विदेशबाट फर्किएपछि बंगुरपालनमा रमाउँदै मानबहादुर

पिपलबाेट संवाददाता


शान्तिनगर गाउँपालिका-२ विष्णपुरका ३४ वर्षीय मानबहादुर परियारको दैनिकी हिजोआज बंगुर हेरचाहमा बित्ने गरेको छ।

 

 

दाजुभाइ कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर बंगुरपालन गर्न लागेको करिब एक वर्ष हुन लागेको छ। उनले शुरुमा २६ वटा बंगुरका पाठापाठी ल्याएर शुरु गरेका थिए।

आफ्नै जग्गामा करिब १३ लाखको लगानीमा १ सय बंगुर पाल्न मिल्ने आधुनिक खोर निर्माण गरेको उनले बताए। उनले शुरुमा साढे २ लाखको बंगुरका पाठापाठी ल्याएको पनि बताए। उनका अनुसार खोरमा अहिले २ जातका बंगुर रहेका छन्। जसमा पाख्रिबास धराने कालो बंगुर र पोखरेली हिमसायर बंगुर रहेका छन्। अन्य बंगुरभन्दा यिनीहरूको माग राम्रो हुने भएकाले आफूले यी २ किसिमका बंगुर मात्र पाल्दै आएको उनले बताए।

अहिले १५ वटा ठूला र ४० वटा साना पाठापाठी रहेको उनको भनाइ छ। उनले भने, ‘मेरो दैनिकी यिनै बंगुरलाई स्याहारसुसार गरेर बित्छ। बिहानै उठेर दानापानी दिने, खोर सफा गर्ने, दिउँसोसाँझ पनि यस्तै काम हुन्छ। अहिले साना पाठापाठी धेरै भएकाले पनि अलि विचार गर्नुपर्छ। एउटा बंगुरले ११ वटासम्म बच्चा जन्माउँछ। धेरै बच्चा हुँदा आफैँले च्यापेर मार्ला भन्ने जोखिम हुन्छ।’

त्यसैगरी उनले आफूले व्यवसाय शुरु गर्ने वेला बंगुरको उच्च माग भए पनि अहिले त्यति नभएको बताए। करिब एक वर्षको समयमा आफूले सोचे जस्तो आम्दानी भएको भन्दै उनले बजार व्यवस्थापन भए अझै सहज हुने पनि बताए।

उनले जन्मिएको ४० दिनमा बंगुरका पाठापाठी बिक्री गर्न मिल्ने पनि बताए। उनले भने, ‘कुनै पनि कृषि पेशा गर्दा बजारीकरणको समस्या हुने गर्दछ। किसानले उत्पादन गरे पनि भनेको समयमा बिक्री हुँदैन। मसँग अहिले करिब ४० वटा पाठापाठी छन्। तिनी सबै एकैपटक बिक्री हुँदैन। गाउँघरमा एक दुईवटा मात्र लिन्छन्। अझै पनि यो व्यवसायलाई जातीय रूपमा हेर्दा समस्या भएको छ।’

उनले मासुका लागि बजार व्यवस्थापन भए पनि पाठापाठीका लागि समस्या भएकाले स्थानीय सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताए।

उनले भने, ‘सरकारले किसानलाई आत्मनिर्भर बनाउने भन्दै आएको हुन्छ तर हामीले आफ्नै लगानीमा उत्पादन भएका बस्तु बेच्न सकेका हुँदैनौँ। यदि स्थानीय सरकारले हामी जस्ता किसानले उत्पादन गरेका वस्तुको बजारीकरण गरे अझै ऊर्जा मिल्ने थियो। अन्य म जस्ता युवाहरू पनि कृषितिर लाग्ने थिए। उत्पादन गरेको बस्तुले बजार नपाउँदा कृषि पेशा रोज्न सबै डराउँछन्।’

वैदेशिक रोजगारबाट व्यापार हुँदै कृषितर्फ

परियार वैदेशिक रोजगारीका सिलसिलामा करिब ४ बसे साउदी अरेबियामा बसेका थिए। त्यसपछि त्यहाँ पनि राम्रो कमाइ नभए पनि उनी नेपाल आएर तुलसीपुर ब्याग उद्योग सञ्चालन गरे। ब्याग उद्योग सञ्चालन गरेको पहिलो वर्षमै कोरोना महामारीका कारण व्यवसाय बन्द हुँदा नोक्सानी भएको उनले बताए।

त्यस्तै उनले दोस्रो वर्ष पनि विद्यालय खुल्ने वेला कोरोना महामारी हुँदा फेरि घाटा लागेपछि अब कृषि व्यवसायतिर लाग्नुपर्छ भन्ने सोच आए पनि कृषि फर्म दर्ता गरेर शुरुमा बंगुरपालन व्यवसाय शुरु गरेको उनले सुनाए। उनले कृषि पेशा आत्मनिर्भर स्वरोजगार पेशा भएकाले पनि आफूले यसैलाई अँगालेको उल्लेख गरे।

उनले करिब एक वर्षको अवधिमा बंगुर व्यवसायमा कुनै पनि समस्या नआएको भन्दै यो व्यवसायलाई आफूले निरन्तरता दिने पनि बताए। उनले अरू व्यवसाय गर्दा नोक्सानी होला भनेर डर हुने भए पनि यसमा शुरुमा लगानी लाग्ने भए पनि बिस्तारै नाफा हुँदै पनि जाने बताए।

उनले भने, ‘म वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा करिब ४ वर्ष बसे तर त्यहाँ पनि सोचे जस्तो कमाइ भएन। अब आफ्नै ठाउँमा केही गरौँ भनेर तुलसीपुरमा न्यू उपत्यका ब्याग उद्योग सञ्चालन गरेँ। पहिलो, दोस्रो लहरको कोरोना महामारीका कारण पनि व्यवसाय पूरै ठप्प भयो। अनि अब कृषि व्यवसाय गर्नुपर्छ भनेर यो शुरु गरेको हुँ।’

उनले अन्य व्यवसायभन्दा कृषि व्यवसाय परिपक्क पनि हुने र बंगुरबाट पनि राम्रो आम्दानी हुने भएकाले आफूले यो रोजेको बताए।

पोखरेलीलाई ४५ सय‚ धरानेलाई ५५ सय

उनले आफूले बाहिरबाट ल्याउँदा एउटा बंगुरको पाठालाई करिब १० हजार परेको बताए। आफूले चाहिँ पोखरेली बंगुरका पाठालाई ४५ सय र पाठीलाई ४ हजारमा दिन गरेको पनि बताए। त्यस्तै धराने बंगुरका पाठालाई ५५ सय र पाठीलाई ५ हजारमा बेच्ने गरेको उनको भनाइ थियो। उनले अहिलेसम्म करिब ४ लाख बराबरका सानाठूला बंगुर बेचेको पनि बताए।

वास्तविक किसानले अनुदान पाउँदैन

करिब साढे १५ लाखको लगानीमा कृषि फर्म सञ्चालन गरेका परियारले वास्तविक किसानले राज्यबाट अनुदान नपाएको गुनासो गरे। उनले पनि अनुदानका लागि स्थानीय सरकारसँग पटक पटक अनुरोध गरे पनि नपाएको गुनासो गरे। उनले आफू जस्ता वास्तविक किसानलाई भन्दा पनि पहुँचका आधारमा मात्रै अनुदान दिने गरेको बताए।

 

३० जेष्ठ २०७९ मा प्रकाशित
Nabintech