स्थानीय तहको निर्वाचन : साना–घरेलु हतियार सुरक्षा उच्च जोखिम

पिपलबाेट संवाददाता


बैशाख ३० गते हुने भनिएको स्थानीय तह निर्वाचनमा साना तथा लाइसेन्सधारी हातहतियारको जोखिम देखिएको छ । बाँकेमा अहिलेपनि धेरै लाइसेन्सधारी व्यक्तिले हातहतियार प्रहरी प्रशासनमा बुझाएका छैनन ।

निर्वाचन लक्षित सुरक्षा योजनाअन्तर्गत बाँके प्रशासनले यसअघि हातहतियार बुझाउन गरेको सूचना कार्यान्वयन भएको देखिदैन । उक्त सूचनामा हातहातियार राखेका नागरिकले बेवास्ता गरेका छन । अहिलेसम्म बाँके प्रशासनमा २०÷२५ वटा मात्रै हतियार नारिले बुझाएका छन ।

गए चैत १६ मा जिल्ला प्रशासनले लाइसेन्ससहितका हतियार बुझाउन सूचना जारी गरेको थियो । यसको अहिले पनि बेवास्ता भएको छ । जसका कारण निर्वाचनमा जोखिम देखिएको छ ।

बाँकेमा ५ सय ५५ जनाले हतियार राख्नका लागि अनुमति लिएको बाँके प्रशासनसँग रेकर्ड छ । तर, बाँकेमा एक हजारबढी नागरिकसँग लाइसेन्सधारी हतियार रहेको तथ्याकं सार्वजनिक भैसकेको छ ।

अहिलेसम्म प्रहरीमा बुझाइएका हतियार एकनाले बाह्रबोर मात्रै बुझाइएको छ । साना हतियार भने लाइसेन्सधारीले बुझाएको रेकर्ड देखिएको छ ।

प्रशासनले हतियार बुझाउन वैशाख १५ गतेसम्म मात्रै म्याद दिएको थियो । तर, १७ गते भैसक्दा पनि सोचे अनुसारका हतियार बुझाउन नागरिकहरू नआएको प्रशासन बताउँछ ।

यसअघि ०७४ सालको स्थानीय तह निर्वाचनमा पनि हतियार माग्दा न्यून मात्रामा हतियार प्रहरी कार्यालयमा जम्मा भएका थिए । अहिले त झन् इजाजतको तुलनामा नगन्य मात्रामा हतियार प्रहरीसम्म पुगेको छ । ०७७÷७८ मा बाँकेमा १ सय ६५ वटा हातहतियार मात्रै नवीकरण भएको जिल्ला प्रशासन कार्यालय बाँकेको तथ्यांक छ ।

खासगरी सीमावर्ती जिल्लामा इजाजतवाला भन्दा अवैध हतियार चिन्ताको विषय बन्दै आएको छ । भारतबाट भित्रिने यस्ता अवैध हतियार र नेपालमै उत्पादित साना–घरेलु हतियार सुरक्षा चुनौती बन्दै गएको छ ।

मानिसहरूलाई धम्क्याउन, चोरी सिकार गर्नका लागि अवैध हतियार जिल्लामा भित्र्याउने गरिन्छ । बाँकेमा विगत तीन वर्षको अवधिमा हातहतियार तथा खरखजाना मुद्दा बढ्दो क्रममा देखिएको छ ।  बाँकेमा अवैध हातहतियार सम्बन्धी मुद्दा ०७६÷७७ मा पाँचवटा रहेकामा ०७७÷७८ मा त्यो संख्या बढेर १४ पुगेको छ ।

१७ बैशाख २०७९ मा प्रकाशित
Nabintech