बाघको त्रासै-त्रासमा ‘बर्फानी बाबा’ आश्रमको यात्रा (तस्बिरहरू)

पिपलबाेट संवाददाता


बाँके पश्चिम नेपालको तराईमा पर्ने जिल्ला हो र यसको सदरमुकाम नेपालगंज पश्चिम नेपालको एउटा महत्वपूर्ण सहर, जहाँबाट लखनऊलगायत भारतका विभिन्न ठाउँ जान मिल्छ। यस्तै जहाज चढेर  नेपालको पश्चिम पहाडका धेरै ठाउँहरूमा जान यही सहरको विमानस्थल प्रयोग गर्नुपर्छ। धेरैजसो नेपालीले थाहा पाएको कुरा यही हो।

एकाध पटक नेपालगंज आएकालाई भने दाङबाट पश्चिमतिर  चारकोशे झाडी छिचोल्दै गएपछि कोहलपुर आउँछ अनि बाटोमा एकलाइन बजारमात्र  देखिने नेपालगंजको फराकिलो सडक पछ्याउँदै गएपछि जमुनाह नाका र त्यस पारि भारतको रुपडिहा बजार छ भन्ने मात्र थाहा छ।

तर योभन्दा बढी कुरा कमै नेपालीलाई थाहा छ। बाँके जिल्लामा यो भन्दा कहाँ हो कहाँ धेरै कुरा छ, थाहा हुनुपर्ने, हेर्नु र  जान्नुपर्ने अनि सुन्नु र बुझ्नु पर्ने।

अनि नेपालगंज सहर पनि हामीले मूलसडकबाट  देख्ने भन्दा विशाल छ तथा यसले गौरवशाली सामाजिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको छ। यहाँभित्र पसेर गहिरो अध्ययन नगरेसम्म यसको विशालता थाहा हुँदैन।

पहिला पनि धेरै पटक आएको र विगत डेढ वर्षदेखि नेपालगंजकै बासिन्दा भएर बसेको कारण मैले यहाँका धेरैभन्दा धेरै कुराहरूको अध्ययन गर्ने प्रयास गरेको छु र मैले देखे जानेका अनि अनुभव गरेका कुराहरू सुनाउँदै जाने मेरो चाहना छ।

यसपटक भने म तपाईंहरूलाई मेरो बर्फानी बाबा आश्रमसम्मको यात्रा सेयर गर्दैछु।

काठमाडौं वा नेपालको पूर्व वा मध्यभागबाट स्थलमार्ग  हुँदै बाँके जाँदा दाङ सकिनेबेलाबाट एउटा विशाल जंगल क्षेत्र हुँदै जानुपर्छ। दाङ जिल्ला सकिएपछिको  जंगल क्षेत्र  नेपालकै ठूला गाउँपालिकाहरूमध्ये एक (१०४१.७ वर्ग किमी)  बाँकेको रातीसोनारी गाउँपालिकामा पर्दछ। बीच बीचमा केही बस्ती र बजारहरूबाहेक यहाँबाट हिँड्ने पूर्वपश्चिम राजमार्गले करिब ६० किलोमिटर जंगलको बाटो पार गर्दछ।

यस गाउँपालिकाको प्रशासनिक  केन्द्र राजमार्गमै पर्ने अगैया बजारमा पर्दछ र नेपालको पश्चिम भागमा पर्ने राप्ती नदीले पूर्व पश्चिम राजमार्गलाई दायाँ पार्दै दाङदेखि यही अगैया बजारसम्मै पछ्याउँछ र यसै ठाउँ नजिक राप्ती नदीमा निर्मित  सिक्टा नामको आकर्षक बाँधबाट नहर निकालेर  बाँकेका विभिन्न भागमा सिंचित गर्ने योजना सम्पन्न हुँदैछ।

राप्ती सोनारी गाउँपालिका वडा-२ स्थित सिक्टा सिँचाइ आयोजनाको बाँध र अगैया बजार। तस्बिर: सागर चौधरी

जम्मा ९ वटा वडामा विभाजित यस गाउँपालिकाका ४ वटा वडा राजमार्गको छेउछाउमा पर्दछन् भने बाँकी ५ वटा वडा राप्ती नदीको दक्षिण भेगमा पर्दछन्। तिनीहरूमध्ये पनि ३ वटा वडा जंगलको भित्र पर्दछन् भने बाँकी २ वटा वडा जंगलको दक्षिणतिर पर्दछन्।

