वडा नं.१०को आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन

पिपलबाेट संवाददाता


नागरिकहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच गराउने उद्देश्यले निर्माण  गरिएको कोहलपुर वडा नं.१०मा रहेको आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ । कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावत तथा उपप्रमुख सञ्जु कुमारी चौधरीले सो भवनको संयुक्त रुपमा उद्घाटन गरेका थिए । उद्घाटन गर्दै प्रमुख रावतले सम्पूर्ण वडाबासीलाई स्वास्थ्य सेवामा सहज पहुँच होस् भन्ने उद्देश्यले निर्माण भएको बताए ।कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले कोहलपुरका जनताले प्रत्यक्ष रुपमा देखिने गरी काम गरेको बताए । उनका अनुसार अहिले प्रत्येक वडामा एक स्वास्थ चौकीको स्थापना भएको छ । ‘सबैले आफ्नै घर छेउबाटै औषधी पाउनु निकै खुसीको कुरा हो,’ उनले भने, ‘यो भन्दा सहज र सरल सुविधा के हुन हुन्छ ? ।’यति मात्र होइन, कोहलपुरका १५ वटै वडाका स्वास्थ्य केन्द्रको भवन निर्माण भई सेवा सुरु भैसकेका छन् । सो भवन निर्माणका लागि कोहलपुर वडा नम्बर १० का थारु समूदायको समितिले निर्णय गरी मिठु थारु र मदत राम थारुले ऐलानी जग्गा आधाभुत स्वास्थ्य केन्द्र निर्माण गर्न भनी १ कठ्ठा जग्गा दान दिएका हुन् ।आधारभुत स्वास्थ्य केन्द्रको ३८ लाखमा निर्माण भएको प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले बताए ।
यस्तै उपप्रमुख सञ्जु कुमारी चौधरी, कोहलपुर वडा नम्बर १० का वडा अध्यक्ष निरज चलाउने, आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख दिल बहादुर घर्ति मगर, स्वास्थ्यकर्मी, समाजसेवी, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

२५ चैत्र २०७८ मा प्रकाशित
Nabintech