बाँके (राप्ती सोनारी) : राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले सुत्केरी अवस्थामा आमाले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने बताएका छन् । आमासँग उपाध्यक्ष कार्यक्रम अन्तरगत पोषण सामाग्री वितरण कार्यक्रमलाई मंगलबार राप्ती सोनारी ७ स्थित स्वास्थ्य चौकी फत्तेपुर र राप्ती सोनारी अस्पताल बैजापुरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
गाउँपालिकाले वितरण गरेको पोषण सामाग्रीलाई सही तरिकाले सदुपयोग गर्न पनि उनले आग्रह गरे । ‘जो आमा हुनुहुन्छ, उहाँहरुका लागि सामाग्री दिइएको हो, यसको सही तरिकाले सदुपयोग गर्नुहोला,’ उनले भने । सुत्केरी अवस्थामा आमाको स्वास्थ्य अवस्था कमजोर हुने भएकाले राप्ती सोनारी गाउँपालिकाले पोषण सामाग्री प्रदान गरेको अध्यक्ष थारुको भनाई छ ।
यस्तै गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले सुत्केरी आमालाई लक्षित गरेर गाउँपालिकाले गतवर्षबाट यस्तो कामको सुरुवात गरेको बताईन् । ‘हामीले सिकाईको पाटो पोहोर साल गर्यौं, यो कार्यक्रम प्रभावकारी भएपछि यसवर्ष पनि गाउँपालिकाले निरन्तरता दिएको हो,’ उनले भनिन् ।
साउन महिनादेखीका सुत्केरीलाई समेट्न नसकिएकोमा उपाध्यक्ष खत्रीले दुःख ब्यक्त गरिन् । ‘हाम्रो अन्तिम कार्यकाल चल्दैछ, यदी हामी दोहोरिएर आयौं भने यो कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिन्छौं, यदी हामी आउन सकेनौं भनेपनि नयाँ आउने जनप्रतिनिधीका लागि यो पवित्र कामको सुरुवात गरिदिएका छौं,’ उनले भनिन् । सुत्केरी आमाका लागि यो कार्यक्रम निकै उपयोगी र प्रभावकारी रहेको उपाध्यक्ष खत्रीले जोड दिइन् ।