प्रदेश पूर्वाधार विकास प्राधिकरणका सिईओले गरे राजीनामा

पिपलबाेट संवाददाता


लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले राजीनामा दिएका छन्। सोमबार उनले मुख्यमन्त्री कुलप्रसाद केसीसमक्ष राजीनामा बुझाएका हुन्।

लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन बनाउन आह्वान गरिएको ठेक्कामा विवाद बढेपछि ठेक्का क्यान्सिल गर्दै घिमिरेले प्रमुख कार्यकारी अधिकृत पदबाट समेत राजीनामा दिएका हुन्। ७ सय करोड ठेक्कामा राज्यलाई झण्डै एक सय ५० करोड क्षति हुन सक्ने अनुमान गरिएको थियो।

पत्रकार सम्मेलन गर्दै घिमिरेले भने, ‘म गम्भीर भई सोचँे सात सय करोड ठेक्कामा प्रतिस्पर्धा हँुदा र नहँुदा राज्यलाई ठेक्का रद्द गर्दा‘दलालको दलाल’ बन्नु नपर्ने निर्णयसहित सार्वजनकि खरिद ऐन २०६३ को दफा २४ बमोजिम लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का रद्द गरिएको छ।’

प्रादेशिक अस्पताल भवन निर्माण गर्न फागुन २ गते बोलपत्र आह्वान गरिएको थियो। सो बोलपत्रमा दुई वटा निर्माण व्यवसायीले मात्रै दर्ता गरेका थिए। दुई वटा निर्माण व्यवसायी एकैबाट सञ्चालन भएको आशंका गरिएपछि यसमा मिलेमतो भएको आशंका गरिएको थियो।

घिमिरेलाई वर्तमान सरकारले असोज २४ गते प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको थियो। अघिल्लो सरकारले धुब्र मजगैयाँलाई प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको थियो।

बीचमा घिमिरेलाई नियुक्त गर्दा मजगैयाँ सर्वाेच्च अदालतसम्म पुगेका थिए। पछि मजगैयाँले मुद्दा फिर्ता लिएपछि घिमिरेलाई कामकाज गर्न सहज भएको थियो। ५ महिना २१ दिनसम्म काम गरेका घिमिरे नेतृत्वको टिमले राजधानी गुरुयोजना निर्माण सकेको छ भने जग्गा एकीकरण तथा विकास कार्यविधि तयार पारेर प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको छ।

घिमिरेलाई वर्तमान सरकारबाट कामकाज गर्न असहयोग भएको उनले जारी गरेको विज्ञप्तिले संकेत गर्छ। माओवादीमा आबद्ध भएकाले उनलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो। उनले माओवादी पार्टी परित्याग गरेको समेत घोषणा गरेका छन्।

१४ चैत्र २०७८ मा प्रकाशित
Nabintech