दाङमा ‘प्रहरीको सई हुँ’ भन्दै पैसा असुल्ने युवक पक्राउ

पिपलबाेट संवाददाता


दाङमा ‘प्रहरीको सई हुँ’ भन्दै पसलबाट पैसा असुली गर्ने एक युवक पक्राउ गरेका छन्। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१३ का २५ वर्षीय अर्जुन थापा मगर रहेका छन्।

थापा मगरले घोराही–१४ मा विभिन्न पसलमा प्रहरीको सई हुँ भन्दै धम्काएर पैसा असुल्ने गरेको सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। बिहीबार राति पनि पैसा माग्दै गरेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो।

‘बिहीबार राति प्रहरीको सईसाप हुँ भन्दै घोराही बजारमा पैसा मागेको गुनासो आएपछि हामी पुगेर पक्राउ गरेका हौँ,’ जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख (एसपी) सुरेशप्रसाद काफ्लेले भने। उनका अनुसार पक्राउ परेका थापा मगरमाथि थप अनुसन्धान भइरहेको छ।

यस्तै दाङ प्रहरीले काठमाडौँको लैनचौरमा एक व्यापारीबाट ३५ लाख रुपैयाँ ठगी गरेको अरोपमा घोराही–१० नारायणपुरका सुदन नेपालीलाई पक्राउ गरेको छ। उनीसहित ३ जनाले जेठ ८ गते लैनचौरबाट एक व्यापारीबाट ३५ लाख रुपैयाँ लुटपाट गरेको आरोप छ।

उनीमाथि पनि थप अनुसन्धान भइरहेको एसपी काफ्लेले जानकारी दिए।

२८ जेष्ठ २०७९ मा प्रकाशित
Nabintech