उम्मेदवार सिफारिसमा कुनै शुल्क नलिन कांग्रेसको निर्देशन

पिपलबाेट संवाददाता


नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिसका लागि कुनै पनि शुल्क नलिन निर्देशन दिएको छ । उम्मेदवार सिफारिस गर्ने सन्दर्भमा नै पार्टीका तल्ला तहले शुल्क लिइरहेको भन्ने सूचनाका आधारमा कांग्रेसको केन्द्रीय कार्यालयले आइतबार उम्मेदवार सिफारिसकै लागि कुनै पनि शुल्क नलिन निर्देशन दिएको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले ७७ वटै जिल्ला कार्यसमितिमार्फत् प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, सबै स्थानीय तह कार्यसमिति र वडा कार्यसमितिहरूलाई सर्कुलर गरेका छन् । पार्टीको विधानको व्यवस्था विपरीत हुने गरी कुनै पनि शुल्क नलिन पौडेलको निर्देशन छ ।

‘पार्टीको विधान र नियमावली २०७६ को व्यवस्था बमोजिम पार्टीको क्रियाशील सदस्य तथा लाभको पदमा रहेको पार्टी सदस्यले पार्टीलाई बुझाउनुपर्ने सदस्यता शुल्क तथा अन्य सहयोग रकम (लेबी) बाहेक अन्य कुनै पनि किसिमको रकम लिन\उठाउन नमिल्ने स्पष्ट व्यवस्था छ,’ केन्द्रीय कार्यालयले जारी गरेको सर्कुलरमा भनिएको छ, ‘कतिपय जिल्लामा उम्मेदवार सिफारिसकै लागि शुल्क लिइएको भन्ने कुरा विधान विपरीत हुन्छ, यसमा केन्द्रको गम्भीर ध्यानाकर्षण भएको छ ।’

मुख्यसचिव पौडेलले विधानले तोकेबमोजिमका शुल्कहरू भने उठाउन बाँकी भएको भए त्यसलाई उठाएर विधानको व्यवस्थाबमोजिम गर्न निर्देशन गरेका छन् ।

२७ चैत्र २०७८ मा प्रकाशित
Nabintech