितो सेवा पाउने अधिकारबाट बञ्चित भएकाले एक साताभित्र ईप्रका पुनःस्थापना गर्न उनले प्रशासनको ध्यानाकर्षण गराए । यस्तै नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेका सभापति पोषण केसीले नरैनापुरबासीलाई अधिकारबाट बञ्चित नगर्न स्थानीय प्रशासनसँग आग्रह गरे । क्षेत्रीय सभापति केसीले नरैनापुरमा पहिले भन्दा अहिले परिस्थिति सहज बनिसकेकाले नरैनापुर र राप्तीसोनारी ६ र ७ का स्थानीयलाई समेत पायक पर्ने हिसाबले ईप्रका अबिलम्ब पुनःस्थापना गर्नुपर्ने बताएका छन् ।ज्ञापनपत्र बुझ्दै प्रजिअ खत्रीले नरैनापुरको उपयुक्त स्थानमा इलाका प्रशासन कार्यालय छिटो भन्दा छिटो पुनःस्थापना गरिने प्रतिवद्धता जनाए । त्यस क्रममा कांग्रेसका महासमिति सदस्य एवम् नरैनापुर ५ का वडा अध्यक्ष कृष्णचन्द्र मौर्यले कार्यालयका लागि आफ्नो निजी भवन पाँच महिनासम्म निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता पनि जनाए । ज्ञापनपत्र बुझाउने क्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्यद्धय टेकनारायण भुसाल र इशाक जोलाहा, जिल्ला उपसभापति गोपालप्रसाद अधिकारी, सह–सचिव विनोदकुमार थारु, प्रदेश सभा १ (क) का सभापति लक्ष्मण थारु, क्षेत्र नम्बर १ का सचिव खुमबहादुर बस्नेत लगायत नेता कार्यकर्ता पनि जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए ।

६ चैत्र २०७८ मा प्रकाशित
Nabintech