बाँके कांग्रेस सभापति गौडेलले दिए निर्वाचित जनप्रतिनिधीलाई शुभकामना

पिपलबाेट संवाददाता


नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले नेपाली कांग्रेस र गठबन्धनका तर्फबाट नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका छन् ।

सभापति गौडेलले आज एक प्रेस विज्ञप्ती जारी गर्दै बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा बाँकेका ८ वटै पालिकामा नेपाली कांग्रेस तथा सत्तारुढ दलहरुको चुनावी गठबन्धनका तर्फबाट नवनिर्वाचित प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्षसहित वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्यहरुलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालकको शुभकामना व्यक्त गरेका हुन् ।

उनले पार्टीबाट टिकट प्राप्त गरी निर्वाचनमार्फत् जनताबाट अनुमोदन भएका जनप्रतिनिधिहरु जनआकांक्षालाई केन्द्रविन्दुमा राखेर उत्कृष्ट कार्यसम्पानदमा लाग्ने विश्वास ब्यक्त गरेका छन्। उनले भनेका छन्, “पार्टीको शिर सदैब उँचो हुने गरी काम गर्दै जनतामा आशा र भरोसा जगाउने कर्ममा लाग्न सबै नवनिर्वाचित जनप्रतिनिधिहरुलाई हार्दिक आह्वान गर्दछु ।”

सभापति गौडेलले निर्वाचन प्रक्रियामा सहभागी भई सफलता हासिल गर्न नसकी उपविजेता बनेका सबैलाई उच्च मनोबलका साथ जनतासंगको साक्षात्कारमा संगसंगै रहँदै संगठन निर्माण र जनताका पीर–मर्का र समस्याहरुमा हातेमालो गर्न आग्रह समेत गरेका छन् । “भविष्यमा सफलता हासिल गर्ने अठोट लिएर अगाडि बढ्न आह्वान समेत गर्दछु” उनले भनेका छन् । 

स्थानीय तहको निर्वाचन २०७९ लाई भब्यतापूर्वक सफल बनाउन आ–आफनो क्षेत्रबाट अमूल्य योगदान दिने सबैप्रति सभापति गौडेलले आभार प्रकट गरेका छन् । उनले विज्ञप्तीमा भनेका छन्, “आम मतदाता, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतहरु, मतदान अधिकृतहरु, सहायक मतदान अधिकृतहरु, मतदान गराउन खटिएका अन्य कर्मचारीहरु, मतगणनामा संलग्न कर्मचारी एवम् पार्टी प्रतिनिधि, सुरक्षाकर्मी, संचारकर्मी, निर्वाचन पर्यवेक्षकहरु, अधिकारकर्मीहरु, नेपाली कांग्रेसको सम्पूर्ण पार्टी पंक्ति लगायत प्रत्यक्ष/अप्रत्यक्षरुपमा निर्वाचन प्रक्रियामा सहभागी भई शान्त, मर्यादित र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न भूमिका खेल्नुहुने सबैप्रति हार्दिक धन्यवाद ब्यक्त गर्दछु।”

सभापति गौडेलले लोकतन्त्रको सौन्दर्य भनेकै आवधिक निर्वाचन भएको  भन्दै निर्वाचनमा भएका प्रतिष्पर्धालाई मित्रवत ठानेर अब उप्रान्त फरक आस्था, विचार र सिद्धान्तबाट निर्देशित भएपनि आ–आफ्नो गाउँ, ठाउँ, नगर र समाज बनाउन प्रतिबद्ध भएर लाग्न सबैमा आह्वान गरेका छन् ।

बाँकेमा कांग्रेसले यसपटक अभूतपूर्व सफलता हासिल गरेको छ । ८ स्थानीय तह मध्ये कोहलपुर, राप्तीसोनारी, डुडुवा, जानकी र बैजनाथमा प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष दुबै  जितेको छ भने नेपालगन्जमा गठबन्धन गरेर प्रमुख र खजुरामा उपाध्यक्ष जितेको छ । बाँकेका ८१ वडा मध्ये कांग्रेसले २८ वडा जितेको छ ।

१० जेष्ठ २०७९ मा प्रकाशित
Nabintech