यो जंगलको दक्षिणतिर राप्ती पारि दाङदेखि पछ्याउँदै चुरे आइपुग्छ र यहाँबाट राप्ती नदी दक्षिण मोडिएपछि  चुरे पर्वत श्रृंखला टुट्न पुग्दछ। यहाँको चुरेको दक्षिणपट्टि भने बाँकेकै नरैनापुर गाउँपालिका पर्दछ। यसको पूर्वी जंगल क्षेत्रले भने दाङसँगैको भारतीय  भूभागलाई छोएको छ।

यो अगैया बजारबाट दक्षिणतिर  चुरे पहाडको चुचुरोमा बर्फानी बाबाको आश्रम छ भन्ने सुनिएको थियो, तर जाने मौका मिलेको थिएन। तर बिदाको दिन पारेर राप्ती सोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीजीले बर्फानी बाबाको आश्रम जाने योजना बनाउनुभयो र एउटा फोरह्विलर  बोलेरो गाडीमा  हाम्रो कार्यक्रमका  सहकर्मीहरू तथा स्वास्थ्य कार्यालयकी बसन्ती मल्ल पनि जाने भयौं उहाँसँगै।

अगैयाबाट राप्तीमाथि बनेको सिक्टा बाँध तरेर लागियो दक्षिणतिर। सिक्टा बाँध नेपालकै सुन्दर ठाउँहरूमध्ये एक हो र यो एउटा उत्कृष्ट  पर्यटकीय गन्तव्य हुनसक्छ जस्तो लाग्छ।

रातको समयमा अगैयाको कुनै होटलको छतमा बसेर त्यो बाँधकोमाथि लहरै बलेका बत्तीहरू  हेर्दा ‘म नेपालमा छु कि सिंगापुर या हङकङको समुन्द्री बन्दरगाहमा छु’ भनेर अन्योलमा परिन्छ एकैछिन।

राप्तीको सिमसार क्षेत्र हुँदै दक्षिणतिर जाँदा राप्तीको पानीलाई नरैनापुरतिर लैजान खनिएको नहरको डिलडिलै अघि बढ्नु पर्दो रहेछ। यहाँबाट अलि अगाडि बढेपछि जंगलले घेरिएका नारायाणपुर , बैजापुर, राजपुर, बिनौना भन्ने  ठूला गाउँहरू आउँदा रहेछन् र ती गाउँ छिचोल्दै अगाडि बढ्दा फत्तेपुर गाउँ र त्यसपछि नरैनापुरको गंगापुर, मटेहिया,  सोनबर्षा नामक गाउँ र फेरि भारतीय भू-भाग आइपुग्छ।

करिब ७० हजार जनसंख्या बसोबास गर्ने यस  राप्ती सोनारी गाउँपालिकामा अधिकांश बासिन्दा थारू समुदायका छन्।

हामी राप्ती नदी तरेर त्यहाँ बन्दै गरेको ‘बैँसा पार्क’ नामको एउटा निर्माणाधीन पार्कलाई दायाँ पारेर अघि बढेर त्यहाँ पछि आउने नारायाणपुर गाउँ पुगेपछि  बैजापुर हुँदै दक्षिण जाने बाटोलाई छोडेर पूर्वतिरको राजपुर गाउँतिर छिर्छौं।

त्यहाँ थारू संस्कृतिको जीवन्त नमूना देखिन्छ, त्यहाँका बासिन्दा र उनीहरूको घरहरूमा।

त्यहाँ बाटाको छेवैमा थारू समुदायको आराध्य देवी भूभवानीको मन्दिर रहेछ। समय कम भएकोले त्यो मन्दिर पस्न र हेर्न भ्याइएन। करिब १० किमी जति अगाडि बढेपछि हामी बस्ती सकेर मोरंगा नामको  खोलामा पस्यौं। दाङदेखि नै राप्तीलाई दायाँ पार्दै जंगलै-जंगल आएको त्यो खोलाको बगरमा बालुवै बालुवा भएकोले गाडी भासिन खोज्छ, तर फोर-ह्विलर भएकोले गाडी फस्ने नौबतबाट जोगिन्छ। त्यसैले त्यो छुचो खोलाको नाम ‘बालुवा बगरे खोला’ भनेर राख्न मन लागेको छ।

त्यो खोलामा हाम्रा सहकर्मीहरूका नानीहरूले बडा गजबले पानीमा खेले। उनीहरूले माछा मार्न खोजेजस्तो लाग्यो, तर माछा होइन, भ्यागुता र गंगटा चाहिँ प्रशस्तै भेटे होलान्।

सानो आठ/नौ महिने नानीले पानी खेलेको देख्दा प्रकृतिप्रिय नहुने कोही हुन्नजस्तो लाग्यो।

