पूर्ण आचार्यलाई सर्मथन गदै स्वतन्त्र उम्मेदवारी दिएका बलराम शर्माद्धारा उम्मेदवारी फिर्ता

पिपलबाेट संवाददाता


नेपाली कांग्रेसले कोहलपुरमा युवा नेता पूर्णप्रसाद आचार्यलाई मेयरको उम्मेदवार बनाएपछि कोहलपुर कांग्रेसकै धरोहर मानिने नेता बलराम शर्माले स्वतन्त्र उम्मेदवारका रुपमा दर्ता गरेको मनोनयन फिर्ता लिएपछि कोहलपुर कांग्रेसमा खुसीयाली छाएको छ । शर्माको मनोनयन फिर्ता भएसँगै कोहलपुर कांग्रेस थप बलियो र सशक्त बनेको छ ।

नेता शर्माले आफ्नो उमेद्वारी फिर्ता लिएर पार्टीका तर्फबाट मेयरका आधिकारिक उम्मेदवार आचार्यलाई समर्थन जनाएपछि आम नेता कार्यकर्तामा उत्साह बढेको छ । कोहलपुर नगरपालिका–२ मा तेजबहादुर अधिकारीले वडाध्यक्षमा आधिकारिक उम्मेदवार हरिसिंह कठायतलाई समर्थन जनाएर मनोनयन फिर्ता लिएका छन् ।

स्वतन्त्र रुपमा दर्ता गरेको मनोनयन फिर्ता लिँदै नेता शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कोहलपुरको नगर प्रमुखमा रहेको मेरो स्वतन्त्र उम्मेदवारी मैले फिर्ता लिएको छु । आम जनता एवं कार्यकर्ताहरूमा नेपाली काँग्रेसका उमेदवारहरूलाई जिताउनको लागि हार्दिक अपिल गर्दछु, जय नेपाल ।’

स्वतन्त्र उम्मेदवारी फिर्तासँगै २०७४ को स्थानीय निर्वाचनमा झिनो मतान्तरले कोहलपुरमा पराजय भोगेको कांग्रेसले यस पटक धेरै मतान्तरले ‘पल्लाभारी’ हुने दावी गरेको छ । किनकी, गत निर्वाचनमा पहिलो शक्ति बनेको एमाले अहिले विभाजनको पीडामा छ । एमाले विभाजनको फाइदा कोहलपुरमा कांग्रेसलाई हुने निश्चित छ ।

१६ बैशाख २०७९ मा प्रकाशित
Nabintech