नक्कली नेपाली नोटसहित धनगढीमा ३ महिला पक्राउ

पिपलबाेट संवाददाता


 कैलालीको धनगढी उपमहानगरपालिकामा ३८ थान नक्कली नोटसहित ३ जना पक्राउ परेका छन् । उपमहानगरपालिका–१ हाटबजारबाट ३० थान र अभियुक्तको कोठाबाट ८ थान गरी एक हजार दरका जम्मा ३८ थान नक्कली नेपाली नोट फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा उपमहानगरपालिका–७ बस्ने ३५ वर्षीया सुमित्रा राना, वडा नम्बर ८ बस्ने ३८ वर्षीया चन्द्रा बोहरा र वडा नम्बर २ सन्तोषी टोल डेरा गरी बस्ने सोही उपमहानगरपालिका–१४ की २७ वर्षीया रितु चौधरी रहेका छन् ।

शुक्रवार राति हाटबजार सुमित्रा रानाले नक्कली नोट लिई किनमेल गरिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई १ हजार दरका ३० थान नक्कली नेपाली नोट फेला पारी पक्राउ गरेको कैलाली प्रहरीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

थप सोधपुछ गर्दा उक्त कारोबारमा चन्द्रा समेत संलग्न रहेको खुल्न आएपछि उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्दा रितु चौधरीको कोठाबाट १ हजार दरका ८ थान नक्कली नोट फेला पारी तीनै जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जोशीले बताए ।

२१ जेष्ठ २०७९ मा प्रकाशित
Nabintech