त्यो खोला तरेपछि त विशाल चौरजस्तो छिपछिपे जंगल आउँदो रहेछ। विगत केही वर्षदेखि राप्ती सोनारीको जंगलमा बाघले मान्छे खाएका घटना आइरहेका छन्। तर त्यो चौर देख्दा बित्तिकै बाघको कुनै पर्वाह नगरिकन त्यही चौरमा क्याम्पिङ गर्न मन लाग्यो। उसो त त्यहाँ केही मान्छेहरू बाघको पर्वाह नगरिकन बाख्रा चराइरहेका र दाउरा घाँस बटुलिरहेका देखिन्थे।

राप्ती उत्तरको जंगल बाँके राष्ट्रिय निकुन्जमा पर्ने भए पनि दक्षिणको भाग निकुन्ज नभै सामुदायिक वनमा पर्ने भएकोले बाख्रा भैंसी चराउन र दाउरा टिप्न पाइएको थियो शायद।

त्यहाँबाट बाटो अलिक साँघुरियो र अप्ठ्यारो भयो। त्यहाँ देखिएको गाडीको चक्कालाई पछ्याउँदै अगाडि बढ्यौं हामी।

गत वर्ष मात्रै बर्फानी बाबाको आश्रम गएर आएपछि उहाँसँग प्रभावित भएर त्यस गाउँपालिका अध्यक्षको पहलमा त्यो गाडीको ट्र्याक खोलिएको कुरा देवेन्द्रजीले बताउनुभयो।

साथीहरू गाडीको भित्र हुनुहुन्थ्यो अनि देवेन्द्रजी र म जंगल सफारी शैलीमा गाडीको पछाडि ढालामा उभिएका थियौं। मैले गाडी रोकेर गुरूजीलाई ‘बाटोमा बाघ भेटियो भने म छतमा दुईपटक ढ्याप ढ्याप हान्छु, तपाईँ गाडी रोकिदिनु होला, म त्यसको फोटो खिच्छु’ भने। भित्र बस्ने साथीहरु डराए कि भनेको, उनीहरू त झन् हाँसेको पो सुनियो।

झन्डै आधा घन्टा जंगलै जंगलको बाटो हिँडेपछि एउटा ठूलो रूखको फेदमा गएर गाडी घ्याच्च रोकियो।

अब गाडी हिँड्ने बाटो सकिएकोले हामी सबै आफूसित भएका पानीका बोतल र फलफूल बोकेर उकालो लाग्यौं। तेर्सो तेर्सो र छड्के छड्के उकालो बाटो १ घन्टा जति हिँडेपछि हामी चुरेको  टुप्पामा पुग्यौं जहाँ बाबा बर्फानीको आश्रम र शिवको मन्दिर थियो। त्यो ठाउँको धरातल एकदमै भिरालो थियो। भिरको कुनोमा अलिकति ठाउँ जुगाड गरेर बाबाको कुटी बनाइएको रहेछ।

हामी पुग्दा बाबा आश्रममै थिए। काभ्रे घर बताउने बाबाले भारतको काश्मिरदेखि भुटानसम्मका हिमालहरूको पैदल यात्रा गरेको र हिमालका बर्फिला भागहरूमा बसेर तपस्या गरेको कारण उनलाई ‘बर्फानी बाबा’ भनेको थाहा पाइयो।

बाबाको आश्रममा २/३ परिवारका ५/६ जना भक्तहरू थिए र उनीहरू बाबाको सेवा अनि आश्रमको कामकाज गर्दै थिए। उनीहरू भारतको बहराईच, श्राबस्तीतिरबाट परिवारैसहित आएर बाबाको सेवा गरेर बसेका रहेछन्।

उनीहरू बाबाको दर्शन गरेर उनले दिएको विभूति ग्रहण गरेपछि विभिन्न रोग निको भएकोले ती  बाबाप्रति अगाध श्रद्धा जागेको बताउँथे।

‘म बिए पास गरेर मुम्बईमा जागिर खाँदै थिएँ’ एक जना भारतीयले भन्दै थिए, ‘म धेरै बदमास थिएँ र बाबाको शरण परेपछि शरिफ भएको छु।’

उनले त बाबाको नाममा ‘बाबा बर्फानी चालिसा’ नै लेखेर छापेका रहेछन्।

बाबा नेपाली भए पनि भारतीयहरूले उनलाई धेरै मान्ने भएकोले उनीहरूले नै त्यहाँ आश्रमको घर बनाइदिएका र पानी तथा बत्तीको व्यवस्था गरिदिएका रहेछन्। उनीहरूले नै आश्रममा चाहिने आवश्यक बोराका बोरा खाद्यान्न, तरकारी दूध समेत ल्याइदिँदा रहेछन्।

