बाँकेमा १२ सय मेट्रिक टन डिएपी माग, २८० मेट्रिक टन मात्र मौज्दात

पिपलबाेट संवाददाता


धान रोप्ने दिन नजिकिदै छ । किसानहरु धानको वियाड राख्ने तरखरमा छन् । कतिपय किसानले वियाड राखिसकेका छन्, तर खेतीका लागि रासायनिक मलको टुंगो नलाग्दा बाँकेका किसान चिन्तित छन् । चैते मकैको लागि मल नपाएकोले धानका लागि पनि मल नपाइने हो की भन्ने चिन्ता लागेको डुडुवा गाउँपालिका ५, हिरमिनियाका किसानलाई लागेको छ । हिरमिनिया ‘मकै जोन’ भित्र पर्दछ । धानको वियाड राख्ने तयारी गरे पनि अहिलेसम्म रासायनिक मल नपाउँदा अन्यौलमा रहेको हिरमिनियाका गुरुदिन यादवले बताए ।
उनले गाउँका कसैले पनि रासायनिक मल नपाएको बताए । ‘किसानले ६ महिनादेखि रासायनिक मल पाएका छैनौँ । मल नपाएकोले मकै खेती सप्रेन । धान खेती पनि नसप्रने हो की भन्ने चिन्ता लागेको छ,’ अगुवा किसान समेत रहेका यादवले भने ।
उनको परिवारले ७० कट्ठामा धान खेती गर्दै आएको छ । उनलाई आठ बोरा यूरिया र पाँच बोरा डिएपी मल आवश्यक पर्छ, तर अहिलेसम्म एक किलो यूरिया र डिएपी मल पाएका छैनन् । ‘अहिले नै भण्डारण गरेर राख्न पाए निर्धक्क भइन्थ्यो, तर मल पाउने–नपाउने कुनै ठेगान लागेको छैन । यसले धानको वियाड राख्ने की नराख्ने अन्यौलमा छौँ,’ उनले भने ।
धानको वियाड राख्न तयारी गरे पनि मल नपाएकै कारण राप्तीसोनारी गाउँपालिका ४, भवनियापुरका राजाराम चौधरी पनि पछि अन्यौलमा छन् । दुई विघा जमिनमा धान खेती गर्दै आएका उनले पनि रासायनिक मल पाएका छैनन् । रासायनिक मल पाउने निश्चित नभएपछि रातमा निद्रा लाग्न छाडेको उनले बताए । वियाड राखौँ भने रासायनिक मल छैन । नराखौँ भने वियाड राख्ने समय घर्किदै छ,’ उनले भने, ‘मल पाउने ग्यारेन्टी भएको भए पनि ढुक्क भइन्थ्यो । नपाएर अन्यौलमा छु ।’
सरकारले रासायनिक मल उपलब्ध गराउन नसकेपछि नेपाल–भारत सीमाका किसानहरु भारतीय मल किन्ने सोँच बनाएका छन् । तर, नेपालमा पाइने रासायनिक मलको तुलनामा भारतीय सीमा बजारमा पाइने मल गुणस्तरहिन भएकोले किसान हिच्किचाइरहेका छन् । भारतीय मलले उत्पादन नहुने भएकोले किन्न मन नलागेको नरैनापुर गाउँपालिका ५ मटेहियाका रामनिवास यादवले बताए । ‘भारतीय मल हाल्ने रत्तीभर मन छैन । नेपालको मल नपाए भारतीय मल भए पनि प्रयोग गर्नै पर्ला । ‘नहुनुभन्दा ….मामा सहि’ भनेझैँ नेपालको रासायनिक मल नपाए भारतीय मल प्रयोग गर्नै पर्ला,’ उनले भने ।
सहकारीलाई २५-३० क्विन्टल दिँदै कृषि सामग्री कम्पनी
