कोहलपुरमा कांग्रेसको विजयी र्याली निकालियो

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिकाको नगर प्रमुख र उपप्रमुख जितेपछि नेपाली कांग्रेसले विजयी र्याली निकालेको छ । कोहलपुरको नगर प्रमुखमा कांग्रेसका पुर्णप्रसाद आचार्य र उपप्रमुखमा संगिता सुवेदी निर्वाचित भएपछि विजयी र्याली निकालिएको हो ।

विजयी पश्चात कांग्रेस कार्यकर्ताले कोहलपुर नगरको परिक्रमा गरेका हुन् । र्याली कोहलपुर नगरपालिका अगाडीबाट सुरु भएको थियो । विजयी र्यालीमा नवनिर्वाचित नगर प्रमुख आचार्य, उपप्रमुख सुवेदी सहित कांग्रेसका नेता कार्यकर्ता लगायतको सहभागिता रहेको थियो । र्यालीमा सहभागी हुन विभिन्न वडाबाट कांग्रेस कार्यकर्ता आएका थिए ।

आचार्यले निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका खिलप्रसाद भुसाललाई १९२९ मतको अन्तरले पराजित गरेका थिए । नवनिर्वाचित नगर प्रमुख आचार्यले १४१३४ मत प्राप्त गरेका छन् ।

एमालेका भुसालले १२२०५ मत ल्याए । नगर प्रमुख पदमै गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का नरेन्द्र न्यौपानेले ९७२५ मत प्राप्त गरे । २०७४ को स्थानीय निर्वाचनमा नगर प्रमुख पदमा एमाले र उपप्रमुखमा कांग्रेसले जितेको थियो । यसपटक एमालेले दुबै पद गुमाएको छ ।

कांग्रेसले करिव ३० वर्षपछि कोहलपुरमा आफ्नो विरासत कायम गर्न सफल भएको छ । यसअघि तत्कालिन कोहलपुर गाविस हुँदा समेत कांग्रेसले हार्ने गरेको थियो । यसैगरी नगर उपप्रमुखमा निर्वाचित सुवेदीले १४०७३ मत प्राप्त गरिन् ।

नेकपा एमालेकी अस्मिता थारुलाई ५५६ मतको अन्तरले पराजित गरेकी हुन् । अस्मिताले १३५१७ मत प्राप्त गरिन् । यस्तै गठबन्धनका तर्फबाट नेकपा (एकिकृत समाजवादी) की नारायणी ओली तेस्रो भईन् । उनले ५०४२ प्राप्त गरेकी छन् । कुल १५ वटा वडा रहेको कोहलपुरमा यसपटक कांग्रेसले वडामा पनि बहुमत ल्याएको छ ।

Kohalpur Ryali1653225397.jpg

Kohalpur Ryali 21653225395.jpg

Kohalpur Nirbachit1653225393.jpg

 

८ जेष्ठ २०७९ मा प्रकाशित
Nabintech