‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ अभियान तिब्र

पिपलबाेट संवाददाता


नेपाली कांग्रेसले बाँकेमा सुरु गरेको ‘घर-घर जाऔं, काँग्रेस जिताऔं’ अभियानलाई तीब्र पारिएको छ । आसन्न बैशाख ३० गते हुने लागेको स्थानीय तहको चुनावलाई लक्षित गरेर कांग्रेसले उक्त अभियान बाँके लगायत देशभर एकैसाथ सुरु गरेको हो । उक्त अभियानलाई सफल बनाउन कांग्रेसले बाँकेको वडा तह, पालिका, प्रदेश सभा तथा क्षेत्रमा प्रतिनिधि परिचालन गरेको छ ।

अभियानकै क्रममा कोहलपुर नगरपालिका-९ मा शुक्रबार एक कार्यक्रम गरिएको छ । कोहलपुर ९ का सभापति मनबहादुर रानाका अनुसार ‘घर-घर जाऔं, काँग्रेस जिताऔं’ अभियान अन्तरगत उक्त कार्यक्रम गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य जानुका केसीले चुनावी परिणाम आफ्नो पक्षमा पार्न सबै कार्यकर्ता एक ढिक्का भएर लाग्नुपर्ने बताइन् ।

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ मा आयोजित कार्यक्रम ।

प्रतिपक्षले एमसीसीलगायतका बिषयमा भ्रम छर्ने काम गरेको भन्दै त्यसलाई चिर्न उनले सुझाव दिइन् । ‘एमसीसीको गलत प्रचार गरेर मतदातालाई प्रभावित पार्न सक्छन, एमसीसी नितान्त विकास परियोजना हो, बुझेका नेताहरुले सबैलाई बुझाउन जरुरी छ,’ केसीले भनिन् ।

यस्तै नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले कांग्रेसलाई बलियो बनाउन भातृ संघ, संगठनको भूमिका महत्वपूर्ण हुने भएकाले क्रियाशिल हुन निर्देशन दिए । निर्वाचनमा आंकाक्षा हुनु स्वभाविक भएकाले उम्मेदवार टुंगो नलाग्दै आफ्नो लागि मत माग्नु भन्दा कांग्रेसको लागि माग्न निर्देशन दिए ।  ‘केही नेताहरु म उम्मेदवार हुँ भन्दै भोट माग्दै हिडेको पाइएको छ, आकांक्षा राख्न पाइन्छ भोली टिकट जस्ले पाउँछ उसैलाई सहयोग गर्नुपर्छ, अहिले कांग्रेसलाई जिताऔं,’ उनले भने ।

बाँकेको बैजनाथ ३ मा आयोजित नेपाली कांग्रेसको कार्यक्रम । 

कांग्रेसका महासमिति सदस्य फुलाराम थारुले चुनावमा प्रतिपक्षलाई कमजोर आट्न नमिल्ने भन्दै सबै एक भए मात्रै विजय हुन सकिने बताए । ‘हामीले जितेको ठाउँ हो भनेर हाइसन्चो मानेर बस्ने अवस्था छैन, सबै घर घरमा जाऔं भोट मागौं,’ थारुले भने ।

उक्त कार्यक्रममा कांग्रेस बाँकेका सचिव सञ्जुकुमारी चौधरी, महासमिति सदस्य द्रोपती ओली, पूर्णप्रसाद आचार्य, चिन्तामणी धिताल, महाधिवेशन प्रतिनिधि भानुभक्त भट्टराई, कांग्रेस बाँकेका सदस्य बुद्धिराम थारु, कांग्रेस नेता राजेन्द्र श्रेष्ठ, कोहलपुर नगरपालिका-९ का वडाअध्यक्ष ठाकुर थारु लगायतको सहभागिता रहेको थियो । अभियान अन्तरगत बाँकेका ८१ वटै वडामा विभिन्न कार्यक्रम चलिरहेका छन् ।

कांग्रेस बाँकेले उक्त वडामा प्रतिनिधीलाई खटाइसकेको छ । प्रतिनिधीहरु वडामा खटिएर दैनिक रुपमा कार्यक्रम गरिरहेका छन् । अभियानका क्रममा विभिन्न पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गर्नेको लहर चलेको उपसभापति गोपालप्रसाद अधिकारीले जानकारी दिए ।

अभियान अन्तरगत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ मा आयोजित कार्यक्रम ।

११ चैत्र २०७८ मा प्रकाशित
Nabintech