चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाको पुनर्गठन, अध्यक्षमा रामचन्द्र पौडेल

पिपलबाेट संवाददाता


चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाको कार्यसमिति पुनर्गठन भएको छ। चलचित्र पत्रकार संघ नेपालका महासचिव समीर बलामीको प्रमुख आतिथ्यता एवम् चलचित्र पत्रकार रामचन्द्र पौडेलको संयोजकत्वमा बाँके शाखाको ११ सदस्यीय कार्यसमिति रहने गरि पुनर्गठन गरिएको हो।

पुनर्गठन पश्चात् चलचित्र पत्रकार नेपाल बाँकेको अध्यक्षमा रामचन्द्र पौडेल चयन भएका छन् । त्यस्तै, उपाध्यक्षमा समिरमान श्रेष्ठ, सचीवमा बिक्रम बुढाक्षेत्री, सहसचिवमा लक्ष्मी तिमिल्सिना, कोषाध्यक्षमा निशु जोशी चयन भएका छन् ।

साथै, कार्यसमिति सदस्यमा ज्ञानु संगम खड्का, मोहम्मद जावेद हलवाइ, रामप्रसाद आचार्य, रजनी योगी र सावित्री विश्वकर्मा चयन भएका छन् ।

सल्लाहकार समितिमा भने क्युएफएक्स सिनेमाज बागेश्वरी नेपालगन्जका प्रबन्धक सन्जिव शाक्य, गणेश बिक र कमल खत्री रहेका छन् ।

वि.सं. २०७५ सालमा स्थापना भएको बाँके शाखाका अध्यक्ष गणेश विकको व्यस्तता पश्चात् क्रियाशिल नभएको र उक्त संघले कुनैपनी कार्य नगरेकोले पुनर्गठन गरिएको चलचित्र पत्रकार संघ नेपालका महासचिव समीर बलामीले बताए।

पुनर्गठन कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका महासचिव बलामीले पुनर्गठित कार्यसमितिलाई बधाई दिँदै चलचित्र पत्रकार संघ नेपालको पृष्ठभूमिको बारेमा समेत जानकारी दिएका थिए।

चलचित्र पत्रकारिता भित्र कला, साहित्य, लगायतका विधा पनि पर्ने भएकोले सक्रिय भएर अगाडि बढ्न पनि पुनर्गठित कार्यसमितिलाई महासचिव बलामीले आग्रह गरेका थिए।

‘पहिलेको शाखाको कार्यसमिति एकदम निष्क्रिय भएकोले पुनर्गठन गर्न बाध्य भइयो’, महासचिव बलामीले पुनर्गठन कार्यक्रममा बोल्दै भने, ‘मोफसलमा रहेर पनि चलचित्र पत्रकारिता गर्ने पत्रकारहरुलाई संगठित पार्ने काम संघको शाखाले गर्ने भएकोले जस्तोसुकै सहयोग गर्न चलचित्र पत्रकार संघ नेपाल तयार रहेको छ। पहिलेको कार्यसमिति झैँ यो कार्यसमिति निष्क्रिय नहोस् मेरो यही अपेक्षा छ।’

त्यसो त, बाँके शाखाको नेतृत्व आफ्नो काँधमा आएकोले अबको कार्यसमितिले सक्रिय रुपमा राम्रा राम्रा कार्य गर्नेमा कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता नव चयन अध्यक्ष रामचन्द्र पौडेलले व्यक्त गरेका थिए।

शाखाको पुनर्गठन कार्यक्रममा नेपाल चलचित्र पत्रकार संघ नेपालका महासचिव बलामीका अलवा क्युएफएक्स सिनेमाज बागेश्वरी नेपालगन्जका प्रबन्धक सन्जिव शाक्य, फोनिज बाँकेका अध्यक्ष भगतराम थारु लगायत पुरानो कार्यसमितिका पदाधिकारी एवम् बाँकेका चलचित्र पत्रकारहरुको समेत उपस्थिति रहेको थियो।

२९ जेष्ठ २०७९ मा प्रकाशित
Nabintech