स्थानीय निर्वाचनमा भत्ता बढ्ने वृद्ध वृद्धाको आशा

पिपलबाेट संवाददाता


गाउँमा चुनावी माहोलले सबैलाई छोएको छ । उम्मेदवारहरु आएर अनेक आश्वासन बाँडिरहेका छन । तर, राप्ती सोनारी वडा नम्बर २ हरिहरपुरकी खिमी चलाउनेलाई चुनावी माहोलले खासै छोएको छैन । उनलाई एउटा मात्रै चिन्ता छ, ‘भोट दिएर जिताउने उम्मेदवारले भोलि वृद्धभत्ता बढाउँलान् ?’

अधिकांस उम्मेदवारले आफूलाई वृद्धवृद्धाका समस्या समाधान गर्ने आश्वासन दिएपनि भत्ताबारे कसैले मुख नखोलेको उनी बताउँछिन ।  ‘भेटघाट गर्न आएका सबैले हामी वृद्धवृद्धाका माग पूरा गर्छौ भनेर भन्छन, तर कसैले पनि भत्ताको बारेमा बोलेनन,’ खिमीले भनिन् ।

स्थानीय सरकार प्रमुख र उपप्रमुखमा निर्वाचित हुने उम्मेदवारले वृद्धवृद्धाका समस्यालाई बुझिदिनुपर्ने उनी बताउँछिन् । पछिल्लो समयमा उनी वृद्ध भत्ता बुझ्न अनिवार्य रुपमा बैंकमा पुग्नुपर्छ । बैंकमा पुग्दा अनेक सास्ती खेप्नु परेको बताइन । वृद्ध भत्ता घरमै भत्ता वितरण गर्ने व्यवस्था मिलाउनुपर्ने उनको माग छ ।

हरेक निर्वाचन आउँदा हरिहरपुरकी नन्दकली बिक उम्मेदवारलाई वृद्ध भत्ताका विषयमा खुलेरै कुरा राख्छिन । निर्वाचनमा उम्मेदवारले सधैं आश्वासन दिने, तर काम नगर्ने विगतको गतिविधिले आफूलाई वाक्क बनाएको उनको गुनासो छ । ‘धेरै पटक चुनावमा भोट हाल्यौं, धेरै उम्मेदवारलाई जिताएर पठायौं, तर हामी वृद्धवृद्धाको लागि खासै काम गरेनन्,’ उनले भनिन् ।

स्थानीय सरकारले वृद्धवृद्धाका लागि वृद्ध भत्ता उचित व्यवस्था गर्नुपर्ने उनको सुझाव छ । स्थानीय सरकारले पनि छुट्टै वृद्ध भत्ताको व्यवस्था गर्नुपर्ने माग गरिन । सरकारले हाल ७० वर्ष पुगेका जेष्ठ नागरिकका लागि मासिक ४ हजार वृद्ध भत्ता दिँदै आएको छ ।

यस्तै ६० वर्ष पुगेका दलित जेष्ठ नागरिकका लागि प्रति महिना २ हजार ६ सय ६६ रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको छ । निर्वाचन नजिक आउँदै गर्दा अहिले मतदाताले अनेक अपेक्षा गरेका छन । अन्य मतदाताले झै वृद्धवृद्धाले पनि आफ्ना माग राखेका हुन् ।

२३ बैशाख २०७९ मा प्रकाशित
Nabintech