रासायनिक मल पर्याप्त मात्रामा नहुँदा विक्रि वितरण गर्न नसकिएको नेपालगन्जस्थित कृषि सामग्री कम्पनीले जनाएको छ । धान खेतीका लागि बाँकेमा १२ सय मेट्रिक टन डिएपी, तीन हजार मेट्रिक टन यूरिया र ५० मेट्रिक टन पोटास माग भए पनि एक सय ६५ मेट्रिक टन मात्र डिएपी मौज्दात रहेको कम्पनीका नेपालगन्ज प्रमुख रमेश पौडेलले बताए ।
लुम्बिनी प्रदेशको कृषि, खाद्य प्रविधि तथा भूमि ब्यवस्था मन्त्रालयले तीन सय ३५ मेट्रिक टन डिएपी दिने कोटा निर्धारण गरे पनि अहिलेसम्म दुई सय ८० मेट्रिक टन डिएपी नेपालगन्ज आइपुगेको उनले बताए । ‘नेपालगन्जस्थित कम्पनीको कार्यालयलाई दिएको कोटाको डिएपी मल पनि अझैँ आउन बाँकी छ । थप मल आउने निश्चित छैन,’ उनले भने ।
उनले माग भन्दा चार गुणा कम भएकोले डिएपी मल सहकारीमा ढिलो गरि पठाउन लागिएको बताए । गाउँपालिकाको जनसंख्या र कृषि सहकारीको संख्या हेरेर पहिलो चरणमा ५०–६० बोरा (२५–३० क्विन्टल) का दरले पठाउन लागिएको उनको भनाई छ । ‘कनिका छरे जस्तै भए पनि गोदाममा मौज्दात रहेको डिएपी मल सहकारीलाई वितरण गर्ने निर्णयमा पुगेका छौँ । सोमवारबाट वितरण सुरु गर्ने योजना छ,’ पौडेलले भने ।
लुम्बिनी प्रदेशको कोटामा ३४ सय २८ मेट्रिक टन डिएपी
लुम्बिनी प्रदेश सरकारले जिल्लाको जनसंख्या र खेतीयोग्य जमिनको क्षेत्रफल हेरेर रासायनिक मलको कोटा निर्धारण गरेको छ । लुम्बिनी प्रदेशले बर्दियाका लागि चार सय ६२, दाङका लागि चार सय ९७, कपिलबस्तु चार सय ३५, गुल्मी एक सय ४१, अर्घाखाँची एक सय १३, प्यूठान एक सय २, रोल्पा एक सय ६, पाल्पा एक सय ३२, रुपन्देही आठ सय ५ र नवलपरासी पश्चिमका लागि तीन सय १ मेट्रिक टन डिएपी मल कोटा निर्धारण गरेको छ । ‘देशभर आउने २० हजार मेट्रिक टन डिएपी मध्ये लुम्बिनी प्रदेशको कोटामा तीन हजार चार सय २९ मेट्रिक टन परेको छ,’ पौडेलले भने ।
साल्ट ट्रेडिङमा एसएसपी जिङ्क मल पर्याप्त
साल्ट ट्रेडिङ कर्पोरेशन नेपालगन्जले पनि रासायनिक मल विक्रि गर्दै आएको छ । तर, साल्ट ट्रेडिङसँग डिएपी र यूरिया मल छैन । डिएपी मलको ठाउँमा एसएसपी जिंक र पोटास मौज्दात रहेको साल्ट ट्रेडिङ नेपालगन्जका प्रमुख मनोज चौधरीले बताए ।
उनले चार सय ३४ मेट्रिक टन एसएसपी जिंक र एक सय ६ मेट्रिक टन पोटास मौज्दात रहेको उनले जानकारी दिए । ‘एसएसपी जिंक मल डिएपी मल जस्तै हो, तर यसको बारेमा नबुझ्दा कृषकले यो मल प्रयोग गर्न त्यति रुचाउँदैनन्,’ उनले भने ।
नेपाललमा ७० प्रतिशत रासायनिक मल कृषि सामग्री कम्पनीले र ३० प्रतिशत साल्ट ट्रडिङले विक्रि गर्दै आएको छ ।

२५ जेष्ठ २०७९ मा प्रकाशित
Nabintech