विद्युत अनियमितताबारे बाँके प्रशासनको गराइयो ध्यानाकर्षण

पिपलबाेट संवाददाता


लामो समयदेखी देखिदै आएको बिद्युत आपुर्तिको समस्या समाधान गर्न माग गर्दै नेपाली कांग्रेसले बुधबार ज्ञापन पत्र बुझाएको छ । कांग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी र जिल्ला सभापति नारायणप्रसाद गौडेलले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

बिद्युत आपुर्तिको समस्यालाई नजरअन्दाज गर्दै नागरिक अधिकार नै कुण्ठित गर्ने गरी सरोकारवाला निकायबाट भइरहेको गैरजिम्मेवारपूर्ण ब्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको कांग्रेस बाँकेले जनाएको छ । यस्तै यथाशिघ्र नियमित बिद्युत आपुर्तिको ब्यवस्था मिलाई नागरिक अधिकारको रक्षा गर्न जोडदार माग गरिएको छ ।

 

उक्त ज्ञापन पत्रमा नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रलाई बोधार्थ दिइएको छ । ज्ञापन पत्र बुझिसकेपछि प्रजिअ खत्रीले नेपालगन्जको बिद्युत समस्याका विषयमा आफुले बिद्युत प्राधिकरणका जिम्मेवार अधिकारीसँग समन्वय गर्ने काम गरिरहेको र पुनः गर्ने प्रतिवद्धता जनाए ।

ज्ञापन पत्र बुझाउन पार्टीका केन्द्रीय सदस्य बाल्मिकी, जिल्ला सभापति गौडेल, उपसभापति गोपालप्रसाद अधिकारी, सचिव सुधान्सु कोइराला, क्षेत्रीय सभापतिद्धय पोषण केसी र रमेश गुप्ता, जिल्ला सहसचिव रेणुसिंह ठाकुर, सदस्य अमृतकुमार आचार्य, कांग्रेस नेता निजामुद्धिन अन्सारी ‘छोट्कउ’, ललितकुमार रौनियार, नेतृ रत्ना राणा, कांग्रेस बाँकेका कार्यालय प्रमुख उमेश शर्मा लगायत पुगेका थिए ।

१ असार २०७९ मा प्रकाशित
Nabintech