गठबन्धनमा सकस, खजुरा माओवादीलाई छाड्न कांग्रेस तयार

पिपलबाेट संवाददाता


बाँकेमा पाँचदलीय गठबन्धनबाट एक दल अलग भइसक्दा अन्य दल अझै सम्भावनाको खोजीमा छन्। कांग्रेसको संयोजनमा भइरहेको बैठकको शुरुवाती छलफलबाटै जनता समाजवादी पार्टी (जसपा) अलग भइसकेको छ । कांग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादी एकीकृत अझै निरन्तर छलफलमा छन् । गठबन्धनमा नेपालगञ्ज उप हानगरपालिका र कोहलपुर नगरपालिका पेचिलो बनेको छ । नेपालगन्ज उपमहानगरपालिका नपाउने भएपछि जसपा गठबन्धनबाट अलग भइसकेको छ । जसपाले नेपालगन्ज, जानकी, डुडुवा र नरैनापुरमा दाबी गरेको थियो । जसपा अलग भए पनि कांग्रेस, माओवादी र समाजवादी अझै सहकार्यको मिलन विन्दुको खोजीमा छन्। माओवादीले खजुरा गाउँपालिका सँगै नेपालगन्ज, कोहलपर नगरपालिका वा राप्तीसोनारी गाउँपालिका मा दाबी गरिरहेको छ । कांग्रेस खजुरा गाउँपालिका दिन तयार जस्तै छ । कांग्रेसले नेपालगन्ज, कोहलपुर र राप्तीसोनारी दिन नसकिने जनाउ दिइसकेको छ । डुडुवा स्वतः कांग्रेसको भागमा देखिन्छ । कांग्रेसले नेपालगन्ज र कोहलपुरमा माओवादीलाई उपमेयरसम्म दिन छलफल गर्न सकिने बताइरहेको छ । माओवादी कोहलपुरमा मेयरका लागि अगाडि बढिसकेको छ । समाजवादीले बैजनाथ गाउँ पालिकामा दाबी गरेको छ ।पाँचदलीय गठबन्धनमा २०७४ सालमा जुन पार्टीले जितेको छ त्यहाँ त्यही पार्टीलाई दिने र एमाले वा अरु पार्टीले जितेको ठाउँमा निकटतम प्रतिस्पर्धी पार्टीलाई दिने मापदण्ड बनाइएको छ । यस हिसाबले हेर्दा पनि माओवादी केन्द्र खजुरा गाउँपालिकामा मात्रै निकटतम प्रतिस्पर्धा रहेकाले त्यो उसकै भागमा जाने कांग्रेस नेता बताउँछन्। बाँकेका आठ वटा पालिकामा माओवादीले एउटा पालिका पनि जितेको थिएन ।जिल्लाका अरु पालिकाको हकमा कांग्रेसले कि जितेको छ कि भने निकटतम प्रतिस्पर्धी भएको थियो। बाँकेमा चार पालिकामा एमालेले जितेको थियो । दुई वटा गाउँपालिकामा कांग्रेस, एउटामा राप्रपा र फोरम (हाल जसपा) ले जितेको थियो ।कांग्रेसले नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र डुडुवा गाउँपालिकासँगै अरु पालिकामा पनि नछाड्ने संकेत देखाइरहँदा माओवादीको आँखा कोहलपुरमा बढी छ । कोहलपुरका एक कांग्रेस नेता भन्छन्, ‘कोहलपुर नगरपालिका कांग्रेसलाई दिने हो भने त घरको ढोका बन्द गरेर चुनावभरि अन्तै लुकेर बस्नुपर्छ ।’ कोहलपुरमा कांग्रेस ८३ मतले पराजित भएको थियो। गठबन्धनमा भागबण्डा मिलाउन सकस भइरहँदा एमाले भने भित्रभित्र चुनाव प्रसारमा लागिसकेको छ । टिकट पाउने नेताहरूलाई संकेत मिलिसकेको छ । यद्यपि, आधिकारिक रूपमा कसैको नाम बाहिर आएको छैन ।कोहलपुर नगरपालिकामा माओवादीले एक मात्र वडा २०७४को स्थानिय निर्वाचनमा विजय भएको थियो । पछि भएको मध्यबती निर्वाचनमा नेकपाको गठवन्धन वाट एक सिट मा विजय हासिल गरेको
थियो ।

२ बैशाख २०७९ मा प्रकाशित
Nabintech