नरैनापुर जित्नैपर्छः केन्द्रीय सदस्य गिरी

पिपलबाेट संवाददाता


नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दीपक गिरीले नरैनापुरमा यसपाली कांग्रेसले जित्नैपर्ने बताएका छन् । नेपाली कांग्रेस नरैनापुर गाउँपालिकाको आयोजनामा भएको बृहत आमसभालाई सम्बोधन गर्दै गिरीले नरैनापुरमा कांग्रेसलाई जिताउन सबै नेता कार्यकर्तालाई दत्तचित्त भएर चुनावी अभियानमा खटिन निर्देशन दिए ।

“नरैनापुर कांग्रेसको उर्वरभूमी हो, तपाईंहरु एकजुट भएर लाग्नुस्, जो-जो उम्मेदवार बन्नुहुन्छ, उहाँहरुलाई जिताउन तपाईंहरु सबै मन, बचन र कर्मले प्रतिबद्ध भएर लाग्नुपर्छ, गत निर्वाचनमा ब्यहोरेको पराजयलाई अब जीतमा बदल्न लाग्नुस्,” ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानका लागि बाँकेमा खटिएका केन्द्रीय प्रतिनिधि समेत रहेका गिरीले भने । उनले स्थानीय आवश्यकता हेरेर उपयुक्त मोडालिटीमा गठबन्धन गर्न सकिने केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम नै अघि बढ्न आग्रह गरे ।

 

उनले आफू सिंचाई मन्त्री हुँदा नरैनापुरमा सिंचाई सुविधा पुर्याउनका लागि पूर्वी नहर निर्माणको काम गरेको उल्लेख गर्दै अब चाँडै नरैनापुरबासीले सिक्टाको पानी प्रयोग गर्न पाउने बताए । “म मन्त्री हुँदा पश्चिमी नहरको काम मात्रै हुँदै थियो, तर मैले विभिन्न वाधा व्यवधानका बाबजुद पूर्वी नहरको काम पनि शुरु गराएँ, वनसंग स्विकृति लिएर काम अघि बढाएँ, अब सम्भतः एक बर्षभित्र तपाईंहरु सिक्टाको पानी सिंचाईका लागि प्रयोग गर्न पाउनुहुन्छ सायद,” पूर्व मन्त्री गिरीले भने । उनले आफ्नो छोटो कार्यकालमा थोरै भएपनि राप्तीको तटबन्धको काम गरेको स्मरण गराए ।

केन्द्रीय सदस्य गिरीले नरैनापुर किसानको भूमी भएको चर्चा गर्दै यो क्षेत्रको चाँडै विकास हुुनुपर्ने भएपनि त्यसो हुन नसकेकोमा दुःख व्यक्त गर्दै कांग्रेसले नै नरैनापुरको विकासका लागि पहल गर्दै आएका बताए । उनले भने, “नरैनापुरको धेरै पहिले विकास हुनुपर्ने हो, जुनरुपले विकास हुनुपर्ने हो, त्यो भएको छैन, तपाईंहरुलाई विकासमा ठगिएको जस्तो महसुस हुनु स्वभाविक हो तर अहिले विकासको गतिविधि देखिन थालेको छ, हुलाकी सडक, विजुली लगायतको काम कांग्रेसले नै गरेको हो, तपाईंहरु नझुक्किनुहोला ।” अर्का केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले नरैनापुरमा यसपाली कांग्रेसले विजय हासिल गर्ने ठोकुवा गरे । कांग्रेसले जिते नरैनापुरको द्रुत गतिमा विकास हुने भन्दै उनले कांग्रेसलाई जिताउन नरैनापुरबासीसंग आग्रह गरे । नरैनापुर पालिका सभापति मेराज अहमद खाँको सभापतित्वमा भएको बृहत आमसभामा लुम्बनी प्रदेश सभापति अमरसिंह पुन, जिल्ला सभापति नारायणप्रसाद गौडेल, क्षेत्रीय सभापति पोषण केसी, लुम्बिनी प्रदेश सांसद मो. याकुब अन्सारी, लुम्बिनी प्रदेश कमिटी सदस्यद्वय इशाक जोलाह र अञ्जना पाण्डे, नेताहरु रामचन्द्र मौर्य, पूर्ण आचार्य, पवन कुमार यादव लगायतले बोलेका थिए । बृहत आमसभामा अन्य पार्टी परित्याग गरी करिब ३ सय जना नेपाली कांग्रेसमा प्रवेश गरेको नरैनापुरका युवा नेता गुरमुरत यादवले बताए ।

No description available.No description available.

 

 

१९ चैत्र २०७८ मा प्रकाशित
Nabintech