नापी कार्यालयमा आगलागी हुँदा २० लाख क्षति

पिपलबाेट संवाददाता


शनिबार बेलुकी साढे ७ बजेतिर नापी कार्यालय बाँकेको माथिल्लो तलामा रहेका सबै डिजिटल डाटाहरु एकत्रित हुने कम्प्युटर अपरेटर र सर्भर कक्षमा आगलागी भयो। जग्गासम्बन्धी महत्वपूर्ण कागजात र प्रमाण रहने कार्यालयको महत्वपूर्ण कक्षमा आगलागी हुनुलाई सर्वसाधारणले आशंकाको दृष्टिले हेरेका छन्। कुनै प्रमाण नष्ट गर्न आगलागी गराइएको हुनसक्ने धेरैले आशंका गरेका छन्।

आगलागीबाट सर्भर कक्षमा रहेको एउटा सर्भर र पाँचवटा कम्प्युटरसहित विभिन्न ६७ थान सामान जलेका छन्। करिब २० लाखको क्षति भएको छ। जलेका सामानमा साविक गाउँ खर्क हाल सितापुर–राधापुरको एक थान फिल्डबुकको ठेली पनि जलेको छ। यसैगरी पाँच थान सक्कल नक्सा पनि जलेका कार्यालयले संकलन गरेको विवरणमा उल्लेख छ। नापी कार्यालय प्रमुख सहदेव सुवेदी भने कसैको पनि महत्वपूर्ण प्रमाणहरु नष्ट नभएको बताउँछन्।

फिल्ड बुक प्रारम्भिक प्रमाण भएकोले आगोले छोए पनि सुरक्षित रहेको उनको दाबी छ। ‘कहिलेकाहिँ हेर्नलाई फिल्डबुक पनि उक्त कक्षमा लिइन्छ। तर फिल्डबुक पूरै जलेको होइन। एक छेउ जलेको छ। प्रमाण नष्ट हुन पाएको छैन,’ उनले भने।

तर करिब दुई महिनायताका सबै डिजिटल डाटा र कम्प्युटरहरुको नेटवर्क सर्भर जलेसँगै ध्वस्त भएका सुवेदीले बताए। ‘अहिलेको प्रक्रिया भनेको पहिला कागजमा काम हुन्छ। त्यसको आधारमा डिजिटल डाटा बनाएर केन्द्रीय सिस्टममा अपडेट गरिन्छ। त्यसरी अपडेट गर्न बाँकी करिब दुई महिनायताका डाटाहरु त्यही सर्भरमा थिए। ती सबै डाटाहरु अब फेरि तयार गरेर अपडेट गर्नुपर्ने भएको छ,’ उनले भने। सेवाग्राहीका कागजी प्रमाणहरु भने सबै सुरक्षित रहेको र कसैले पनि आफ्नो प्रमाणहरु नष्ट हुने चिन्ता गर्नु नपर्ने सुवेदीको दाबी छ।

बिदाको दिन नभएको भए क्षतिलाई थप रोक्न सकिने सुवेदी बताउँछन्। शनिबारको दिन भए पनि कार्यालय परिसरमै बसिरहेका गार्डले एक्कासी केही पड्केको सुनेपछि के भएको हो भन्ने जायजा लिन थालेको र केहीबेरपछि माथिल्लो तलाबाट धुवाँ देखिएपछि  प्रहरी र दमकललाई खबर गरेको पाइएको सुवेदीले बताए। खबर गरेको केही बेरमै दमकल र प्रहरी आएर आगलागी नियन्त्रणमा लिएको उनले बताए। ‘मेरो बस्ने ठाउँ पनि सर्भर कक्षकै छेउमा छ। त्यहीबेला म बाहिर निस्केकोले समस्यामा परिनँ। नभए धुवाँले निसास्सिने अवस्था आउँथ्यो,’ सुवेदीले भने।

अर्काेतिर समयमै दमकल र प्रहरी पुगेर आगलागी नियन्त्रणमा लिइएकोले आगो सर्भर कक्षभन्दा बाहिर जान पाएन। सुवेदीले भने, ‘एक/दुई मिनेट मात्रै ढिलो भएको भए कागजपत्रहरु राखिएको तल्लो तलामा पनि पुग्थ्यो र सबै प्रमाणहरु नष्ट हुने खतरा थियो।’ आगलागीबाट ल्यापटप, प्रिन्टर, स्क्यानर, हार्डडिस्क, टेबल, कुर्सी, सिसी क्यामेरा, सिसी टिभी मनिटरलगायतका सधानहरु जलेको विवरण कार्यालयले संकलन गरेको छ।

अहिले प्रारम्भिकरुपमा २० लाखको क्षति भएको अनुमान गरिए पनि विस्तृत क्षतिको विवरण पछि थाहा हुने सुवेदीले बताए।

३० जेष्ठ २०७९ मा प्रकाशित
Nabintech