२०७८ सालः कोरोना, बेमौसमी बाढी र बाघले दुःख दिएको वर्ष

पिपलबाेट संवाददाता


कात्तिकको पहिलो साता ठूलो वर्षा भयो। यो बेमौसमी वर्षाले बाँकेका ४० हजार किसानको आँखाबाट आँशु झार्‍यो। पाकेर काट्ने बेला भएको (कतै काटेर गरामा फिजाइएको) धान हेर्दाहेर्दै डुबेपछि किसानका आँखा रसाएका थिए।

केही दिन निरन्तर वर्षा भयो। बचाउन सक्ने जति प्रयास किसानले गरे। बडो मेहनतले रोपेर फलेको धान आफ्नै आँखा अगाडि बग्दा र डुब्दा किसानका सपना चकनाचुर भए। त्यसो त हरेक वर्षको असार र साउनमा बाँकेका राप्ती नदी तटीय क्षेत्रका बासिन्दा डुवानमा पर्ने गर्दछन्। यो वर्ष त्यो बर्खामा किसानले ठूलो क्षति व्यहोर्नु परेन। बेमौसमी वर्षाले उनीहरुलाई पीडा दियो।

जिल्ला विपद व्यवस्थापन समिति, बाँकेकाअनुसार जिल्लाका आठ वटा पालिकामा ३८ करोड ४१ लाख ८६ हजार एक सय ६५ रुपैयाँ बराबरको धानबालीमा क्षति पुग्यो। पालिकाअनुसार लिइएको तथ्यांकलाई आधार मानेर समितिले ३८ करोड ४१ लाख ८६ हजार एक सय ६५ रुपैयाँ राहत माग गर्‍यो। ढिलो गरी केन्द्रले बाँकेमा १० करोड रुपैयाँ मात्रै राहतका लागि पठायो।

बेमौसमी वर्षाले क्षति पुर्‍याएको धान स्याहार्दै किसान।

जिल्लामा पठाइएको १० करोडलाई पहिलो किस्ता मानेर समितिले किसानलाई क्षतिको ३६ प्रतिशत राहत वितरण गर्‍यो। बाँकेमा ३९ हजार ४ सय ८२ घरधुरी किसानको धानबालीमा क्षति पुगेको थियो। बाँकेमा ३६ हजार ५ सय हेक्टरमा धानखेती हुने गर्दछ। गौरवको आयोजना सिक्टा सिंचाईले पूर्णता नपाउँदा अहिलेसम्म यहाँका किसानले आकाशे पानीको भरमा खेती गरिरहेका छन्। २०७८ सालमा बाँकेमा बाघले आतंक मच्चायो। बाँके राष्ट्रिय निकुञ्ज र आसपासमा पर्ने राप्तीसोनारी गाउँपालिका र नरैनापुरमा बाघले ६ जनाको ज्यान लियो। राप्तीसोनारी गाउँपालिका वडा नं. १ गाभरमा होटलमा काम गर्ने एक जना भारतीयको बाघको आक्रमणबाट मृत्यु भयो। होटलमा काम गर्ने उनी साँझपख सडकतिर घुम्न निस्केको बेलामा बाघले आक्रमण गरेको थियो। पुसको २२ गते राप्तीसोनारी गाउँपालिका वडा नं. ४ की लिला विष्टलाई बाघले आक्रमण गर्‍यो। घाँस काट्न गएको बेलामा बाघले आक्रमण गर्दा विष्टको मृत्यु भयो। त्यसको दुई दिनपछि पुस २४ गते राप्तीसोनारी गाउँपालिका वडा नं. ६ की चाँदनी थारुलाई बाघले आक्रमण गर्‍यो। चाँदीलाई पनि घाँस काट्न गएको बेलामा बाघले आक्रमण गरेको थियो। बाघले धमाधम मान्छेमाथि आक्रमण गर्न थालेपछि निकुञ्ज र प्रकृति संरक्षण कोषले समस्याग्रस्त बाघलाई नियन्त्रण गर्ने प्रयास गर्‍यो।

नियन्त्रणमा लिइएको बाघ।

चाँदनीलाई आक्रमण गरेको ठाउँमा चितवन र बर्दियाबाट आएको टोलीले दुई वटा पासो राखेर एक हप्तासम्म ढुकेर बसे। बाघ नजिक नै आएन। बाघलाई नियन्त्रण गर्ने प्रयास असफल भयो। यो बीचमा नरैनापुर गाउँपालिका वडा नं. ४, पण्डितपुरुवाका लखन गडरियालाई बाघले आक्रमण गर्‍यो। गाई चराउन गएका लखनको बाघको आक्रमणबाट मृत्यु भयो। फाल्गुन ७ गते राप्तीसोनारी गाउँपालिका वडा नं. ६ का ६० वर्षीय धनबहादुर चलाउनेलाई बाघले आक्रमण गर्‍यो। राप्तीपीडित सामुदायिक वनमा घाँस दाउरा गर्न गएका चलाउनेको बाघको आक्रमणबाट मृत्यु भएपछि निकुञ्ज र वन कार्यालय फेरि बाघ समात्नतिर लाग्यो। फाल्गुन ९ गते पासो राखेर बस्यो। यो पटक भने बाघ नियन्त्रणमा आयो। उक्त बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा लगियो। बाघको संरक्षणका लागि बाँकेमा २०६७ सालमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरिएको थियो। सन् २०१८ को गणनाअनुसार बाँकेमा २१ वटा बाघ छन्। निकुञ्जभित्र भन्दा सामुदायिक वनमा आएर मान्छेमाथि आक्रमण गरिरहेकाले जिल्लामा बाघको संख्या बढेको आँकलन गरिएको छ। निकुञ्जले बाघ गणना गरिरहेको छ।

२०७८ मा कोरोना महामारीले पनि दुःख दियो। पहिलो र दोस्रो लहरमा हटस्पट बनेको बाँकेमा तेस्रो लहरको प्रभाव पनि बढी नै देखियो। पश्चिमबाट भारत जाने र फर्किनेको मुख्य नाका नेपालगञ्ज भएकाले यो नाका कोरोनाको जोखिममा परिरह्यो।

बाँकेमा २०७७ वैशाख १९ गतेदेखि कोरोना देखिन सुरु भएको थियो। यो बीचमा ३ सय ५२ जनाले ज्यान गुमाए। २१ हजार ३ सय २७ जना संक्रमित भए। एक लाख २८ हजार ४ सय ४७ जनाको परीक्षण गरियो। साभारः देशान्तर

१ बैशाख २०७९ मा प्रकाशित
Nabintech