ठूला दलले मुलुकलाई असफल राष्ट्र उन्मुख बनाएः अध्यक्ष लिङदेन

पिपलबाेट संवाददाता


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले ठूला भनिएका दलहरुले मुलुकलाई असफल राष्ट्र उन्मुख बनाएको आरोप लगाएका छन्।

राप्रपाले बिहीबार बुटवलमा गरेको आम सभालाई सम्बोधन गर्दै लिङदेनले यीनै दलले यही अवस्थामा मुलुकलाई अगाडि बढाउने हो भने देश कुनैपनि बेला श्रीलङ्का बन्न सक्ने खतरा रहेको औल्याएका हुन्। ठूला दलहरु काँग्रेस, एमाले र माओवादीका कारण देश अहिलेको अवस्थामा पुगेको आरोप उनले लगाए। ठूला दलले जबरजस्ती संघीयता लादेर मुलुकलाई असफलता तर्फ धकेलिरहेको भन्दै उनले त्यसबाट सम्पूर्ण जनतामा निरासा छाएको बताए।

‘सत्ताको तर खान पाएका केही व्यक्ति बाहेक सबै जनता निरास छन्, बेखुस छन्,’ लिङदेनले भने। ऋण लिएर भत्ता खाने परिपाटीको विकास ठूला दलले ल्याएको र त्यसकै कारण देश वैदेशिक ऋणमा डुब्दै गएको उनले बताए।  २०७४ को निर्वाचन यताका मन्त्री, जनप्रतिनिधि र तीनका आसेपासेको तलब भत्ता र गाडी खर्चकै कारण पाँच वर्षमा वैदेशिक ऋण दोब्बर भइ १७ अर्ब पुगेको उल्लेख गरे।

यसअघि सरकारलगाएका ठूला दलहरुले देशको अर्थतन्त्र सँगै सम्पूर्ण राजनीतिक प्रणाली ध्वस्त बनाएको भन्दै उनले त्यसबाट देशलाई निकास दिन जनताले आफ्नो पार्टीलाई चुन्नु पर्ने बताए। देशको मुख्य समस्या भ्रष्टाचार भएको उल्लेख गर्दै उनले आफ्नो पार्टीले नेता, मन्त्री तथा कर्मचारीको सम्पत्ती छानबिन गर्ने र स्थानीयहरुलाई भ्रष्टाचार मुक्त बनाउने दावी गरे। आफ्नो पार्टीले शिक्षालाई प्राथमिकता दिएको भन्दै उनले शिक्षा विकासको मुल जरो भएको उल्लेख गरे।

पाँच वर्षका लागि भनेर जनताबाट बहुमत पाएकाले सरकार चलाउन नसकेको र अहिले गठबन्धनका नाममा फेरि देशमा लुटतन्त्र मच्चिएको भन्दै उनले ठूला भनिएको दलको विकल्पमा आफ्नो पार्टीलाई मत दिन सुझाए। उनले अहिलेको संघीय प्रणालीलाई ठूला दलहरुले नै काम नलाग्ने प्रमाणित गरिदिएको बताए। ‘संवैधानिक अंगहरुबीच नियन्त्रण र सन्तुलन गुमेको छ। जसले मुलकलाई दुर्घटना तर्फ धकेलिरहेको छ,’ अध्यक्ष लिङदेनले भने।

सभामा पार्टीका नेताहरु पूर्वमन्त्री निरञ्जन थापा, सहमहामन्त्री ताहिर अलि, केन्द्रीय सदस्य रेखा थापा लगायतले बोलेका थिए। सभामा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य मीनप्रसाद घिमिरेसहितका केही व्यक्तिहरु राप्रपामा प्रवेश गरेका थिए।

८ बैशाख २०७९ मा प्रकाशित
Nabintech