शहिद परिवारका अभिभावकबाट आर्शिवाद लिँदै कोहलपुरमा काँग्रेसको घरदैलो सुरु

पिपलबाेट संवाददाता


नेपाली काँग्रेस कोहलपुरले आजदेखि चुनावी घरदैलो सुरु गरेको छ । कोहलपुर नगरपालिका—१२ चप्परगौडीस्थित शहिद परिवारको घरबाट घरदैलो अभियान सुरु गरिएको हो । शहिद परिवारका अभिभावक कुलबहादुर खत्रीले मेयर पदका उम्मेदवार पूर्णप्रसाद आचार्य, उपमेयर पदका उम्मेदवार संगीता सुवेदी, वडाअध्यक्ष पदका उम्मेदवार वीरेन्द्र बहादुर शाहलगायतलाई खादा लगाएर खत्रीले विजयीको शुभकामना दिएका थिए । सशस्त्र द्धन्द्धकालमा आफन्त गुमाएका र विस्थापित भएका परिवारका तर्फबाट खत्रीले शुभकामना दिएका थिए । खत्रीको शुभेच्छा र शुभकामनासहित घरघरमा पुगेका उम्मेदवारहरुले कोहलपुरको समग्र विकास लागि आफुहरु योजनाबद्ध तरिकाबाट अघि बढ्ने भन्दै नमुना कोहलपुर बनाउन काँग्रेसलाई एकपटक जिताउन अपिल गरेका थिए ।

स्थानीय मतदाताहरुले पनि नमुना कोहलपुर बनाउन युवाहरुको विकल्प नभएको भन्दै यसपाली व्यक्ति हेरेर मत दिने विश्वास दिलाएका थिए । उनीहरुले अघिल्लो निर्वाचनमा मत दिएर जिताएका जनप्रतिनिधिले आफ्नो बस्तीको विकासका लागि प्रभावकारी काम नगरेको भन्दै अव योजनासहित अगाडि बढ्ने र युवा पुस्तालाई मत दिने विश्वास दिलाए । घरदैलो अभियानमा जिल्ला सभापति नारायणप्रसाद गौडेल, पार्टीका पूर्व उपसभापति तथा महासमिति सदस्य फुलाराम थारु, महासमिति सदस्य द्रोपती वलीलगायत सहभागी भएका थिए । कोहलपुर नगरपालिकाका १५ वटै वडामा आजदेखि औपचारिकरुपमा घरदैलो अभियान सुरु भएको हो ।

१७ बैशाख २०७९ मा प्रकाशित
Nabintech