कोहलपुर ६ मा कांग्रेसले फर्कायो आफ्नो विरासत

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसको प्यानलै निर्वाचित भएको छ । उक्त वडामा अध्यक्ष श्रीकृष्ण थारु २६५ मतको अन्तरले निर्वाचित भएका हुन् । श्रीकृष्णले ८२६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका परदेशी थारुले ५६१ मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)का रामशरण थारुले ४२३ मत प्राप्त गरे ।
यस्तै खुल्ला सदस्यमा कांग्रेसकी लिलादेवी रेग्मीले ८२६, सुनिता सुनारले ८५१ गोेविन्द वाग्ले ७८७, पिठु थारु ८४५ मत प्राप्त गरी निर्वाचित भएका छन् । २०७४ सालमा भएको स्थानीय निर्वाचनमा उक्त वडा कांग्रेसले जितेको थियो ।कांग्रेसका तत्कालिन वडाअध्यक्ष सोहनलाल थारुको मृत्यु भएपछि गराइएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवारले जितेका थिए । यसपटक कांग्रेसले पुरानै विराशत फर्काउन सफल भएको हो । उक्त वडा कांग्रेसको गढका रुपमा चिनिन्छ । यो वडामा थारु समुदायको उल्लेख्य बसोबास छ । वडामा आफ्नो पुरानै विरासत फर्काउन सफल भएपछि कांग्रेस नेता, कार्यकर्ता उत्साहित बनेका छन् । विजयी भएको खुसियालीमा उनीहरुले र्याली समेत निकालेका थिए । र्याली कोहलपुर नगरपालिका कार्यालयस्थित मतगणना स्थल, गोलपार्क, सुर्खेतरोड हुदै वडा नम्बर ६ मा पुगेको थियो ।

 

७ जेष्ठ २०७९ मा प्रकाशित
Nabintech