त्यहाँको पूर्वाधार निर्माणमा राप्ती सोनारी गाउँपालिकाले पनि राम्रै सहयोग गरेको रहेछ।

बाबाकै आश्रमको मातहत पहाडको दक्षिणतिर नरैनापुर गाउँपालिकामा पर्ने गेग्ली गाउँमा ४/५ सय वटा गाई पालिएका रहेछन् र गाई फर्म बनाउन नरैनापुर गाउँपालिकाले सहयोग गरेको रहेछ।

एकछिन बाबासित  भलाकुसारी गरेपछि आश्रममै भारतीय भक्तहरू  यानिकी ‘माई’ले  पकाएको निःशुल्क खाना खाइयो। त्यहाँ आउने पाहुनाहरूलाई  खानाको साथै  त्यहीँ निःशुल्क सुत्ने व्यवस्था पनि रहेछ। सम्म जमिनको  अभावले  सुत्नको लागि भिरमा अड्काएर  काठका फलेकहरू ओछ्याइएको रहेछ र तिनै फलेकमाथि त्रिपाल टाँगेर फलेकहरूमा  सुत्ने व्यवस्था हुँदो रहेछ।

दिउँसो भने सबै जना मन्दिरकै पेटीमा सुत्ने, आराम गर्ने गर्दा रहेछन्। सम्म भनेकै त्यही मन्दिरको पेटी मात्र रहेछ। त्यही डाँडाको पर ढिकमा एउटा हेलिप्याड रहेछ।

‘कुनि को-को’ मन्त्री हेलिकप्टर चढेर बाबाको दर्शन गर्न आएका थिये रे भन्ने बुझियो।

एकपटक यतै कतैका उटपट्याँग हुल्लडबाजहरूले बाबालाई कुटपिट गरेपछि उनको सुरक्षार्थ नेपाल सरकारले दुई जना प्रहरी खटाएको रहेछ।

पानीको अभाव भएकोले शौचालयको भने त्यहाँ धेरै दु:ख रहेछ।

खाना खाइसकेपछि वरिपरिको दृश्य हेर्ने र फोटा खिच्ने काम भयो। यो ठाउँ मलाई भारतको पूर्णागिरीजस्तै लाग्यो। यहाँबाट उत्तरमा बाँके राष्ट्रिय निकुञ्जको जंगल, राप्ती नदी र उत्तरतिरका पहाडहरू देखिन्थे भने दक्षिणतिर नरैनापुर देखिन्थ्यो। सफा मौसम हुँदा पर-पर भारतीय भू-भाग पनि देखिँदो रहेछ।

तर दु:खको कुरा,  तल्लो चुरेको जंगलमा लागेको आगलागी र तुवाँलोको कारण पर-परसम्म देख्न नपाइने अवस्था हुन गयो।

केही घन्टा आराम गरेपछि विभिन्न जडीबुटी हालेर आश्रममा पकाएको मिठो चिया खाएर टोली फिर्ता भयो। फर्किंदा भने म गाडीभित्र छिरेँ, अन्य दुई जना साथीले  बाहिरबाट सफारी गर्नुभो।

गाडीभित्र गीतहरूको  अन्ताक्षरी चल्यो, दुई जना महिला साथीहरू  गीत गाउन माहिर,  म चाहिँ स्वर भासिएकै भए पनि कनिकुथिकन शब्दहरू निकालिरहेँ।

सिक्टा बाँध आइपुगेपछि बाँध माथिबाट किम्बु टिप्ने बैनीले  गजबका फोटा खिच्नु भयो। उहाँको फोटोग्राफी कलालाई त मान्नै पर्छ। उहाँ यस्ता हरेक कुरामा पनि अरू भन्दा एक कदम अगाडि हुनु हुँदो रहेछ।

राप्ती नदी तरेपछि अगैया बजारमा माछा खाएर सबै जना कोहलपुरसम्म आइयो।

मैले यो भ्रमणको बारेमा विस्तृत विवरण लेखेर त्यहाँको पर्यटनमा बढावा दिन मद्दत गर्ने वचन  मित्र देवेन्द्रजीलाई दिएँ र आफूले काम गर्ने क्षेत्र भित्रको सम्पदाको विकासमा गहिरो चासो लिएर यो  स्मरणीय भ्रमणको आयोजना गरेकोमा धन्यवाद दिँदै बिदा लिएँ।

तपाईंहरू पनि समय मिलाएर ‘बाबा बर्फानी’को आश्रम घुम्न जाने कि?

साभारः सेतोपाटी

३ बैशाख २०७९ मा प्रकाशित
Nabintech